काठमाडौं । पछिल्लो २४ घण्टामा देशभरका १०१ वर्षामापन केन्द्रमा भारी वर्षा मापन भएको छ । जलसतह सतर्कता तह पार गरेपछि केही स्थानमा बाढीको सम्भावना बढेको छ भने केही स्थान पहिरोको जोखिममा छन् ।
जल तथा मौसम विज्ञान विभागका अनुसार ६ घण्टामा १०० मिलिमिटरभन्दा बढी वर्षा भएका स्थानमा बाढीको सम्भावना हुन्छ भने पहिरोको जोखिम झनै बढ्न सक्छ । शनिवार बिहान ६ः३० को मापनअनुसार २६९ स्वचालित केन्द्रहरू मध्ये १०१ केन्द्रहरूमा सतर्कता तहभन्दा बढी वर्षा भएको विभागले जनाएको छ ।
बिहानैदेखि देशका विभिन्न स्थानमा भइरहेको भारी वर्षाले धेरै नदी तथा खोलामा जलसतह उच्च बनाएको छ । विभागले दिउँसो पनि भारीदेखि अति भारी वर्षा हुने सम्भावना रहेकाले जोखिमयुक्त क्षेत्रमा बसोबास गर्नेहरूलाई सतर्कता अपनाउन आग्रह गरेको छ ।
त्यस्तै सुरक्षित स्थानमा बस्न र बाढीपहिरोको जोखिम हुने स्थानबाट टाढा रहन विभागले सुझाव दिएको छ ।
कहाँ-कहाँ खतरा छ भनेर अनलाइनबाटै कसरी थाहा पाउने ?
सबैभन्दा पहिले जल तथा मौसम विज्ञान विभागकाे याे वेबसाइटमा जानुहाेस् ।
त्यसपछि वेबसाइटमा रहेको मेनु ‘Rainfall Watch’ मा क्लिक गर्नुहोस् ।
नयाँ खुल्ने पेजमा विभिन्न जिल्लामा वर्षाको ताजा अवस्था कस्ता छ भनेर विवरण देखाइएको छ । तालिकामा रातो रङमा देखाइएको विवरण अनुसार सम्बन्धित जिल्लाहरूमा बाढी तथा पहिरोको जोखिम छ भनेर बुझ्न सकिन्छ । साथै यसमा चेतावनी (Warning) समेत दिइन्छ ।
त्यस्तै तालिकामा हरियो रङमा देखाइएको विवरणमार्फत सम्बन्धित ठाउँमा बाढी वा पहिरोको तत्काल जोखिम नभएको बुझ्न सकिन्छ ।