close

मास्टर्समा कम्प्युटर इन्जिनियरिङ पढाउँदै एभरेस्ट कलेज, दिउँसो काम गरेर बेलुका कक्षा लिन मिल्ने

टेकपाना टेकपाना

असोज १६, २०८१ ११:४०

मास्टर्समा कम्प्युटर इन्जिनियरिङ पढाउँदै एभरेस्ट कलेज, दिउँसो काम गरेर बेलुका कक्षा लिन मिल्ने

काठमाडौं । एभरेस्ट इन्जिनियरिङ कलेजले स्नातकोत्तर तहमा आफ्नो पहिलो कोर्स मास्टर अफ कम्प्युटर इन्जिनियरिङ (एमई कम्प्युटर) सञ्चालन गर्ने भएको छ । कलेजले काठमाडौंमा मङ्गलबार एक कार्यक्रम गर्दै नयाँ कोर्स सञ्चालन गर्न लागेको जानकारी दिएको हो ।

कलेजका अनुसार पोखरा विश्वविद्यालयबाट सम्बन्धन लिएर यो कोर्स सञ्चालन गर्न लागिएको हो । यस कोर्स अध्ययन गरेपछि विद्यार्थीले कम्प्युटर इन्जिनियरिङको आधारभूत सिद्धान्त बुझ्ने तथा कुनै पनि क्षेत्रमा विशेष ज्ञान प्राप्त गर्ने कलेजको भनाइ छ ।

शैक्षिक तथा उद्योगको आवश्यकता पूर्ति गर्न सक्षम जनशक्ति उत्पादन गर्न पनि यो कोर्स सञ्चालनमा ल्याइएको कलेजका प्रिन्सिपल इन्जिनियर विरोध रिजालले बताए । चालु आर्थिक वर्षको बजेट मार्फत १० वर्षमा आईटी क्षेत्रमा पाँच लाख प्रत्यक्ष तथा १० लाख अप्रत्यक्ष रोजगारी सिर्जना गर्न सरकारले राखेको लक्ष्य पूरा गर्न यस कोर्सले भूमिका खेल्ने दाबी उनले गरे । 

“नेपालमा अहिले सबै आईटी कोर्स गरेर वार्षिक १० हजार जनशक्ति उत्पादन भइरहेका छन्,” उनले भने, “यही रफ्तारमा भए सरकारले राखेको योजना पूरा हुँदैन । त्यसलाई पूरा गर्न पनि हामीले स्नातकोत्तर तहमा पढाउन लागेका हौँ ।”

त्यस्तै कोर्सको अध्ययन पछि खाली हात बस्नु नपर्ने समेत उनको दाबी छ । यसका लागि भर्ना भएका विद्यार्थीहरूलाई आर्थिक सहायताका साथै शिक्षण र अनुसन्धान सहायक उपलब्ध गराउने, नियमित सेमिनार र कार्यशाला सञ्चालन गर्ने प्रतिबद्धता समेत रिजालले व्यक्त गरे । 

कलेजमा यो कोर्स साझको समयमा सञ्चालन हुनेछ । यसो हुँदा दिउँसो काम गरिरहेका व्यक्तिहरू पनि भर्ना हुन सक्ने कलेजको भनाइ छ ।

पछिल्लो अध्यावधिक: असोज १६, २०८१ १२:३१