काठमाडौं । दशैं आएसँगै नेपाल विद्युत् प्राधिकरणका चार्जिङ स्टेसनहरू थप व्यस्त बन्दै गएका छन् । दशैंको अवसरमा घुमघाम तथा गाउँघर जानको लागि उपत्यका छोड्नेहरूको सङ्ख्या बढेसँगै उपत्यका बाहिरका चार्जिङ स्टेसनहरू व्यस्त हुन थालेका हुन् ।
प्राधिकरणले हाल देशका विभिन्न स्थानहरूमा ६२ ओटा चार्जिङ स्टेसन निर्माण गरी सञ्चालनमा ल्याएको छ । जसमध्ये उपत्यका बाहिर इटहरी र हेटौंडाका चार्जिङ स्टेसन हाल प्राविधिक कारणले सञ्चालनमा नरहेको प्राधिकरणका चार्जिङ स्टेसन प्रमुख सागर ज्ञवालीले टेकपानालाई बताए ।
“अहिले सम्मको जानकारी अनुसार उपत्यका बाहिर इटहरी र हेटौंडाका दुई चार्जिङ स्टेसन सञ्चालनमा छैनन् । यी स्टेसनहरूमा पनि यथाशक्य सेवा सुचारु गर्ने प्रयास जारी छ,” उनले भने ।
यस्तै प्राधिकरणले सोमबार मात्र एनईए (NEA) चार्जिङ स्टेसनमार्फत ३६ हजार ८१.६ किलोवाट बिजुली खपत भएको जनाएको छ । कुल तीन हजार १७३ ओटा कारोबारमार्फत उक्त मात्राको बिजुली खपत भएको हो ।
एनईए बाहेकका चार्जिङ स्टेसनहरूमा पछिल्लो समय गाडीको चाप बढिरहेको पाइएको छ । दिगो चार्जिङ स्टेसन कुरिनटारका प्रतिनिधिले टेकपानालाई जानकारी गराए अनुसार हाल दिगोको कुरिनटार स्टेसनमा दैनिक सरदर १०० ओटा गाडीहरू चार्ज भइरहेका छन् ।
उक्त मात्रा सिसीएस-२ र जीबीटी दुवै प्लगमा चार्ज भएका विद्युतीय साधनको हो । हाल दिगोको कुरिनटार स्टेसनमा लगभग १ घण्टाको वेटिङ टाइम रहेको प्रतिनिधिको भनाइ छ । यस्तै उपत्यका बाहिर एमजी, टाटा, बीवाईडी लगायतका चार्जिङ स्टेसनमा पनि चार्ज गर्न आउनेहरूको सङ्ख्या वृद्धि भएको बुझिएको छ ।