काठमाडौं । आईफोन १४ प्रो म्याक्सबाट खिचिएको नेपाली चलचित्र 'अ प्लेस अन्डर द सन'को प्रिमियर गरिएको छ । शुक्रबार सुन्धारास्थित सीटीसी मलमा रहेको सीडीसी सिनेमाजमा यो फिल्मको विशेष प्रदर्शन गरिएको हो ।
जेसन लोप्चन निर्देशित यो फिल्म एक घण्टा ५५ मिनेट लामो छ । वान स्क्वाड फिल्मको ब्यानरमा बनेको फिल्म 'क्राइम' विधामा आधारित छ । फिल्मले तीन जना बाल्यकालमा मिल्ने युवाहरूको भेट र त्यसपछि आउने पात्रको कथा भन्छ । आज हामी फिल्मको कथाभन्दा पनि प्राविधिक रूपमा फिल्म कस्तो छ त्यसको समीक्षा गर्छौं:
कसरी खिचियो फिल्म ?
अमेरिकी फिल्म निर्देशक स्टिभन सोडनबर्गले स्तरीय फिल्म आईफोन सिक्स तथा सेभेन जस्ता डिभाइसले खिचेको थाहा पाएपछि उनैबाट प्रभावित भएर पनि यही कन्सेप्टले फिल्म निर्माण गरेको निर्देशक लोप्चन बताउँछन् ।
त्यसमाथि सीमित बजेटमा बनाउनुपर्ने भएकाले आईफोनबाट फिल्म खिचेको उनी सुनाउँछन् । यो फिल्म काठमाडौं र चितवनका विभिन्न ठाउँमा खिचिएको छ ।
जम्मा १८ दिनमा खिचिएको फिल्ममा पोस्ट प्रोडक्सनमा भने करिब छ महिना बढी समय लगाएको उनी सुनाउँछन् । त्यस्तै आईफोनमा आउने प्रिबिल्ट क्यामेरा बाहेक आईफोनमा मिल्ने जुम लेन्स, एन्डी फिल्टर, प्राइम लेन्स जस्ता अन्य सामग्री भने फिल्मका लागि खरिद गरेको उनी बताउँछन् ।
त्यसैगरी मुभमेन्ट शटका लागि आईफोन १३ मिनि पनि प्रयोग गरेका छन् । यस फिल्ममा द्वन्द्व पनि हेर्न सकिन्छ । त्यही शट खिच्न आईफोन १३ मिनी प्रयोग गरिएको हो । फिल्ममा कलाकार भने जम्मा सात जना रहेका छन् ।
कस्तो छ आईफोन १४ प्रो म्याक्सको क्यामेरा ?
अब कुरा गरौं, फिल्म खिच्न प्रयोग गरिएको आईफोन १४ प्रो म्याक्सबारे । सन् २०२२ मा सार्वजनिक भएको आईफोन १४ सिरिजको यो सबैभन्दा राम्रो मोडेल हो । यस मोडेलमा ट्रिपल क्यामेरा सेटअप पाउन सकिन्छ । जसमध्ये मुख्य क्यामेरा ४८ मेगापिक्सेल, टेलिफोटो १२ मेगापिक्सेल र अल्ट्रावाइड १२ मेगापिक्सेलको क्यामेरा रहेको छ ।
यसको मुख्य क्यामेरा क्वाड पिक्सेल टेक्नोलोजी प्रयोग गरिएको छ । जसले गर्दा प्रकाश कम भएको ठाउँमा पनि उत्कृष्ट फोटो खिच्ने एप्पलको दाबी छ । त्यस्तै फोटो/भिडिओ खिच्दा नहल्लियोस् भनेर यसमा एप्पपले अप्टिकल इमेज स्टेबलाइजेसन समेत प्रयोग गरेको थियो ।
यसबाट भिडिओ भने २४, २५, ३०, ६० एफपीएसमा फोरकेमा खिच्न सकिन्थ्यो । त्यसैगरी १०८० पिक्सेलमा भने २५/३०/६०/१२० एफपीएसमा खिच्न सकिन्थ्यो । समग्रमा यसमा मोबाइल फोटोग्राफीमा रुचि राख्नेहरूका लागि यो विकल्प हो ।
अनि कस्तो छ फिल्मको गुणस्तर ?
विश्वमा यसअघि पनि फिचर फिल्मका लागि आईफोन प्रयोग भएका छन् । एप्पलकै कार्यक्रमका लागि पनि आईफोन प्रयोग भएको छ ।
विशेष गरेर आईफोनबाट फिचर फिल्म खिच्दा स्टेबलाइजेसनको समस्या हुने गर्छ । यसमा मामिलामा निर्माण टोलीले राम्रै काम गरेका छन् । फिल्ममा बढी जसो पात्रहरू स्थिर अवस्थामा रहेकाले पनि हुन सक्छ, दृश्यहरू हेर्ने नसक्नेगरी हल्लिएको पाइँदैन ।
यसभन्दा पनि ठूलो समस्या हो, गुणस्तर । आईफोनले आफ्नो क्यामेराको गुणस्तरमा सुधार गरे पनि प्रोफेसनल क्यामेरा जस्तो हुँदैन । सिधा प्रकाश पर्ने गरी खिचिएका दृश्यहरू फिल्ममा प्रशस्त छन् ।
कतै न कतै दृश्यका रङहरू खल्लो लाग्ने गर्छ । फिल्ममा रातका दृश्यहरू पनि छन् । त्यसमा निर्देशकले अलि चलाखी गरेका छन् । जसले गर्दा रातको दृश्यलाई पनि क्यामेराले राम्रै खिचेको छ ।
सायद बाह्य लेन्स प्रयोग गरेकाले होला सब्जेक्ट राम्रैसँग फोकस भएको छ । यद्यपि फोकस बाहिर भएकाले दृश्यमा भने अलि फाँटेको जस्तो महसुस हुन्छ । सायद यो ठूलो स्क्रिन भएर हुन सक्छ ।
त्यस्तै फिल्मको अडिओ पनि अझै राम्रो हुन सक्ने थियो । कम्तीमा फिल्म हेर्दा त्यस्तै महसुस हुन सक्छ । हुन त निर्देशक लोप्चनका अनुसार फिल्मको डबिङ स्टुडिओमै गरिएको हो ।
खैर, अस्कर कलेजबाट ‘फिल्म स्टडिज’ अध्ययन गरेका लोप्चनको यो प्रयास नेपाली फिल्म क्षेत्रमा नौलौ छ । अब चाँडै हलमा लगाउने तयारी रहेको यो फिल्म हेर्दा फरक नपर्ने फिल्म हो ।