close

गुगल सर्चमा पनि अब ब्लु टिक फिचर, सक्कली वेबसाइट चिन्न सजिलो हुने

टेकपाना टेकपाना

असोज १९, २०८१ ११:३

साङ्केतिक तस्वीर साङ्केतिक तस्वीर

काठमाडौं । गुगल सर्चमा नयाँ भेरिफिकेसन फिचर आउने भएको छ । नक्कली वा झुटा वेबसाइटमा क्लिक गर्नबाट प्रयोगकर्तालाई जोगाउन कम्पनीले यस्तो प्रणाली ल्याउन लागेको हो । 

यस अन्तर्गत केही प्रयोगकर्ताले आफ्नो ब्राउजरमा गुगल सर्चभित्र वेबसाइटको यूआरएलमा ब्लु टिक भएको देख्न थालिसकेका छन् । 

“हामी सधैं प्रयोगकर्तालाई भरपर्दो साइट पहिचान गर्न सहज होस् भन्नका लागि विभिन्न फिचर परीक्षण गरिरहेका हुन्छौं । अहिले भने हामीले सानो ग्रुपमा जेन्युन साइटको पछाडि ब्लु चेकमार्क देखिने फिचर परीक्षण गरिरहेका छौं,” गुगलका पब्लिक अफेयर्स प्रवक्ता मोली शहीनले द भर्जलाई भने । 

प्रयोगकर्ताले माइक्रोसफ्ट, मेटा, एपिक गेम्स, एप्पल, अमेजन, एचपी जस्ता कम्पनीको वेबसाइटमा चेकमार्क देख्ने गरेको बताएका छन् । 

यो नयाँ परीक्षण कम्पनीले ब्रान्ड इन्डिकेटर्स फर मेसेज आइडेन्टिफिकेसन अन्तर्गत ल्याएको बताइएको छ । हाल जिमेलमा आधिकारिक वेबसाइटबाट आएको मेलमा अकाउन्टको पछाडिपट्टि ब्लु चेकमार्क देखिन्छ । 

यो फिचर गुगल सर्चमा आएपछि प्रयोगकर्ता कुन साइट आधिकारिक हो र कुन अनाधिकारिक हो भन्ने पहिचान गर्न सक्छन् । यस्तोमा डेटा चोरी हुने, गलत वेबसाइटमा भर पर्दा पैसा र संवेदनशील जानकारी गुमाउने जोखिम कम हुने बताइएको छ । यो फिचर पूर्ण रूपमा कहिले उपलब्ध हुन्छ भन्नेबारे कम्पनीले हालसम्म कुनै जानकारी दिएको छैन ।

पछिल्लो अध्यावधिक: असोज १९, २०८१ २१:३९