काठमाडौं । नियमित शुल्कमा आवेदन दिने अन्तिम दिन सर्भर नचल्दा नेपाल राष्ट्र बैंकमा जागिर खान चाहने व्यक्तिहरू मारमा परेका छन् । बैंकले खुलाएको पदपूर्तिको विज्ञापनमा नियमित शुल्कमा आवेदन दिने अन्तिम मिति हिजो (२० भदौ) परेको थियो । तर सोही दिन बैंकको सर्भर नचल्दा इच्छुक आवेदकहरू दोब्बर दस्तुर तिर्न बाध्य भएका छन् ।
बैंकले सहायक निर्देशक, सहायक, सहायक (सूचना प्रविधि) गरी ५२ पद संख्यामा गत महिना विज्ञापन खुलाएको थियो । बैंकको सूचना अनुसार यी पदमा ३२ साउनदेखि २० भदौसम्म नियमित र २७ भदौसम्म दोब्बर दस्तुर तिरेर अनलाइन आवेदन दिन सकिने उल्लेख छ । तर इच्छुक धेरै जना नियमित शुल्कमा आवेदन दिनबाट रोकिएका छन् ।
बैंकका सहायक सूचना अधिकारी डा. भागवत आचार्यका अनुसार एक्कासि धेरै लोड आउँदा हिजो सर्भर डाउन भएको थियो । आवेदन दिने मितिका सुरुका दिनमा आवेदकहरूले केही नगर्ने तर अन्तिम दिनमा आवेदन दिने गर्नाले यस्तो समस्या भएको उनको भनाइ छ ।
"धेरैले केही दिन अघिसम्म आवेदन दिनु भएको थिएन । तर हिजो अन्तिम दिन एक्कासि धेरैले आवेदन दिन खोज्नुभयो । अनि सर्भरले थाम्न नसकेर डाउन भयो," टेकपानासँग उनले भने ।