काठमाडौं । नेपाली हिन्दु धर्मावलम्बीको महान् पर्व बडा दशैं आँगनमै आइसकेको छ । यो केवल एउटा धार्मिक र सांस्कृतिक महत्त्वको पर्व मात्रै नभएर परिवार र समुदायलाई अझ नजिक ल्याउने अवसर पनि हो ।
दशैंको दौरान टीका र जमराको आशीर्वादसँगै दक्षिणा दिइन्छ । यसले परम्परागत रूपमा सम्मान र माया दर्शाउँछ । लामो समयदेखि चल्दै आएको यस परम्पराले परिवारका ठूला सदस्यहरूले सानालाई आशीर्वाद दिँदै आर्थिक रुपमा सहयोग गर्ने सामाजिक रीत बसाल्यो ।
तर, समय परिवर्तनशील छ । अहिले कागजी नोटको सट्टा ‘डिजिटल दक्षिणा’ अर्थात् डिजिटल माध्यममार्फत पैसा पठाउने प्रचलन व्यापक हुँदैछ । डिजिटल भुक्तानी प्रणालीहरूको उदयले दशैंमा दक्षिणा दिने पुरानो परम्परालाई नयाँ स्वरूप दिन सक्छ । प्रविधिले हाम्रो सामाजिक परम्परालाई कसरी परिमार्जन गर्दैछ भन्ने विषय यहाँ उल्लेख छ:
परम्परागतदक्षिणा
दशैंको अवसरमा दक्षिणा दिने चलन सदियौंदेखि रहिआएको छ । दक्षिणा भनेको केवल पैसा मात्रै नभई स्नेह, सम्मान र आशीर्वादको प्रतीक पनि हो । दशैंमा हरेक परिवारका ठूला मान्यजनले घरका साना सदस्य र आफन्तलाई नयाँ नोट दिन्थे । जसलाई ‘दक्षिणा’ भनिन्थ्यो ।
विशेषगरी बालबालिका दक्षिणा पाउने प्रतीक्षामा हुन्थे । त्यही पैसाले कापी किताबदेखि खेलौना, मिठाई वा आफ्नो इच्छाअनुसारका सामग्री किन्नु उनीहरूको खुसीको हिस्सा थियो ।
यसरी घरघरमा दक्षिणा दिने कार्यले पारिवारिक सम्बन्धलाई अझ मजबुत बनाउने काम गर्थ्यो । आर्थिक सशक्तिकरणको साथै सामाजिक संस्कारको अङ्ग थियो यो ।
दशैंपछि बजारमा बालबालिकाहरूले प्राप्त गरेको दक्षिणा खर्च गर्न जाँदा जीवनको अर्थशास्त्र सिक्थे । यस्तै आर्थिक असमानता भएका परिवारले पनि दक्षिणाबाट प्राप्त पैसा सानालाई सहायतास्वरूप दिन्थे ।
तर, परम्परागत दक्षिणामा केही चुनौतीहरू पनि थिए । टाढा रहेका आफन्तलाई दक्षिणा दिनको लागि भौतिक रूपमा भेट हुन आवश्यक हुन्थ्यो । कागजी नोटको व्यवस्थापन पनि समयसापेक्ष झन्झटिलो हुन सक्थ्यो । र, कतिपय अवस्थामा हराउने वा बिग्रने जोखिम पनि रहन्थ्यो ।
डिजिटलदक्षिणा
पछिल्लो समय मोबाइल तथा इन्टरनेटको पहुँचमा तीव्र वृद्धि भएको छ । यससँगै डिजिटल भुक्तानी प्रणालीहरू लोकप्रिय हुँदै गएका छन् । यसले गर्दा दशैंजस्ता परम्परागत चाडपर्वमा पनि डिजिटल भुक्तानीले ठूलो स्थान लिएको छ ।
अहिले सहरमा बस्ने युवा पुस्ताले मात्र नभएर गाउँका धेरै मानिसहरूले पनि डिजिटल वालेटमार्फत रकम पठाउन थालेका छन् । दक्षिणाको सवालमा पनि यो लागु हुन सक्छ ।
समयसँगै महत्त्वपूर्ण बन्दै गएको डिजिटल दक्षिणा प्रणालीलाई नेपाल राष्ट्र बैंकले पनि प्रोत्साहन गरेको छ । हालै सामाजिक सञ्जालमा एक पोस्ट राख्दै बैंकले भनेको थियो, ‘दक्षिणा दिंदा सकभर डिजिटल माध्यम प्रयोग गरौं ।’
डिजिटल दक्षिणालाई नै अगाडि ल्याउन यस पटक राष्ट्र बैंकले यस वर्ष सुकिला नोट (नयाँ नोट) पहिलेका वर्षभन्दा कम वितरण गर्यो । यस वर्ष बैंकले एक अर्ब ३१ करोड रुपैयाँ बराबरको सुकिला नोट वितरण गरेको जनाइएको छ । यो रकम अघिल्ला वर्षहरूमा बैंकले बितरण गर्ने रकमभन्दा कम भएको बताइएको छ ।
त्यसैगरी बैंकले डिजिटल वालेट कम्पनीलाई वालेटमा रकम जम्मा गर्ने सीमा (सङ्ख्या)लाई अस्थायी रूपमा बढाउन निर्देशन दिएको छ । अर्थात् यसअघि वालेटको व्यक्तिगत अकाउन्टमा दिनमा बढीमा १० पटकसम्म रकम जम्मा गर्ने सुविधा थियो भने अब ३० पटकसम्म हुने भएको छ । यो १ कात्तिकसम्म लागू हुनेछ । त्यस्तै तिहार र छठमा पनि यो व्यवस्था लागु हुने राष्ट्र बैंकले जनाएको छ ।
डिजिटल वालेट ईसेवाले एपमा ‘डिजिटल दक्षिणा’को सेक्सन समावेश गरेको छ । यसमा व्यक्तिको अकाउन्टबाट व्यक्तिको अकाउन्टमा रकम पठाउँदा सेवाशुल्क नलाग्ने कम्पनीले जनाएको छ । व्यक्तिगत अकाउन्टबाट व्यक्तिगत अकाउन्टमा दिनमा तीन पटकभन्दा बढी १०० रुपैयाँभन्दा बढी पठाउँदा सेवा शुल्क लाग्ने गरेको छ । दशैं अवधिभर अतिरिक्त शुल्क नलाग्ने कम्पनीले जनाएको छ ।
डिजिटल वालेट आईएमई पेले व्यक्तिगत अकाउन्टबाट व्यक्तिगत अकाउन्टमा रकम पठाउँदा अतिरिक्त शुल्क लिने गरेको छैन । त्यसैले यसबाट दक्षिणा पठाउँदा शुल्क लाग्दैन । त्यस्तै दक्षिणा पठाउनेमध्ये एक ग्राहकलाई कम्पनीले आईफोन १६ उपहार दिने जनाएको छ ।
अन्य बैंक तथा डिजिटल वालेटले पनि यस्ता अफर ल्याउने क्रम जारी राखेका छन् ।
सबै कारोबार डिजिटल माध्यमबाट हुने भएपछि कागजी नोटको त्यति आवश्यकता छैन भन्दा फरक नपर्ला । यद्यपि केही स्थानमा कागजी नोट नै प्रयोग गर्नुपर्ने बाध्यता छ ।
परम्परागत दक्षिणा डिजिटल दक्षिणबीचको भिन्नता
१) सामाजिकअनुभव
परम्परागत दक्षिणा: दक्षिणा दिने परम्परागत प्रक्रिया भावनात्मक रूपमा विशेष महत्व राख्छ । हातबाट पैसा दिने क्रममा दक्षिणा पाउने मानिस र दिने मानिसबीच प्रत्यक्ष सम्बन्ध बन्छ । यस क्रममा सानाले ठूलाको हातबाट पैसा लिनु, टीका लगाउनु, र आशीर्वाद प्राप्त गर्नु सामाजिक न्यानोपनाको प्रतिविम्बका रूपमा हेरिन्छ ।
डिजिटल दक्षिणा: डिजिटल दक्षिणाले प्रत्यक्ष सम्बन्धलाई थोरै परिवर्तन गरेको छ । पैसा त तुरुन्तै पठाउन सकिन्छ, तर त्यो व्यक्तिगत भेटघाट र स्नेहको अनुभव भने केही हदसम्म कम हुन्छ । भेटेरै टीका, जमरा लगाई आशीर्वाद ग्रहण गरिएको छ तर दक्षिणा डिजिटल वालेटबाट प्राप्त गरेको छ भने त्यसले भावनात्मक सम्बन्ध र आत्मीयतामा खासै केही फरक नपार्ला । डिजिटल वालेटबाट दक्षिणा प्राप्त गर्दा यसले समय र प्रविधिको उपयोग गर्दै चाडपर्वलाई नयाँ ढंगले मनाउन प्रेरित गरेको गर्छ ।
२)आर्थिकव्यवस्थापन
परम्परागत दक्षिणा: कागजी नोटको व्यवस्थापन गर्दै दक्षिणा दिने कामले समय र श्रमको आवश्यकता पर्थ्यो । सारा परिवारको लागि छुट्टा-छुट्टै नोटको व्यवस्था गर्नु, कतिपय अवस्थामा बैंकमा लाइन लागेर नयाँ नोट निकाल्नु झन्झटिलो हुन्थ्यो ।
डिजिटल दक्षिणा: डिजिटल वालेटको प्रयोगले यो प्रक्रिया निकै सजिलो बनाइदिएको छ । अब केवल क्यूआर कोड स्क्यान गरेकै भरमा मोबाइलमार्फत चाहेको जति रकम तुरुन्तै पठाउन सकिन्छ । यसले समय, श्रम र झन्झट सबैलाई कम गरेको छ ।
३) सुरक्षा
परम्परागत दक्षिणा: कागजी नोटहरू हराउने, नक्कली नोट पाउने जोखिम हुन्छन् । ठूला दक्षिणामा चोरी वा धोकाको डर उत्तिकै हुन्छ ।
डिजिटल दक्षिणा: डिजिटल दक्षिणाको प्रयोगले यो समस्या पूर्णतः हटाएको छ । सबै रकमको डिजिटल रूपमा ट्र्याक गर्न सकिन्छ । यसले गर्दा रकम सुरक्षित हुन्छ । पासवर्ड, पिन कोड र ओटीपीको प्रयोगले रकम सुरक्षित राख्न सकिन्छ ।
४) व्यापारिकअफररप्रोमोसन
परम्परागत दक्षिणा: परम्परागत दक्षिणामा व्यापारिक अफर वा छुटको अवसर थिएन । दक्षिणा भनेको भावनात्मक स्नेहको प्रतीक थियो र कुनै प्राविधिक वा आर्थिक लाभको कुरा त्यसमा जोडिएको थिएन ।
डिजिटल दक्षिणा: डिजिटल वालेटहरूले दशैं अफरहरू ल्याएर ग्राहकलाई आकर्षित गरेका छन् । क्याशब्याक, छुट वा विशेष उपहारको सेवा सुविधा दिंदै डिजिटल वालेटले डिजिटल दक्षिणालाई प्रवर्द्धन गरेका छन् । त्यसैले उपभोक्ताका लागि यसमा अतिरिक्त सेवाहरू जोडिन्छन् ।
प्रविधिलेल्याएकोपरिवर्तन
प्रविधिले केवल हाम्रो चाडपर्वलाई सहज मात्रै बनाएको छैन । यसले हाम्रो सामाजिक परम्परामा पनि नयाँ आयाम थपेको छ । डिजिटल वालेटको उदयले परम्परागत दक्षिणा दिने संस्कारलाई हटाएको होइन बरु यसलाई नयाँ स्वरूप दिएको छ । समयको परिवर्तनसँगै हाम्रो परम्पराहरू पनि अनुकूल बनिरहेका छन् । र, प्रविधिको सहायताले यसलाई अझ सशक्त र आधुनिक बनाउँदै छन् ।
भौतिक रूपमै दक्षिणा प्राप्त गरेको आभास दिन डिजिटल वालेटहरूले त्यही अनुसारको एनिमेसन समावेश गरेका छन् । यसले भौतिक वा सुकिला नोट प्राप्त गर्दा जुन किसिमको आनन्दपन दिन्थ्यो एनिमेसनले पनि त्यही किसिमको आनन्दपन ल्याउने विश्वास गरिएको छ ।