काठमाडौं । निर्देशक मीन भामले आफ्ना चलचित्र युट्युबमा कहिल्यै नराख्ने घोषणा गरेको अहिले होइन, पहिल्यै हो । सिने क्षेत्रको विश्व प्रसिद्ध अस्कर अवार्डका लागि मनोनीत यस वर्षको एक मात्र नेपाली चलचित्र साम्बालाका निर्देशक भामले पुनः यस्तो घोषणा दोहोर्याएका छन् ।
लामो अन्तरालमा मात्र चलचित्र बनाउने उनी अलि फरक शैली मन पराउनेका लागि उनका चलचित्रको प्रतीक्षा हुने गर्छ । विदेशका कतिपय चलचित्र महोत्सवहरूमा समेत प्रभाव छाड्न सफल उनले युट्युबलाई भने बेवास्ता गर्ने निर्णय लिएका हुन् ।
अहिले धेरै जसो नेपाली चलचित्रको ठुलो आम्दानीको स्रोत युट्युब हो । हलमा राम्रो प्रदर्शन गर्न नसकेका चलचित्रहरूले समेत युट्युबमा राम्रै भ्युज बटुलेका उदाहरण प्रशस्त छन् । यसले चलचित्र निर्मातालाई केही हदसम्म भए पनि राहत पक्कै दिइरहेको हुन्छ । तर, कम चलचित्र बनाउने निर्देशक भामले भने मृत्युपर्यन्त आफ्नो चलचित्र युट्युबमा नराख्ने बाचा सुनाएका छन् ।
यो उनको लामो समयदेखिको अडान हो । उनले यस विषयमा विभिन्न फोरममार्फत कारण खुलाउँदै आएका छन् । केही समयअघि काठमाडौंमा भएको एक कार्यक्रममा उनले युट्युबबाट केही पैसा आउने भए पनि आफूले त्यसमा चलचित्र कहिल्यै र कुनै पनि नराख्ने बताएका थिए । हालै भने एक टेलिभिजन कार्यक्रममा उनले चलचित्र भनेको हलमा हेर्नका लागि बनाइएकाले युट्युबमा नराख्ने कारण दिएका छन् ।
“चलचित्रको डिजाइन, एप्रोच, सिनेमेट्रोग्राफी, आर्ट डिरेक्सन, भेषभुषा, सबै कुरा पर्दामा नै हेर्नका लागि डिजाइन गरिएको हुन्छ । त्यो हेर्ने नै पर्दामा हो,” उनी भन्छन्, “मेरा चलचित्रहरू युट्युबमा नआउने/नराख्ने कुरामा म पहिलेदेखि नै सचेत र प्रष्ट छु । मेरो शेषपछि कसैले राखिदेलान्, त्यो फरक कुरा रह्यो ।”
उनका अनुसार शाम्बाला अथवा कालोपोथी कुनै पनि चलचित्र युट्युबमा आउँदैनन् । सन् २०१५ मा आएको कालोपोथी चलचित्र कहिले हेर्न पाइन्छ भनेर दर्शकले आफूलाई बारम्बार सोध्ने गरेको उनी सुनाउँछन् । तर यसको जवाफमा उनी भन्छन्, “अब सिद्धियो । सकियो । गयो । म आफैँलाई थाहा छैन, यो चलचित्र कहिले हेर्न पाइन्छ ?”
यसरी युट्युबमा चलचित्र राख्दै नराख्ने कठोर निर्णय लिएका उनी हेर्न पाइने समय छोटो हुने र चलचित्र त्यसरी हेर्न हलमा जाँदा सिने कल्चर बच्ने दाबी गर्छन् ।
अहिले चलचित्र मोबाइल, ल्यापटपमा हेर्न थालिएकोमा उनी चिन्तित पनि देखिन्छन् । “अहिले नेपालमा रङ्गमञ्च फेरि जागृत भएको छ, त्यो मर्ने अवस्थामा थियो । त्यो बडो दु:ख लाग्दो कुरा हो । युट्युबमा आउँला अनि हेरौंला भन्ने संस्कार बस्दै गयो भने चलचित्र कुनै दिन नेपालबाट मर्न सक्छ ।”
विदेशका विभिन्न महोत्सवहरूको भ्रमण गरेर आएको उनको चलचित्र शाम्बाला अहिले हलमा लागिरहेको छ । यो नै उनको पछिल्लो चलचित्र हो । यस वर्ष नेपालबाट यो चलचित्र अस्कर अवार्डमा समेत सहभागी हुँदै छ ।