close

सस्तो एआई चिपसहित चिनियाँ बजारमा पुनरागमन गर्दै एनभिदिया

टेकपाना टेकपाना

जेठ १२, २०८२ १५:४२

सस्तो एआई चिपसहित चिनियाँ बजारमा पुनरागमन गर्दै एनभिदिया

काठमाडौँ । अमेरिकी चिप कम्पनी एनभिदियाले चिनियाँ बजारलाई लक्षित गर्दै सस्तो चिप उत्पादन गर्ने भएको छ । यसअघि अमेरिकी सरकारको निर्देशनअनुसार कम्पनीले आफ्नो एच१०० मोडेलको चिप चीनमा निर्यात गर्न रोक लगाएको थियो । अब भने कम्पनीले चिनियाँ बजारका लागि पुनः चिप उत्पादन गर्न लागेको हो । यो चिप आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रयोजनका लागि प्रयोग गरिने बताइएको छ ।

रोयटर्समा प्रकाशित समाचारअनुसार एनभिदियाले आगामी जुन महिनाभित्र चिप उत्पादन सुरु गर्नेछ । नयाँ चिपको मूल्य ६,५०० देखि ८,००० अमेरिकी डलरसम्म पर्नसक्ने अनुमान छ । अघिल्लो एच१०० मोडेलको मूल्य १०,००० देखि १२,००० अमेरिकी डलरसम्म थियो ।

नयाँ चिप आरटीएक्स प्रो ६०००डी मोडेलमा आधारित हुने र सर्भर-क्लास ग्राफिक्स प्रोसेसर प्रयोग गरी तयार गरिने बताइएको छ । तर, यसमा नयाँ एड्भान्स्ड ब्यान्डविथ मेमोरी (एचबीएम) को साटो पुरानो जीडीडीआर७ मेमोरी प्रयोग हुनेछ ।

यी विवरणका आधारमा यो चिप सस्तो मात्र नभइ कार्यक्षमताको हिसाबले पनि तुलनात्मक रूपमा कमजोर रहने देखिन्छ । यद्यपि, चिपका थप प्राविधिक विवरण अझै बाहिर आएका छैनन् ।

यस विषयमा रोयटर्ससँगको कुराकानी कम्पनीका प्रवक्ताले आफूहरूले यो नयाँ उत्पादनमा काम नै गरिरहेको र उत्पादनले अमेरिकी सरकारको अनुमति नपाउँदासम्म केही जानकारी दिन नसक्ने बताएका छन् । तर आफूहरूले चीनको ५० अर्ब डलर बराबरको डेटा सेन्टरको बजारलाई हेरेर चिप उत्पादन गर्ने तयारी गरिरहेको उनले उल्लेख गरे । 

एनभिदियाको लागि चीन धेरै ठुलो बजार थियो । तर सरकारले लगाएको प्रतिबन्धसँगै कम्पनीको बजारमा धक्का लागेको छ ।  एकातिर एनभिदिया चिनियाँ बजार फर्काउने प्रयासमा छ भने अर्कोतिर चीन आफैँ बलियो हुँदै गइरहेको छ । अमेरिकी प्रतिबन्धले चीनलाई प्रविधिको क्षेत्रमा आत्मनिर्भर हुनका लागि थप प्रोत्साहन मिलेको विश्लेषण गरिएको छ । 

पछिल्लो अध्यावधिक: जेठ १२, २०८२ १५:४२