काठमाडौं । दुई वर्षअघिसम्म भारतको एड टेक (शिक्षण प्रविधि) स्टार्टअप बाइजु लगानीकर्ताको आँखाको तारा थियो । हरेक महिना बजारबाट राम्रै रकम उठाइरहेको थियो । यता सर्वसाधारणले पनि धक नमानी विश्वास गरेर शेयर बजारबाट पैसा दिएकै थिए । यसको परिमाण स्वरूप सन् २०२२ मा बाइजुको बजार मूल्य २२ अर्ब डलर (आजको विनिमय दरको हिसाबले करिब २९ खर्ब ४८ अर्ब) कायम भयो ।
सन् २०११ मा २५ जना विद्यार्थीबाट सुरु भएको बाइजुले सन् २०२१ तिर लाखौं विद्यार्थीलाई आफ्नो प्लेटफर्मबाट पढाइरहेको थियो । यही सफलताले गर्दा विश्व चर्चित स्टार फुटबलर तथा सन् २०२२ को विश्वकप फुटबल विजेता कप्तान लिओनल मेस्सी ब्रान्ड एम्बास्डरको रूपमा जोडिए । उनलाई वार्षिक ५० देखि ७० लाख डलर रकम दिएर बाइजुले ब्रान्ड एम्बास्डरमा नियुक्त गरेको चर्चा थियो । मेस्सीले दुई हात जोडेर ‘नमस्कार’ गरेको फोटो त्यस समयमा भाइरल पनि भयो । हिन्दु संस्कारलाई विश्व मञ्चमा पुर्याउन बाइजुले काँध थापेको भन्दै राम्रो प्रसंशा समेत बटुल्यो ।
भारतीय दिग्गज कलाकार साहरुख खानदेखि नाम चलेका अघिकांश कलाकारहरू कुनै न कुनै रूपमा यसमा आबद्ध भएका थिए । भारतीय क्रिकेट टिमदेखि फिफा विश्वकपसम्म बाइजुले प्रायोजन (स्पोन्सर) गरेको थियो । खेलकुद, मनोरञ्जन र शिक्षामा रुचि राख्ने जोकोहीले बाइजुबारे थाहा पाएका थिए । यो प्लेटफर्म कस्तो हो भन्ने नबुझे पनि कुनै न कुनै समय यसको नाम नदेख्ने कमै थिए भन्दा फरक नपर्ला ।
भारतीय स्टार्टअप इकोसिस्टम र एडटेक उद्योगको सान थियो, बाइजु । यसले शिक्षामा ल्याउन खोजेको क्रान्तिलाई कतिपयले ‘व्यवसाय कम, देशको सेवा बढी’ भन्दै विश्लेषण गरेका थिए । प्रविधिको सहायताले ग्रामीण क्षेत्रका विद्यार्थीलाई गुणस्तरीय शिक्षा दिनु नै बाइजुको मुख्य उद्देश्य थियो । सन् २०२२ सम्म जोकोहीले बाइजुको भविष्य उज्ज्वल देखेका थिए । भारतमा मात्र नभइ यस प्लेटफर्मले विश्वबजारमै हलचल मच्चाउने चर्चा थियो ।
आज यही कम्पनी बन्द हुने संघारमा पुगेको छ । अहिले यस कम्पनीको चर्चा सकारात्मकभन्दा पनि नकारात्मक रूपमा बढी हुन थालेको छ । यसका संस्थापक बाइजु रवीन्द्रनले ऋण तिर्न र कर्मचारीको तलब भुक्तानी गर्न दुई ओटा घर धितोमा राखी एक करोड २० लाख डलर ऋण लिएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । फोर्ब्स बिलिनियर इन्डेक्सका अनुसार सन् २०२३ मा रवीन्द्रनको कूल सम्पत्ति १७ हजार ५४५ करोड (२.१ अर्ब डलर) रहेको थियो । अप्रिल २०२४ सम्म आइपुग्दा भने उनको सम्पत्ति शून्यमा आएको विभिन्न रिपोर्टको दाबी छ ।
दुई वर्षको अवधिमा भारतकै सान बनेको बाइजु एकाएक सडक छाप हुने अवस्था सिर्जना भएको छ । लिएको ऋण तिर्न, कर्मचारीको तलब भुक्तानी गर्न, कर्मचारीलाई दिने अतिरिक्त सेवा व्यवस्थापन गर्न कम्पनीलाई निकै सकस भइरहेको छ । यतिसम्म कि कम्पनी छोडेर जान चाहने कर्मचारीलाई कम्पनीले पहिले गरेको सम्झौता अनुसारको सेवा पनि दिन नसक्ने अवस्था छ । त्योभन्दा पनि भयावह अवस्था त के छ भने कम्पनीले अहिले कार्यालयको भाडा र अन्य खर्च पनि तिर्न सकेको छैन ।
यस कम्पनीलाई मनी लन्डरिङ गरेको आरोप पनि छ । दुई वर्षअघि २२ अर्ब डलर भ्यालुएसन भएको यस कम्पनीको पछिल्लो भ्यालुएसन ९५ प्रतिशतले घटेर २०२४ मा १ अर्ब डलरमा खुम्चिएको छ भने यो दिनानुदिन घट्दो छ । पछिल्लो समय यसको कूल भ्यालुएसन कति छ भन्ने एथेस्ट विवरण त छैन । तर केहीले विभिन्न फर्मको रिपोर्टलाई स्रोत मान्दै बाइजुको भ्यालुएस २०० मिलियन डलर हाराहारी रहेको उल्लेख गरेका छन् ।
आखिर यो सबै कसरी भयो ? विद्यार्थी दिनदिनै बढ्दै गएको अवस्थामा पनि एडटेक प्लेटफर्म बाइजु यसरी किन धराशयी बन्दै गइरहेको छ ? आज हामी यही विषयमा विस्तृतमा चर्चा गर्दैछौं ।
को हुन् बाइजुका संस्थापक ?
बाइजु रवीन्द्रन सन् १९८० मा भारतको केरलामा जन्मिएका थिए । उनका बुबा आमा एक स्थानीय सरकारी विद्यालयमा पढाउँथे । बुबा गणित शिक्षक थिए भने आमा भौतिक शास्त्रकी शिक्षिका । अभिभावक भौतिक शास्त्र र गणितकै शिक्षक भएकाले रवीन्द्रनको रुचि गणित विषयमा बढी थियो । उनी खेलकुदमा पनि उत्तिकै सक्रिय हुन्थे । मध्यम वर्गीय परिवार त्यसैमाथि दैनिक आम्दानीको स्रोत भएकाले उनलाई अभिभावकले डाक्टर वा इन्जिनियर बनाउने सपना बुनेका थिए । बुबाआमाको सपनालाई साथ दिंदै रवीन्द्रनले इन्जिनियरिङ अध्ययन गर्न थाले र, सन् २००० मा पूरा गरे ।
इन्जिनियरिङ पूरा गरिसकेपछि सन् २००१ मा उनी एक शिपिङ फर्ममा काम गर्न थाले । त्यसको दुई वर्षपछि रवीन्द्रनको जिन्दगीमा यस्तो मोड आयो, जसले उनलाई जीवनको नयाँ गन्तव्यमा डोर्यायो । उनका केही साथीहरू इन्डियन इन्स्टिच्युट अफ मेनेजमेन्ट (आईआईएम) मा अध्ययन गर्नका लागि कमन एड्मिसन टेस्ट (क्याट) पास गर्न चाहन्थे । यसका लागि साथीहरूले रवीन्द्रनको सहयोग मागे । रवीन्द्रनले आफ्ना साथीहरूलाई पढाउनु पर्ने थियो । सोही अनुरूप उनले साथीहरूलाई पढाए ।
पछि उनी स्वयंले पनि क्याट परीक्षा दिए । १२ जना साथीमध्ये चार जनाले उक्त परीक्षा पास गरे । यता रवीन्द्रनले क्याटमा शत प्रतिशत अङ्क ल्याए । अन्तर्वार्तामा उत्तीर्ण पनि भए । तर, उनी कलेज भर्ना भने भएनन् । केबल रहरका लागि मात्र उनले जाँच दिएका थिए । जाँच सकिएपछि पुनः उनी पहिलेकै कम्पनी प्यान ओसनमा सर्भिस इन्जिनियरको कामलाई निरन्तरता दिन थाले ।
सन् २००५ मा उनले पुनः क्याट परीक्षा दिए र त्यसमा पनि उनले दोस्रो पटक शत प्रतिशत अङ्क ल्याए । त्यसपछि उनी चारैतिर क्याट टपरको नामबाट चिनिन थाले । उनीसँग पढ्नका लागि विद्यार्थीको घुँइचो लाग्न थाल्यो । उनलाई त्यही बेला आफ्नो रुचि पढाउनु भएको कुरा महसुस भयो । त्यसपछि उनले जीवनभर पढाउने संकल्प लिए ।
सन् २००६ मा एउटा सानो कोठामा उनले पढाउन थालेका थिए । उनले क्लासको नाम राखेका थिए, ‘बाइजुज क्लासेस फर क्याट’ । विद्यार्थीको सङ्ख्या बढ्दै गएपछि उनले त्यसलाई ठुलो हलमा परिणत गरे । उक्त हलमा रवीन्द्रन एकै पटक १२०० विद्यार्थीलाई पढाउँथे । बाइजुको कक्षा ‘फ्रिमियम’ मोडेलमा चल्थ्यो । अर्थात् पहिलो कक्षा निःशुल्क उपलब्ध हुन्थ्यो भने बाँकी कक्षाका लागि शुल्क तिर्नुपर्थ्यो । रवीन्द्रनले पढाउने शैली परम्परागत तरिका भन्दा भिन्न थियो ।
उनी अङ्कभन्दा अवधारणालाई बढी प्राथमिकता दिन्थे । विद्यार्थीलाई कन्सेप्ट बुझाउन सकियो भने उनीहरूलाई सिक्ने रुचि जाग्छ भन्ने उनको मान्यता थियो । घोकेरै पढ्ने शिक्षा पद्धतिबाट दिक्क भएका विद्यार्थीलाई रवीन्द्रनको पढाउने शैली निकै रोचक लाग्यो । जसले गर्दा सहभागी १० विद्यार्थीमध्ये नौ विद्यार्थी शुल्क तिरेर रवीन्द्रनको कक्षा लिन्थे ।
यही सफलतालाई देखेर रवीन्द्रनले यो मोडेल देशका चार सहरमा विस्तार गरे । ब्याङ्गलोर, मुम्बई, पुने र चेन्नेईमा उनले कक्षा सञ्चालन गर्न थाले । कक्षा सञ्चालन गर्ने क्रममा उनको भेट कैयौं विद्यार्थीसँग भयो । उनले आफ्नी श्रीमती दिव्या गोकुलनाथलाई पनि पढाउने क्रममै विद्यार्थीका रूपमा भेटेका थिए । पछि दिव्यासहित उनका केही साथी रवीन्द्रनको कम्पनी थिङ्क एन्ड लर्न प्रालिमा जोडिए ।
सन् २००९ सम्म रवीन्द्रनले बाइजुको कक्षा नौ ओटा सहरमा पुर्याइसकेका थिए । उनी ती कक्षामा पढाउन बढीभन्दा बढी समय बिताउँथे । एक सहरदेखि अर्को सहरमा कक्षा लिनकै लागि उनी यात्रा गरी रहन्थे । त्यस बाहेक उनी आफूले पढाउने सामग्रीमा सबैले पहुँच पाउने र उपयोगी हुने किसिमको बनाउन काम गरिरहेका थिए । उनको कक्षामा विद्यार्थी यति धेरै हुन्थे कि विद्यार्थीलाई जिज्ञासा राख्न सम्भव नै हुँन्थेन । त्यसैले उनले पढाउने सामग्री यसरी डिजाइन गरेका थिए, जसले गर्दा पढाउँदा पढाउँदै विद्यार्थीका सम्भावित जिज्ञासा समेटिउन् ।
रवीन्द्रनकै मेहेनतले गर्दा बाइजुको कक्षाको माग अन्य सहरहरूमा पनि बढ्न थाल्यो । तर, रवीन्द्रनलाई सबै सहरमा भौतिक रूपमा उपस्थित हुन सम्भव थिएन । त्यसमा पनि दिनरात काम गर्दा उनी थाकिसकेका हुन्थे । त्यसपछि उनले बाइजुको कक्षालाई डिजिटाइज गर्ने योजना बनाए । सन् २००९ मा उनले भीएसए नामक स्याटलाइटमा आधारित प्रसारण प्रविधि प्रयोग गरे । र, आफ्नो लेक्चर ४५ सहरमा प्रसारण गर्न थाले । यहींबाट उनले सबैभन्दा ठुलो एडटेक कम्पनीको जग बसाले ।
सन् २०११ मा यसलाई थप विस्तार गर्नका लागि उनिले ‘थिङ्क एन्ड लर्न प्रालि’ नामक कम्पनी खोले । आफ्नै जस्तो शैलीले पढाउन चाहने शिक्षकको समूह तयार पारे । र, स्कुल ट्युसन शैलीमा बजार प्रवेश गरे । त्यस समयमा भारतमा विद्यालय तहमा विद्यार्थीको सङ्ख्या २५ करोड बढी थियो । यी सबै विद्यार्थी सामू पुग्नु छ भने मोबाइल एप बनाउनु पर्छ भन्ने विषय रवीन्द्रनले राम्रोसँग बुझेका थिए । त्यसैले उक्त कम्पनीले सन् २०१३ मा मनिपाल ग्रुपबाट २६ प्रतिशत इक्विटी बापत ५० करोड भारु लगानी उठायो ।
त्यही समयमा कम्पनीले मोबाइल एप विकास गर्न सुरु गर्यो । हरेक विद्यार्थीले कुनै पनि कुरा सिक्ने समय एउटै हुँदैन र सिक्ने शैली एउटै पनि फरक हुन्छ । कसैलाई भिडिओ हेर्दा बुझ्न सजिलो हुन्छ भने कसैलाई शब्द पढ्दा त कसैलाई व्यवहारिक तरिका चाहिन्छ । यही अवधारणा बुझेको बाइजुले सबै तरिकाहरू एपमा समावेश गर्यो । अर्थात् यस एपबाट विद्यार्थी जसरी सिक्न चाहन्थे, आफ्नो चाहना अनुरूपले सबै क्लास लिन सक्थे ।
बाइजुलाई के पनि थाहा थियो भने विद्यार्थी भिडिओ गेम र फिल्ममा बढी समय खर्च गर्छन् । अर्थात् विद्यार्थीको ध्यान पढाइमा त्यतिबेला आउँछ, जतिबेला उनीहरू भिडिओ गेम वा फिल्मको जस्तो क्वालिटी पढाइमा पाउँछन् । त्यसैले बाइजुले विज्ञ शिक्षकहरूको सहायताले मोसन ग्राफिक्स, मोसन आर्टिस्ट, थ्रिडी डिजाइनर र व्यवसायिक सङ्गीतकारलाई कम्पनीमा राखेर सोही अनुसारको कोर्स डिजाइन गर्न थाल्यो ।
करोडौंको लगानी र वर्षौंको मेहेनतले गर्दा सन् २०१५ मा ‘द बाइजुज लर्निङ एप’ सार्वजनिक भयो । एप बाहेक बाइजुले कोर्सको कन्टेन्ट ट्याब्लेट र एसडी कार्डमा उपलब्ध गराएर बिक्री गर्न थाल्यो । यी प्रोडक्ट प्रयोग गर्ने ग्राहकले सकारात्मक प्रतिक्रिया दिन थाले । त्यसरी माग बढ्दै गएको देखेर लगानीकर्ता कम्पनी सिक्वोयाले दुई करोड ५० लाख डलर लगानी गर्यो । सन् २०१६ मा मार्क जुकरबर्ग (मेटाका सीईओ) को संस्था जुक्स अर्गनाइजेसनले पाँच करोड डलर लगानी गर्यो ।
लगानी जुटिसकेपछि बाइजु बिक्रीमा केन्द्रित हुन थाल्यो । बाइजुले इन्जिनियरिङ पूरा गरेका विद्यार्थीलाई नियुक्त गरी सेल्स टिमको रूपमा खटाउन थाल्यो । कोर्स बिक्री गर्नका लागि उक्त टोलीले विभिन्न रणनीति बनाउनु पर्ने हुन्थ्यो । सुरुमा बाइजुले टेलिभिजन विज्ञापनबाट आफ्नो प्रचार सुरु गर्यो । टिभीमा देखिएको प्रचार देखेर अभिभावक बाइजुको एप डाउनलोड गर्थे । त्यसको केही दिनपछि बाइजुका सेल्सम्यानहरू ती अभिभावकलाई फोन गर्थे । र, काउन्सिलिङको समय लिन्थे ।
अभिभावकले बोलाए पछि उनीहरू अभिभावककै घरमा पुग्थे । काउन्सिलिङ दिंदा सेल्सम्यान विद्यार्थीलाई उनीहरूको चाहना र रुचिबारे सोध्थे । यसरी कसैले आफ्नो रुचि सोध्दा बालबालिका सेल्स म्यानतर्फ नजिकिन्थे । त्यही दौरानमा सेल्स टिमका मान्छेले बालबालिकालाई सामान्य लाग्ने तर जटिल किसिमको प्रश्न सोध्ने गर्थे ।
जवाफ फर्काउन नसके अभिभावकलाई सेल्स म्यानले रवीन्द्रनले सिकाएको कुनै कोर्स देखाउँथे । जसले गर्दा विद्यार्थीले उक्त प्रश्नको जवाफ पाउँथे । यसरी बालबालिकाले सामान्य प्रश्नको जवाफ दिन नसक्दा वर्तमान अवस्थामा जुन किसिमको प्रतिस्पर्धाको माहोल छ, त्यसमा आफूलाई कसरी सामेल गराउन सक्लान भन्दै शंका व्यक्त गर्थे ।
यसले गर्दा अभिभावकलाई त्यही कोर्समा आफ्ना सन्तानलाई आवद्ध गराउनु आवश्यक भएको महसुस हुन्थ्यो । र, कोर्स वा ट्याब्लेट खरिद गर्थे । सबैले खरिद गर्न सकुन् भन्ने उद्देश्यले सुरुवातमा कोर्समा ५० प्रतिशत छात्रवृत्ति, शत प्रतिशत रिफन्डको व्यवस्था समेत गरिएको थियो ।
यो यस्तो तरिका थियो, जो सहजै असफल हुँदैनथ्यो । यही तरिका अपनाएर बाइजुले आफूलाई तीव्र गतिमा विस्तार गर्दै लग्यो । सन् २०१८ मा बाइजु युनिकर्न बन्न अर्थात एक अर्ब डलरको भ्यालुएसन कायम गर्न सफल भयो । त्यससँगै बाइजु भारतको पहिलो एडटेक युनिकर्न पनि बन्यो । त्यति बेलादेखि नै बाइजुले भारतको राष्ट्रिय क्रिकेट टिमलाई प्रायोजन गर्न थालेको थियो ।
मार्च २०२० सम्म बाइजुले चार करोड (४० मिलियम) प्रयोगकर्ताको आँकडा पार गर्यो । त्यस बेला बाइजुको भ्यालुएसन आठ अर्ब डलर पुगेको थियो ।
बाइजुलाई सफलताको उचाईमा पुर्याउन कोभिडको भूमिका
बाइजुको सफलतामा कोभिड महामारीको पनि उत्तिकै भूमिका रह्यो । विश्वका अधिकांश देशमा लकडाउन घोषणा भएको थियो । यसबाट विश्वका एक अर्ब ८० करोडभन्दा बढी विद्यार्थी विद्यालय जानबाट वञ्चित भएको युनेस्कोको रिपोर्टले देखाइरहेको थियो ।
एक अर्ब ४० करोड हाराहारी जनसङ्ख्या रहेको भारतमा कोभिड तीब्र गतिमा फैलिहरेको थियो । यस्तो अवस्थामा त्यहाँ पनि देशभर लकडाउनको घोषणा गरियो । घरबाट कतै निस्किनै नमिल्ने भएपछि विद्यार्थीको पढाइ पनि प्रभावित भयो । अनि अनलाइन माध्यमको माग पनि बढ्न थाल्यो । यस अवसरलाई रवीन्द्रनले गुमाएनन् । आफ्नो सेवा सर्वसुलभ र धेरैको पहुँचमा पुर्याउन उनले नयाँ रणनीति अपनाए । सुरुवाति चरणमा बाइजुले आफ्ना अधिकांश कक्षाहरू निःशुल्क उपलब्ध गरायो ।
निःशुल्क उपलब्ध गराएपछि त्यसप्रति विद्यार्थीको जिज्ञासा बढ्दै गयो । कम्पनीले खासगरी निःशुल्क कोर्स उपलब्ध गराएर बढीभन्दा बढी प्रयोगकर्ता आफ्नो प्लेटफर्ममा भित्र्याउन खोजेको थियो । बाइजुको उक्त रणनीति सफल पनि भयो । त्यतिबेला यस प्लेटफर्ममा भारत, अमेरिका, मेक्सिको, अस्ट्रेलिया र ब्राजिल लगायतका देशबाट विद्यार्थीहरू जोडिएका थिए ।
कोभिड महामारीका दौरान बाइजुको एपको प्रयोग ६० प्रतिशतले बढ्यो । लकडाउन बढ्दै जाँदा बाइजुमा निर्भर विद्यार्थीको सङ्ख्या पनि बढ्दै गयो । लकडाउन, त्यसैमाथि अनलाइन लर्निङ प्लेटफर्मको खोजी भइरहेका बेला बाइजुको त्यो सफलता सबैको आँखामा पर्यो ।
त्यही सफलता देखेर बाइजुमा भेञ्चर क्यापिटल लगानीकर्ताहरू जति भन्यो त्यति रकम लगानी गर्न तम्सिन थाले । सन् २०१९ मा भारतको एडटेक क्षेत्रमा कूल ४२९ मिलियन डलरको लगानी थियो भने २०२० मा उक्त रकम बढेर २,२२० मिलियम डलर र २०२१ मा ४,१६५ मिलियन डलर भित्रियो । यसमध्ये ५० प्रतिशत लगानी केबल बाइजुले जुटाएको थियो ।
प्रतिद्वन्द्वि कम्पनीको स्वामित्व खरिद गर्ने दाउ !
राम्रो लगानी भित्रिन थालेपछि बाइजुका संस्थापक रवीन्द्रनले कम्पनीको भ्यालुएसन १०० अर्ब डलर पुर्याउने सङ्कल्प लिए । र, त्यसका लागि उनको कम्पनीले आफूभन्दा साना एडटेक स्टार्टअपलाई महँगो मूल्य तिरेर आफ्नो स्वामित्वमा लिन थाल्यो । शिक्षाको दायरा बढाउनका लागि कम्पनीले विभिन्न स्टार्टअपलाई गाभ्ने अभियान सुरु गरेको थियो । कोडिङ सम्बन्धी काम गर्ने स्टार्टअप ह्वाइट ह्याट जुनियरलाई ३०० मिलियन डलर तिरेर बाइजुले आफ्नो स्वामित्त्वमा लिएको थियो ।
त्यस्तै टिङ्कर, टपर, ग्रेट लर्निङ, एपिक्स, स्कोलर, ओस्मो र ग्रेडअप जस्ता स्टार्टअपलाई कम्पनीले खरिद गरिसकेको थियो । जस मध्ये तीन ओटा स्टार्टअप अमेरिकी थिए । रवीन्द्रन यी स्टार्टअपको सहायताले आफ्नो व्यवसाय भारतबाहिर समेत विस्तार गर्न खोजिरहेका थिए । यी स्टार्टअपलाई बढाउन बाइजुले एक अर्ब २० करोड डलर ऋण लिएको थियो । यो बाइजुका लागि ठुलो रकम थियो ।
त्यस लगत्तै बाइजुले एक अर्ब डलरमा आकाश एजुकेसनल सर्भिसेसलाई आफ्नो स्वामित्वमा लियो । यो पनि भारतमा ठुलो चर्चाको विषय बन्यो । बजारमा आएको पाँच वर्षमै कम्पनीले ३३ वर्ष पुरानो एडटेक प्लेटफर्मलाई अधिग्रहण गरेपछि चर्चा हुनु स्वभाविक नै थियो । विज्ञहरूका अनुसार त्यस समयमा बाइजुले आकाशको वास्तविक मूल्यभन्दा २० देखि ३० प्रतिशत महँगो मूल्य तिरेको थियो । यसरी बाइजुको सफलता दिन दुई गुणा रात चौगुणाको दरले बढ्दै थियो । मार्च २०२२ सम्म यस प्लेटफर्ममा ५८ हजार बढी कर्मचारी थिए भने यसको भ्यालुएसन २२ अर्ब डलर पुगेको थियो ।
उचाइमा पुगेपछि बाइजुको सङ्घर्ष !
कम्पनीले जुन रफ्तारमा आफूलाई बढाउँदै लगेको थियो, त्यससँगै लगानीकर्ता र त्यससँग सम्बन्धित अन्य सरोकारवालाको अपेक्षा पनि दिनानुदिन बढिरहेको थियो । तर, जुन रफ्तारले कम्पनी अगाडि बढेको थियो, त्यसमा कुन बेला अड्चन आइलाग्छ भन्ने कम्पनीलाई थाहै थिएन ।
कम्पनीको भ्यालुएसन जति थियो, त्यसको तुलनामा बिक्री कम थियो । बिक्री कम भएपछि कम्पनीले आफ्ना कर्मचारीलाई कोर्स बिक्री गर्न चर्को दबाब दिन थाल्यो ।
भारतीय सञ्चार माध्यमलाई अन्तर्वार्ता दिंदै बाइजुका कर्मचारीले ‘कम्पनीको बैङ्गलोरको कार्यालयमा दैनिक १४ घण्टासम्म काम गर्नुपर्ने वाध्यता’ रहेको सुनाएका थिए । उनीहरूका अनुसार सेल्स रिप्रिजेन्टेटिभले टार्गेट अनुसार कोर्स बिक्री गर्न नसके खाजा खाने समय पनि पाइँदैन थ्यो । ग्राहकले केही गरी फोन उठाएनन् भने त्यसको जिम्मा पनि सेल्स रिप्रिजेन्टेटिभले नै लिनुपर्ने हुन्थ्यो । बिक्रीका लागि तोकिएको लक्ष्य पनि व्यवहारिक थिएन । उनीहरूले हरेक हप्ता डेढ लाख भारू बढीको कोर्स बिक्री गर्नुपर्ने हुन्थ्यो ।
सन् २०२२ मा कम्पनीले यस्तो नियम ल्यायो, जहाँ टार्गेटको ५० प्रतिशतभन्दा कम बिक्री गर्ने कर्मचारीलाई निश्काशन गरिन्थ्यो । यो नियम आएपछि कम्पनीका कर्मचारी जसरी भए पनि टार्गेट पुरा गर्नतर्फ केन्द्रित हुन्थे । त्यसपछि बाइजुका कर्मचारी विद्यार्थीका अभिभावकलाई गलत सूचना र आश्वासन दिएर भए पनि आकर्षित गर्नतर्फ लागे ।
“हाम्रो कोर्स नलिए तिम्रो बच्चाले जीवनमा केही गर्न सक्दैन” भन्ने जस्तो त्रास देखाउन थालियो । आफूलाई आएको लक्ष्य पूरा गर्न उनीहरू ‘कोर्स पूरा भएपछि सबै रकम फिर्ता गरिदिने वा छात्रवृत्ति मिलाइदिने’ जस्ता झुटा आश्वासन दिन थाले । यति गर्दा पनि नलागेपछि कर्मचारी आफैँले कोर्स खरिद गरेर भए पनि टार्गेट पूरा गर्न थाले ।
बाहिरिएका विभिन्न समाचार अनुसार कम्पनीले अभिभावकहरूलाई सब्सक्रिप्सन क्यान्सिल गर्दा रिफन्ड लिन पनि गाह्रो हुने बनाइएको थियो । यी र यस्तै अन्य घटना बाहिरिन थालेपछि बजारमा बाइजुप्रतिको विश्वास दिनानुदिन घट्दै गयो ।
त्यसअघि बाइजुका कर्मचारीले त्यहाँको वर्क कल्चरलाई लिएर पनि गुनासो गर्दै आएका थिए । खासगरी कम्पनीले कर्मचारीलाई यस्ता टार्गेट पूरा गर्न लगाउँथ्यो, जो भनेको समयमा पूरा गर्न कर्मचारीलाई निकै सकर पर्थ्यो । त्यस बाहेक कम्पनीले श्रम शोषण गर्ने गरेको भन्दै आन्तरिक रूपमा सवाल उठिरहेका थिए । बीचमा कोभिड महामारी आउनु र कम्पनीको वृद्धि हुनुले उक्त समस्या ओझेलमा पर्यो । त्यस समस्यालाई कम्पनीले बेवास्ता गर्दै लग्यो ।
घाटा हुन थालेपछि बाइजुले सन् २०२२ को अन्तिमतिर सेल्स मोडालिटीलाई परिमार्जन गर्यो । यसको उद्देश्य अतिरिक्त खर्च कटौती गर्नु थियो । यससँगै अब सेल्स रिप्रिजेन्टेटिभ विद्यार्थीको घरमै पुग्नै नपर्ने भयो । अब उनीहरूले अनलाइन वा जुमबाट अभिभावकलाई कोर्सको बारेमा जानकारी दिनुपर्ने भयो । यो मोडेलले गर्दा कर्मचारीलाई विद्यार्थीको घरमै गएर बुझाउनु पर्दा जति खर्च हुन्थ्यो त्यो घट्यो । सँगसँगै सेल्स पनि घट्दै गयो । किनभने सेल्स रिप्रिजेन्टेटिभले कोर्स खरिद गर्न जति मान्छेलाई भेटेर विश्वस्त पार्न सक्थे, त्यसको तुलनामा कलबाट कम भइरहेको थियो ।
तर, बाइजुका सामुन्ने योभन्दा पनि ठुलो समस्याको पहाड खडा भइरहेको थियो । सन् २०२२ को अन्तिमतिर कम्पनीले गरेको घोषणाले सबैलाई चकित बनाइदियो । त्यो थियो, ‘२० करोड डलर खर्च गरेर देशका सबै सहरमा ५०० अफलाइन ट्युसन सेन्टर सञ्चालन गर्ने । जुन कम्पनीले भारतमा अनलाइन कक्षाको अभियान सुरु गरेको थियो, त्यही कम्पनी भौतिक रूपमा ट्युसन सेन्टर सञ्चालन गर्ने घोषणा गर्दै थियो । यो कुरा सबैका लागि आश्चर्यजनक समाचार थियो ।
अनलाइन कक्षामा आफ्नो वर्चश्व कायम गर्न सफल भएको कम्पनीलाई किन भौतिक कक्षा सुरु गर्नुपर्ने बाध्यता आइलाग्यो ? कोभिड महामारी कम हुँदै जाँदा विद्यार्थी अनलाइनभन्दा भौतिक कक्षामा अध्ययन गर्न थाले । अनलाइन कक्षाका लागि विद्यार्थी अभाव हुन थालेपछि बाइजु अफलाइन कक्षा विस्तार गर्ने रणनीति तर्फ लाग्यो ।
एक पल्ट विद्यार्थी अनलाइन कक्षामा अभ्यस्त भइसकेपछि उनीहरूलाई त्यसको बानी लाग्छ भन्ने अपेक्षा कम्पनीको थियो । तर, दुई वर्षसम्म अनलाइन कक्षा पढेका विद्यार्थीलाई भौतिक कक्षा नै बढी सान्दर्भिक लाग्न थाल्यो । र यता कम्पनीको अपेक्षा ठीक उल्टो भइदियो ।
कम्पनीले जुन ईलर्निङ बिजनेस मोडेलमा अर्बौं खर्च गरेको थियो, त्यही मोडेलमा खराबी निस्कियो । त्यसमा आम्दानी भन्दा पनि खर्च नै बढी भइरहेको थियो । निरन्तरको घाटाले बाइजुको आर्थिक अवस्था ओरालो लाग्दै गयो ।
सेप्टेम्बर २०२२ मा कम्पनीले सार्वजनिक गरेको वित्तीय प्रतिवेदन अनुसार अप्रिल २०२० देखि ३१ मार्च २०२१ सम्म कम्पनीले २४ अर्ब २८ करोड भारू आम्दानी गरेको थियो । तर, कम्पनीको घाटा त्यसको करिब दोब्बर अर्थात् ४५ अर्ब ६४ करोड भारू थियो । अर्थात् त्यस अवधिमा कम्पनीले हरेक दिन साढे १२ करोड भारू गुमाइरहेको थियो । कम्पनीले गरेको आम्दानीको ८० प्रतिशत रकम ट्याब्लेटबाट आइरहेको थियो । कोर्सबाट कम्पनीले २० प्रतिशत रकम आम्दानी गरेको थियो ।
आम्दानीलाई आधार मान्ने हो भने बाइजु ईलर्निङ प्लेटफर्म नभई ट्याब्लेट बेच्ने कम्पनी भएको जस्तो देखिन्थ्यो । आम्दानीको रिपोर्ट बाहिरिएपछि बाइजुको आन्तरिक कलह छताछुल्ल भयो ।
त्यसपछि कम्पनीमा अझ धेरै समस्या आउन थाले । एक वर्षअघि जुन कम्पनीमा भेञ्चर क्यापिटल अर्बौं रकम लगानी गर्न तयार थिए, अब त्यही कम्पनीबाट लगानीकर्ता तर्किरहेका थिए । अर्थात् कम्पनीलाई लगानीको अभाव हुन थाल्यो । लगानी जुट्न छोडेपछि बाइजुलाई आर्थिक सङ्कट आउन थाल्यो । आम्दानी नभएपछि कर्मचारीलाई दिने तलब पनि ढिलो हुन थाल्यो । विभिन्न क्षेत्रमा हुने खर्चको रकम तिर्न पनि कम्पनीलाई धौ धौ पर्न थाल्यो । बैंकबाट लिएको रकमको व्याजको भार त्यसैमाथि थपियो ।
यति मात्र नभई कम्पनीले कानुनी झमेलाको पनि सामना गर्नुपर्यो । जुन अमेरिकी कम्पनीले बाइजुलाई एक अर्ब २० करोड डलर ऋण दिएको थियो, त्यो कम्पनीले बाइजुले ऋण सर्तहरू उलङ्घन गरेको आरोप लगाउँदै मुद्दा हाल्यो । उक्त कम्पनीले बाइजुको सबै भौतिक सम्पत्ति र सब्सिडरीमा आफ्नो नियन्त्रण हुनुपर्ने माग राख्यो । अप्रिल २०२३ मा भारतको कर्पोरेट मामिला मन्त्रालयले बाइजुमाथि अनुसन्धान थाल्यो । बाइजुले वित्तीय र कर्पोरेट सुशासनलाई कत्तिको पालना गरेको छ भन्ने विषयमा अनुसन्धान थालिएको थियो । यसैबिच बाइजुले हजारौं कर्मचारीलाई कम्पनीबाट निकाल्न थाल्यो ।
कर्मचारी सञ्चय कोष सङ्गठन भारतको तथ्याङ्क अनुसार मार्च २०२२ सम्म कम्पनीमा ५८ हजार कर्मचारी थिए । जुन २०२३ सम्म आइपुग्दा उक्त सङ्ख्या घटेर २५ हजारमा झरेको थियो । पैसाको जोहो गर्न बाइजुले अमेरिकामा रहेको आफ्नो एपिकलाई ५० करोड डलरमा बिक्रीमा राख्यो । जब कि बाइजुले उक्त कम्पनी एक अर्ब डलरमा खरिद गरेको थियो । अर्थात् यसमा पनि कम्पनीले ५० करोड डलर घाटा बेहोर्नु पर्यो ।
सेप्टेम्बर २०२३ मा भारतको क्रिकेट बोर्ड ‘बीसीसीआई’ले बाइजु विरुद्ध स्पोन्सरशिपको रकम नदिएको भन्दै मुद्दा हाल्यो । कम्पनीले १५८.९ करोड भारू बक्यौता रकम तिर्न बाँकी रहेको बताइएको छ ।
बाइजुले ९० अर्ब भारु बराबरको कारोबारमा ‘विदेशी मुद्रा व्यवस्थापन अधिनियम’ उलङ्घन गरेको आरोप लगाउँदै नोभेम्बर २०२३ मा प्रवर्तन निर्देशनालय (ईडी)ले एक सूचना निकाल्यो । यी सबै समस्या आइरहँदा बाइजुको भ्यालुएसन दिन दुई गुणा रात चौगुणाले घट्दै गइरहेको थियो । जनवरी २०२४ मा कम्पनीको भ्यालुएसन २२ अर्ब डलरबाट घटेर १ अर्ब डलरमा खुम्चियो । यो भनेको कम्पनीको भ्यालुएसनमा ९५ प्रतिशतको गिरावट थियो ।
आजका दिनमा बाइजुले आफ्नो बैङ्गलोरको अफिस बाहेक भारतका अन्य सबै कार्यालय खाली गरिसकेको छ । जो ग्राहकले शुल्क तिरेर बाइजुको कोर्स लिएका थिए, उनीहरूलाई आफ्नो प्लेटफर्ममा अड्याइराख्न पनि कम्पनीले सकेको छैन । कम्पनीले सुरु गरेको अफलाइन ट्युसन सेन्टरको व्यवसाय त झन् कहिल्यै फाइदामा गएन ।
र, अन्तिममा बाइजुले खरिद गरेको आकाश बाहेक अन्य सबै स्टार्टअप घाटामा छन् । अहिले कम्पनीले तिर्नुपर्ने रकम भ्यालुएसनभन्दा बढी छ । एक हिसाबले भन्नुपर्दा कम्पनी कङ्गाल भइसकेको छ ।
जुन कम्पनीले शिक्षामा क्रान्ति ल्याउने सङ्कल्प राखेको थियो, त्यसले कहिल्यै शिक्षालाई प्राथमिकता दिएन भन्ने आरोप विज्ञहरूको छ । आफ्नो प्रचार, वृद्धि र भ्यालुएसनलाई नै सर्वोपरी ठान्दा बाइजु आफ्नै अस्तित्व गुमाउने संघारमा पुगिसकेको छ । पछिल्लो समय कम्पनीले ब्याङ्करप्टको प्रक्रिया अगाडि बढाइरहेको बताइएको छ । तर, कम्पनीले तिर्नुपर्ने ऋणलाई लिएर यो प्रक्रियामा केही कानूनी अड्चन उत्पन्न भएका छन् ।