close

एन्ड्रोइड फोनमा लुकेका यी उपयोगी फिचर

टेकपाना टेकपाना

असोज ५, २०८१ १८:२४

एन्ड्रोइड फोनमा लुकेका यी उपयोगी फिचर

काठमाडौं । एन्ड्रोइड फोनमा धेरैजसो प्रयोगकर्ताले थाहा नपाएका अनेकौं लुकेका फिचरहरू छन्, जसले फोनको अनुभवलाई अझ प्रभावकारी बनाउन सक्छ । प्रायः हामीले ती फिचरहरूलाई बेवास्ता गरिरहेका हुन्छौं । तर ती हाम्रो दैनिक जीवनमा निकै उपयोगी हुन सक्छन् ।

उदाहरणका लागि, स्क्रिन रेकर्डिङ फिचरको प्रयोगले तपाईँ आफ्नो स्क्रिनका गतिविधिहरू सजिलै रेकर्ड गर्न सक्नुहुन्छ, जुन ट्युटोरियल बनाउन वा महत्त्वपूर्ण जानकारीहरू सुरक्षित राख्न काम आउँछ । त्यसैगरी, डार्क मोड फिचरले तपाईँको आँखाको सुरक्षा र ब्याट्री बचत गर्न मद्दत पुर्‍याउँछ ।

यस्तै, 'गुगल असिस्टेन्ट'को प्रयोगले तपाईँलाई फोनका धेरै कामहरू आवाजद्वारा गर्न सजिलो बनाउँछ । तीमध्ये कतिपय फिचरहरूले तपाईँको समय बचत गर्न र फोनलाई थप सहज बनाउन मद्दत पुर्‍याउँछन् । ​आज हामी त्यस्तै फिचरबारे चर्चा गर्ने छौं:

स्प्लिट स्क्रिन

एन्ड्रोइडमा एउटै स्क्रिनमा फरक-फरक एप एकै पटक प्रयोग गर्न महँगो फोल्डेबल फोन खरिद गर्नु पर्दैन । यसले प्रोडक्टिभिटी पनि बढाउँछ ।

उदाहरणका लागि तपाईंले युट्युब चलाउँदै नोट पनि एकैसाथ प्रयोग गर्न सक्नुहुन्छ । 

यसका लागि तलको प्रक्रिया अपनाउनुहोस्: 

-रिसेन्ट एप्स खोल्नुहोस् । यसका लागि स्क्रिनको दायाँ भागमा भएको होम बटनको तीन ओटा तेर्सो बटनमा ट्याप गर्नुहोस् ।

-अब स्क्रिन स्लिप गर्न चाहेको एप खोज्नुहोस् ।

-स्प्लिट स्क्रिनमा ट्याप गर्नुहोस् ।

-अब अर्को कुन एप स्प्लिट गर्न चाहनुहुन्छ, त्यो खोल्नुहोस् । 

यससँगै ती दुई एप स्क्रिनको दुई भागमा बाँडिन्छन् ।

एप खोल्ने शर्टकट

 

एप खोल्न ‍होम स्क्रिनमा ट्याप गर्नुको साटो तपाईंले त्यसको शर्टकट प्रयोग गर्न सक्नुहुन्छ । अझ कतिपय एप भित्रका फिचरहरूको पनि शर्टकट बनाउन सकिन्छ । 

उदाहरणका लागि इन्स्टाग्राममा पोस्ट गर्न एप खोलेर जानुभन्दा एप आइकनमा केहीबेर प्रेस गर्न सक्नुहुन्छ । त्यसो गर्दा तपाईंले पोस्ट गर्ने विकल्प पाउनुहुन्छ । सेल्फी लिन क्यामेरा खोल्नुको साटो क्यामेरा आइकनमा केही बेर ट्याप गरिरहन सक्नुहुन्छ । यस्ता हरेक शर्टकर्टलाई तपाईंले ड्र्याग गरेर छुट्टै आइकन समेत बनाउन सक्नुहुन्छ । 

वाई-फाई शेयर गर्न क्यूआर

 

 

आफ्नो डिभाइसमा भएको वाई-फाईको पासवर्ड शेयर गर्न तपाईंले टेक्स्ट भनिरहनु भएको छ अथवा लेखेर पठाइरहनु भएको छ यसको उपाय एन्ड्रोइडमा छ । तपाईंले यो उपाय थाहा पाएपछि वाई-फाईको पासवर्ड शेयर गर्न सम्झिरहन आवश्यक छैन ।

-वाई-फाईको सेटिङमा जानुहोस् ।

-अहिले कनेक्ट भइरहेको वाई-फाईमा ट्याप गर्नुहोस् ।

-त्यहाँ शेयर बटनमा ट्याप गर्नुहोस् । अब तपाईंले आफ्नो डिभाइसको लक राख्नुपर्ने हुन्छ ।

-यसपछि एउटा क्यूआर कोड जेनेरेट हुन्छ । जसलाई तपाईंले शेयर गर्न सक्नुहुन्छ । 

रिड अलाउड

यदि तपाईंलाई पढ्न अल्छी लागिरहेको छ भने एन्ड्रोइडको यो फिचर उपयोगी हुन सक्छ । यस फिचरले तपाईंको लागि आफैं पढ्ने काम गर्छ ।

यसका लागि कुनै पनि टेक्स्ट सेलेक्ट गर्नुहोस् । अनि तीन ओटा डटमा ट्याप गर्नुहोस् । यसपछि त्यहाँ रिड अलाउड (Read Aloud) विकल्प देखिन्छ । त्यसमा ट्याप गर्नुहोस् ।

फोकस मोड

कुनै पनि काम शान्त भएर गर्नका लागि एन्ड्रोइडमा फोकस मोड छ । यो अन गर्दा तपाईंको ‍ध्यान मोड्ने अन्य कुराहरू बन्द हुने गर्छ । उदाहरणका लागि सबै नोटिफिकेसन बन्द हुनेदेखि डु नट डिस्टर्बसम्मका विकल्प अन हुन्छ ।  

यसका लागि सेटिङमा गएर डिजिटल वेलविइङमा जानुहोस् । त्यहाँबाट फोकस मोडमा जानुहोस् । अब त्यहाँ तपाईंले आफूलाई असर पार्न सक्ने एपहरू र समय छान्नुपर्ने हुन्छ । यति गरिसकेपछि सो अवधिभर ती एपबाट कुनै पनि नोटिफिकेसनहरू आउँदैन । 

डेटा सेभर 

फोनको ब्याट्री कम हुँदै गएपछि ब्याट्री सेभर अन गर्न सकिन्छ । त्यसो गर्दा बढी ब्याट्री खपत गर्ने एप तथा फिचर बन्द हुन्छ । त्यसैगरी तपाईँको डेटा कम छ भने डेटा सेभर अन गर्न सक्नुहुन्छ । यसले तपाईंको डेटा खपतलाई पनि कम गर्छ ।

साथै मोबाइल डेटाको ब्याकग्राउन्ड युज पनि बन्द गर्छ । यसका लागि ‘सेटिङ>मोबाइल नेटवर्क>डेटा युजेज’ मा जानुहोस् । यसपछि डेटा सेभिङमा ट्याप गर्नुहोस् । त्यहाँ यो विकल्प अन गर्न टुगल डबाउनुहोस् । 

यी बाहेक लाइभ क्याप्सन, एप पिन, डेभलपर अप्सन जस्ता अन्य फिचर पनि एन्ड्रोइडमा लुके जसरी रहेका हुन्छन् । समग्रमा यी फिचरले तपाईंलाई स्मार्टफोन चलाउन पोख्त समेत बनाउँछ ।

नोट: माथिका प्रक्रिया फोनको मोडल अनुसार फरक हुन सक्छ ।

पछिल्लो अध्यावधिक: असोज ५, २०८१ १८:३४