close

काकडभिट्टादेखि नासा पुगेका नेपाली वैज्ञानिक भन्छन्ः हाइपरसोनिकमा काम गर्ने नेपालीको सपनामा पूरा भयो*

सञ्जीवन राई सञ्जीवन राई

भदौ १०, २०८१ १७:१८

काकडभिट्टादेखि नासा पुगेका नेपाली वैज्ञानिक भन्छन्ः हाइपरसोनिकमा काम गर्ने नेपालीको सपनामा पूरा भयो*

काठमाडौं । झापाको काकडभिट्टामा जन्मे हुर्केका डाक्टर प्रकाश श्रेष्ठ बाबु अशोक श्रेष्ठ र आमा उत्तरा श्रेष्ठका कान्छो छोरा हुन् । उनले आफ्नो परिचय आफ्नै कर्मले निर्माण गरेका छन् । उनी हाइपरसोनिक जस्तो संवेदनशील क्षेत्रमा काम गर्ने नासाका नेपाली वैज्ञानिक हुन् । 

अमेरिकामा हाइपरसोनिकलाई संवेदनशील र कडा क्षेत्र मानिन्छ । अन्तर्राष्ट्रिय विद्यार्थीका लागि बिना ग्रिनकार्ड नासामा काम गर्नु सपना जस्तै हो । तर आफ्नो मेहेनेत र लगनशीलतामा अडिग रहेका डा श्रेष्ठ सन् २०१८ मा इन्टर्नको रूपमा नासा छिरेका अहिले लिड साइन्टिस्टको भूमिकामा छन् । 

क्यालिफोर्नियामा रहेको नासा एम्स रिसर्च सेन्टर उनको कार्यालय हो । त्यहाँ उनले विद्यावारिधि गरिरहेका इन्टर्न र जुनियर वैज्ञानिकहरूको नेतृत्व समेत गर्नु पर्ने हुन्छ । कडा मेहेनत र लगनले आफूलाई एउटा सफल युवा वैज्ञानिक बनाएको डा. श्रेष्ठको बुझाइ छ ।

यो यात्रा पूरा गर्न उनलाई सजिलो पक्कै थिएन । स्नातकोत्तर तहसम्म ठ्याक्कै यही क्षेत्रमा विशिष्टीकृत ज्ञान हासिल गर्छु भन्नेमा उनी अन्योलमा नै थिए । अहिले उनको दक्षता हाइपरसोनिक र एरोडाइनामिक्ससँग सम्बन्धित छ ।

हाइपरसोनिकले ध्वनिको गति भन्दा पाँच गुणा वा सोभन्दा पनि बढी गतिलाई जनाउँछ । यसमा मिसाइल, वायुमण्डलमा प्रवेश गर्दाको यान आदि पर्छन् । त्यस्तै एरोडाइनामिक्स भनेको हावाको गतिको अध्ययन हो । यसले ठोस वस्तुहरू जस्तै विमानको पखेटा, कारले हावाको गतिसँग कसरी अन्तरक्रिया गर्छन् भनेर अध्ययन गर्छ । 

पुल्चोक इन्जिनियरिङ क्याम्पसमा स्नातक तहमा मेकानिकल इन्जिनियरिङ गरेका डा. श्रेष्ठ उनको ब्याच (२०११) को गोल्ड मेडलिस्ट हुन् । बाल्यकालदेखि नै उनको रुचि रकेट, अन्तरिक्ष जस्ता क्षेत्रमा थियो । सोही सपना साकार पार्न उनले अमेरिकाको पर्ड्यु युनिभर्सिटी र मिनिसोटाका युनिभर्सिटीबाट थप शिक्षा हासिल गरेका छन् ।

अहिले नासा एम्स रिसर्च सेन्टरमा उनले पूर्णकालीन भएर काम गर्न थालेको साढे तीन वर्ष भइसकेको छ । त्यसअघि उनले नासाकै अन्य ल्याबमा ग्य्राजुएट रिसर्च फेलो र इन्टर्नका रूपमा काम गरेका थिए ।

विशेषत: उनको काम अनुसन्धानमूलक हुन्छ । अनुसन्धान बाहेक विभिन्न परियोजना हात पारेर आफ्नो समूहलाई आर्थिक पाटोमा सुधार गर्न अन्य सरोकारवाला पक्षहरूसँग पनि नियमित संवादमा रहीरहन्छन् उनी । अहिले ठ्याक्कै उनले आफ्ना अनुसन्धान परियोजनाहरू गोपनीयताका कारण खुलाउन सकेनन् । तर उनको अनुसन्धान एलन मस्कको स्वामित्वमा रहेको स्पेसएक्ससम्म तानिएको छ । 

 

काकडभिट्टाबाट काठमाडौं

श्रेष्ठले आफ्नो बाल्यकाल काकडभिट्टाको जन्मथलो मै बिताए । क्रमशः त्यहीँका दुई ओटा स्थानीय विद्यालयहरूबाट स्कुले शिक्षा पार गरे । र, सन् २००५ मा साविकको फलामे ढोका अर्थात् एसएलसी उत्तीर्ण गरे ।

त्यति बेला दश कक्षापछि धेरैको रोजाइ काठमाडौं हुन्थ्यो । उनको पनि त्यही थियो । घरतिर हुँदा नै उनले रेडिओमा ब्रिज कोर्सबारे सुनेका थिए । ११ कक्षा भर्ना हुनुअघि सम्बन्धित विषयको प्रवेश परीक्षा गराउने यो एक प्रकारको छोटो अवधिको कक्षा हो ।

काठमाडौंमा कहाँ पढ्ने, उनी अनभिज्ञ थिए । सेन्ट जेभियर्स, बुढानीलकण्ठ, एसओएस जस्ता कलेजहरू विद्यार्थीहरूका मुखाग्र थिए । अनि त्यहीबिच उनी पनि ब्रिज कोर्स पढ्न लागे । त्यहाँ उनको प्रदर्शन निकै राम्रो भयो । त्यहीँका शिक्षकहरूले उनलाई सेन्ट जेभियर्समा भर्ना लिन सुझाए । किनकि स्नातक तहको प्रवेश परीक्षामा राम्रो नतिजा ल्याउनेमा त्यहीँका विद्यार्थी हुने गर्दथे । नभन्दै उनले सोही कलेजमा प्रवेश परीक्षा दिए । अनि उत्तीर्ण भएपछि आईएससी (विज्ञान) पढ्न थाले । 

प्लस टु सकियो । उनले इन्जिनियरिङको तयारी थाले । रोबोट-प्लेन उनको रुचिमा पर्थे । तिनीहरू सुषुप्त रूपमा उनको मनमा गढिएको थिए । त्यस बेलासम्म नेपालमा एरोस्पेस इन्जिनियरिङको पढाइ सुरु भइसकेको थिएन । मुख्यतः सिभिल, इलेक्ट्रिकल, इलेक्ट्रोनिक्स, कम्प्युटर, मेकानिकल, इन्डस्ट्रियल इन्जिनियरिङ मूलधारमा थिए ।

ती मध्ये उनको रुचि मिल्ने विषय मेकानिकल बन्यो । उनलाई पनि मेकानिकल इन्जिनियरिङ ‘फादर अफ इन्जिनियरिङ’ भन्ने लाग्थ्यो । अनि पूर्ण शुल्कीयतर्फ पुल्चोक इन्जिनियरिङ क्याम्पसमा भर्ना भए । तर प्रत्येक सेमेस्टरमा टपर हुनाले उनले शुल्क तिर्नु परेन । अहिले सम्झँदा त्यस समयमा आफूले पढेको पाठ्यक्रम अझ राम्रो हुन सक्ने उनको मूल्याङ्कन छ । 

स्नातक तह सकिएपछि उनले नेपालमा नै होन्डा आर एन्ड डीमा रिसर्च इन्जिनियरको भूमिकामा करिब डेढ वर्ष काम गरे । त्यहाँ एरोडाइनामिक्सकै क्षेत्रमा काम गरे पनि वस्तु भने कार थियो । 

त्यति बेला एरोडाइनामिक्सको क्षेत्रमा नेपालमा त्यति अवसर पनि थिएन । स्नातक तहमा मात्र नभएर त्यसपछि पनि एरोस्पेस इन्जिनियरिङको पढाइ हुँदैन थ्यो, अमेरिका, अस्ट्रेलिया, बेलायत लगायत देशमा पढाइ हुन्थ्यो । तर एरोस्पेसमा राम्रो भएकाले उनले अमेरिका रोजे । 

 

काठमाडौंबाट अमेरिकाको यात्रा

यसरी श्रेष्ठ अध्ययनको सिलसिलामा अगस्ट २०१२ मा अमेरिका छिरे । त्यहाँ उनले पर्ड्यु विश्वविद्यालयबाट एरोस्पेस इन्जिनियरिङमा स्नातकोत्तर सके । त्यही विश्वविद्यालयमा उनको भविष्यले पनि मूर्त रूप लियो ।

विश्वविद्यालयमा विमानको इन्जिनमा आगो बल्ने प्रणालीदेखि त्यसबाट निस्कने प्रदूषणसम्मका विषयमा उनले अध्ययन गरे । त्यहाँ अवसरका अन्य दायरा (विकल्प) पनि थिए । त्यस मध्ये अब कता जाने भन्नेमा उनी अन्योलमा परे । त्यसै बिच उनले एउटा अडिओ क्लास लिए, प्राध्यापक स्टीवन स्नाइडरको । स्नाइडर हाइपरसोनिकका खुङ्खार प्राध्यापक हुन् । त्यसपछि उनको रुचि पूर्ण रूपमा हाइपरसोनिक तिर मोडियो । 

त्यो एउटा अडिओ कक्षा (सुनेर पढ्ने) जस्तो थियो । तर प्राध्यापक स्नाइडरले पढाएको सुनेर उनी यति मोहित र लालायित भए कि, उनलाई कस्तूरीले नाभीको सुगन्ध भेटे जस्तै लाग्यो । तर त्यो विषय अनिवार्य थिएन । अहिले त्यो विषयको भौतिक कक्षा नलिएकोमा उनी थकथकी मान्छन् । शिक्षकको पढाउने शैली, त्यसमा भएको पाठ्यक्रमले गर्दा आफू त्यतातिर गएको उनको भनाइ छ । खैर, उनले सुगन्धित अत्तर भेटिसकेका थिए ।

तर स्नाइडर एक्सपेरिमेन्टल (प्रयोगात्मक) धारका थिए भने डा. श्रेष्ठ कम्प्युटेसनलका । तर पनि हाइपरसोनिकको कम्प्युटेसनल क्षेत्रमा जाने बाटो उनले चुने । 

लगत्तै विद्यावारिधिका लागि अमेरिकामा यो विषय पढाइ हुने उत्कृष्ट विश्वविद्यालयहरूमा आवेदन दिए । उनले मिनेसोटा, यल, नर्थ वेस्टर्न, युवायुसी जस्ता विश्वविद्यालयबाट डक्टरल फेलोसिप पाएका थिए । तर ती मध्ये उनले मिनेसोटा विश्वविद्यालय चुने । किनकि त्यहाँका प्राध्यापक डा. ग्राम क्यान्डलर हाइपरसोनिकको क्षेत्रमा ग्लोबल लिडर हुन् । उनले २०१८ मा आफ्नो विद्यावारिधि सके ।

 

नासाको पाइला

विद्यावारिधि गर्दै गर्दा उनी नासामा जोडिन पुगे । यसको प्रसङ्ग पनि रोचक छ । भर्जिनियामा नासा ल्याङ्ली रिसर्च सेन्टर छ । त्यहाँका अधिकृतलाई इमेलमार्फत उनले परियोजनामा काम गर्ने प्रस्ताव पठाएका थिए । 

हाइपरसोनिक निकै संवेदनशील विषय हो । अमेरिकामा यस क्षेत्रमा काम गर्न अमेरिकी नागरिकता अथवा ग्रिन कार्ड हुनु अनिवार्य जस्तै छ । अधिकृतहरूले डा श्रेष्ठलाई यिनको अनिवार्यताबारे नभनेका होइनन् । तर ती नहुँदा पनि सीप, क्षमता र दक्षता देखेर त्यहाँ उनलाई इन्टर्नमा नियुक्त दिइयो । नासामा त्यो नै उनको पहिलो काम थियो । 

त्यहाँ उनले करिब तीन महिना जति काम गरे । उनको विद्यावारिधि पनि सकिसकेको थियो । उनलाई अमेरिकाको प्रतिष्ठित संस्था ओकरिज नेसनल ल्याब, टेनेसी, आरगोन नेसनल ल्याब, इलिनोइस, नासा भर्जिनिया, लरेन्स लिमरमोल, क्यालिफोर्निया र लस अलामोस, न्यू मेक्सिकोबाट पोस्टडक फेलोशिप अफरहरू पाएका थिए । 

अनि विद्यावारिधि सकिसकेपछि अस्थायी रूपमा काम गर्न पाइने अवसरको सदुपयोग गर्दै उनी लस अलामोस नेसनल ल्याब्रेटोरीमा पोस्टडक्टरल फेलोको रूपमा जोडिए । त्यहाँपछि २०२१ मा क्यालिफोर्नियामा अवस्थित नासा एम्स रिसर्च सेन्टरमा हाइपरसोनिक सम्बन्धी काम गर्न उनी नियुक्ति भए ।

 

वैज्ञानिक दैनिकी

अमेरिकामै भए पनि अहिले उनी रिमोट्ली काम गरिरहेका छन् । उनको बसाईं टेक्ससको डलासमा छ । कार्यालय क्यालिफोर्नियामा । 

अनुसन्धानको काम कम्प्युटरमा आधारित हुने भएकाले उनी चार/पाँच महिनाको अवधिमा केही पटक मात्र कार्यालय जान्छन् ।  त्यसमाथि उनी नेतृत्व तहमा पनि त छन् । त्यसले पनि उनको रिमोट वर्कलाई साथ दिएको छ ।

दिनमा आफ्ना सहकर्मी, जुनियर वैज्ञानिक, इन्टर्न, माथिल्लो तहका कर्मचारीसँग कुराकानी गर्ने, भावी योजना बनाउने, परियोजना ल्याउन प्रस्ताव पत्र पठाउने, परियोजनामा फलोअप गर्ने, परियोजना सफल बनाउन काम गर्ने जस्ता गतिविधि हुने भए । 

आफूले कार्यालयमा नगएर घरबाटै काम गर्दा फाइदा बेफाइदा दुवै भएको उनी बताउँछन् । यसरी काम गर्नुको मुख्य फाइदा ‘लचकता’ भएको उनको भनाइ छ । यसले घर-कार्यालय-घरको यात्राको समय बचाउने उनी सुनाउँछन् । 

तर रिमोट वर्कले समाजीकरणमा कमी ल्याउने उनको अनुभव छ । मान्छे सामाजिक प्राणी भएकाले रिमोट वर्कको यो सबैभन्दा नकारात्मक पाटो भएको उनी बताउँछन् । 

 

नासाको काम 

मुख्यत: उनीहरू दुई तरिकाले काम गर्छन् । प्रयोगात्मक - जहाँ वास्तविक ‘विन्ड टनेल’ बनाएर त्यसमा प्लेन राखिन्छ । र हावाले पार्ने प्रभावबारे अध्ययन गरिन्छ । सिमुलेसन ‍- अब सोही काम कम्प्युटरमा प्रोग्रामिङ गरेर गरिन्छ । 

यसरी फरक विधिबाट आउने डेटाहरू तालमेल भए/नभएको जाँच हुन्छ । मिले ठिक, नमिले पुन: अनुसन्धानको काम हुन्छ । 

यो एउटा उदाहरण हो । डा श्रेष्ठले गर्ने काम मूलत: यस्तै प्रकृतिका हुन्छन् । आफूले गर्ने कतिपय अनुसन्धान गोपनीयताका कारण खुलाउन नमिल्ने उनी बताउँछन् ।

आफूले गरेको एक अनुसन्धानको बारेमा उनी सुनाउँछन्, “वायुमण्डलमा प्रवेश गर्दा अन्तरिक्ष यानलाई बचाउनु अत्यन्तै महत्त्वपूर्ण कुरा हो । नासाको स्पेस शटल (पुन: प्रयोग गर्न सकिने अन्तरिक्ष यान), एलन मस्कको स्टारशिपमा यानको बाहिरी भाग प्राय: कालो हुन्छ । ती टायलहरू हुन् । जसलाई थर्मल टायर भनिन्छ । यिनको काम उच्च तापक्रमबाट यानलाई सुरक्षित गर्नु हो । अब सुरुमा नै यानलाई अन्तरिक्षमा पठाएर परीक्षण गर्न सम्भव छैन । यसो हुँदा केही मोडलको ग्राउन्ड टेस्टिङ हुन्छ भने केहीको कम्प्युटर सिमुलेसन । केही समय अघिसम्म स्पेसएक्सको रकेट पृथ्वीमा ल्यान्डिङ गर्दा पड्किरहन्थ्यो । हाम्रो समूहको अनुसन्धानले रकेटमा टायलको भाग थप्न सुझाएको थियो ।”

 

डा श्रेष्ठको परिवार 

उनको परिवारमा मातापिता, दिदी प्रीति श्रेष्ठ, र श्रीमती रेजीना महर्जन छन् । जीवनलाई सधैं वरदान सोचेर बाँच्नु पर्छ भन्ने सोच्ने उनी परिवारको निरन्तर हौसला र साथले यो सफलता पाउन सकेको बताउँछन् । 

अहिले उनी अमेरिकामा आफ्नो जीवन साथी महर्जनसँगै बस्ने गर्छन् । एउटा सफल व्यक्तित्वको जीवनमा अभिभावक र जीवनसाथीको साथले महत्वपूर्ण भूमिका खेल्छ भन्ने कुरा काल्पनिक नभइ वास्तवमा महसुस गर्न पाएकोमा आफूलाई भाग्यमानी मान्छन्  उनि । त्यस्तै एउटा मध्यम वर्गको परिवारले गुणस्तरीय शिक्षा दिनमा केही बाँकी नराखेकाले उनी आफ्नो अभिभावक प्रति पनि कृतज्ञ रहेको सुनाउँछन् ।

 

नेपालमा एरोस्पेस इन्जिनियरिङ

अहिले उनी पढेको पुल्चोक इन्जिनियरिङ क्याम्पसमा एरोस्पेस पनि पढाइ हुन थालेको छ । यस अर्थमा नेपालमा पनि यस विषयको भविष्य विस्तार भइरहेको उनी बताउँछन् । 

यो विषय अन्य इन्जिनियरिङसँग अन्तर आबद्ध हुने भएकाले अवसरको दायरा फराकिलो भएको उनी सुनाउँछन् । वायु ऊर्जा, जल विद्युत्‌को टर्बाइन डिजाइन, एयर ट्राफिक म्यानेजमेन्ट, मौसम पूर्वानुमान,  म्यापिङ, जीपीएस प्रणाली, टेलिकम्युनिकेसन जस्ता क्षेत्रमा राम्रो अवसर भएको उनी बताउँछन् । 

नेपालले तत्कालै अवसर सिर्जना गर्न नसके पनि अन्य देशका लागि नेपालबाटै काम गर्न सकिने उनको बुझाई छ । तर अहिले लगानी र जनशक्तिको अभाव चुनौतीको  विषय भएको उनको तर्क छ । यस्तोमा नेपालले परियोजनाहरू प्राथमिकीकरण गरेर काम गर्न सक्ने र जनशक्ति उत्पादनमा ध्यान दिनु पर्ने डा श्रेष्ठको सुझाव छ । 

अन्तरिक्षको क्षेत्रमा नेपाली वैज्ञानिकहरूको योगदान स्मरण गराउँदै नेपालीहरूले पनि धेरै गर्न सक्छन् । विश्वभर जहाँसुकै भएता पनि नेपाली एरोस्पेस इन्जिनियरको सङ्ख्या बढ्नु देशका लागि सकारात्मक सूचक नै हो । 

ती जनशक्तिले गरिरहेको कामको प्रत्यक्ष प्रभाव नेपालमा नपर्नु भने दु:खद भएको उनी सुनाउँछन् । यस्तोमा देशका नाममा यस क्षेत्रमा भएको कामलाई कम आँक्न नहुने उनको धारणा छ ।

उनी आफैं तत्काल देश फिर्ता हुने पक्षमा भने छैनन् । धेरै कुरा गरिसके पनि धेरै गर्न बाँकी नै छ भन्ने मनन छ । त्यसमाथि देशको राजनीतिक परिस्थिति, नीति कानून जस्ता कुराहरूले फर्किने सोच उनले बनाउन नसकेका हुन् । अहिले नासामै काम गरेर आफ्नो ज्ञान, सीप बढाउने र 'भविष्य'बारे भविष्यमा नै सोच्ने उनको भनाई  छ। 

 

नवआगन्तुकलाई सुझाव

एरोस्पेस इन्जिनियरिङ अध्ययन गरेर आफ्नो सपना साकार पारेका डा श्रेष्ठले यही विषय पढ्न खोजीरहेका नेपाली विद्यार्थीहरूलाई हौसाउने कुरै भएन । उनी नवआगन्तुक विद्यार्थीहरूलाई सपना जहिले पनि ठूलै देख्नु पर्ने र त्यही अनुसार निरन्तर मेहेनत गर्नु पर्ने बताउँछन् । त्यसरी देखिएको सपनालाई साकार पार्न कसैले रोक्न नसक्ने उनको अनुभव छ ।

स्नातक र प्लस टु पढिरहेका विद्यार्थीहरूलाई उनी व्यावहारिक तरिकाले ज्ञान लिनु पर्ने र आफ्नो वैज्ञानिक ज्ञान बढाउने तरिकाले पढ्नु पर्ने सुझाव दिन्छन् । त्यसै औपचारिक अध्ययनसँगै पाठ्यक्रम बाहिरका सम्बन्धी विषयबारे पनि अध्ययन गर्नु पर्ने उनी सल्लाह दिन्छन् । 

त्यस्तै एरोस्पेसमा आर्टिफिसियल इन्टेलिजेन्स र मसिन लर्निङ एकीकृत हुन थालेकाले यसको ज्ञान लिने, सम्बन्धित विषयको सभा गोष्ठीहरूमा सहभागी हुने, सकेसम्म इन्टर्नशिप गर्ने, लिङ्क्डइन जस्तो फ्रोफेसनल सामाजिक सञ्जालमार्फत आफ्नो नेटवर्क बढाउँदै जानु पर्ने उनको अन्य सुझावहरू हुन् ।

 

*शीर्षकसँगै समाचार सामग्री परिमार्जन गरिएको छ । -स.

 

पछिल्लो अध्यावधिक: भदौ २६, २०८१ १४:३५