काठमाडौं । सन् २०१४ मा अनुसन्धानका लागि प्रश्नोत्तर गर्ने भन्दै अमेरिकी नागरिकहरूलाई एउटा एप (a personality quiz app) डाउनलोड गर्न लगाइयो । त्यसमा विभिन्न प्रकारका व्यक्तिगत प्रश्नहरू राखिएका थिए । तर ती सबैको उत्तर दिन फेसबुकमा अनिवार्य लगइन गर्नु पर्थ्यो । यसरी उत्तर दिनेहरूलाई न्यूनतम पाँच डलर पनि दिइएको थियो ।
यी सबै काम अलेक्जेन्डर कोगनले राजनीतिक सरसल्लाह दिने बेलायती कम्पनी क्याम्ब्रिज एनालिटिकाका लागि गरेका थिए । कोगनले उक्त एपबाट लाखौं फेसबुक प्रयोगकर्ताहरूको डेटा सङ्कलन गरे । जसलाई क्याम्ब्रिज एनालिटिकाले विभिन्न प्रयोजनका लागि प्रयोग गर्यो । यो कुरा सन् २०१५ मा मात्र बाहिरिए पनि सतहमा भने सन् २०१८ मा मात्र आयो । प्रयोगकर्ताको डेटा चोरी गरेको गम्भीर आरोप फेसबुकलाई लाग्यो । साथै लाखौं डलर जरिवाना पनि तिर्नु पर्यो ।
आजभोलि कुनै संस्था तथा कम्पनीले प्रयोगकर्ताको डेटालाई उनीहरूको स्वीकृति बिना प्रयोग गर्छ भने यस घटनालाई जोडेर हेरिने गरिन्छ । अहिले उक्त घटनालाई ‘फेसबुक क्याम्ब्रिज एनालिटिका डेटा स्क्यान्डल’ नामले चिनिन्छ । फेसबुकले तिर्न परेको जरिवाना, सन् २०१६ मा भएको अमेरिकी राष्ट्रपति चुनाव इत्यादिका कारण पनि यो घटना चर्चित बन्न गयो ।
आज हामी यो घटना कसरी भयाे, फेसबुकले के गर्यो, यसमा के के भयो भन्ने जस्ता कुरा बारे चर्चा गर्नेछौं:
क्याम्ब्रिज एनालिटिका
यसको इतिहास सन् १९९० मा नाइजल ओक्सले बेलायतमा स्थापना गरेको स्ट्राटेजिक कम्युनिकेसन ल्याब्रोटोरिज (एससीएल) ग्रुपसँग जोडिन्छ । त्यो एक निजी गुप्तचर कम्पनी थियो । त्यसबेला त्यो कम्पनी सैन्य तथा राजनीतिक क्षेत्रमा सक्रिय थियो । पछि सन् २०१३ जनवरीमा एससीएल समूहको सहायक कम्पनी रहने गरी क्याम्ब्रिज एनालिटिका (सीए) जन्मियो । त्यसमा अलेक्जेन्डर निक्सलाई निर्देशक र प्रमुख कार्यकारी अधिकृत (सीईओ) बनाइएको थियो ।
क्याम्ब्रिज एनालिटिका एउटा राजनीतिक सरसल्लाह दिने संस्था थियो । डेटा साइन्सका विभिन्न विधिहरू प्रयोग गरेर यसले राजीतिक पार्टीहरूको चुनावी अभियानहरूका लागि काम गर्थ्यो । यसको मुख्य काम मतदाताहरूलाई लक्षित गरी राजनीतिक विज्ञापनहरू गर्नु थियो । यसका लागि यसले डेटा एनालिटिक्स, साइकोलोजिक प्रोफालिङ, डेटा माइनिङ लगायका काम गर्थ्यो ।
विभिन्न सञ्चार संस्थाहरूका अनुसार क्याम्ब्रिज एनालिटिकाले यस्ता काम गर्न अमेरिका, दक्षिण अफ्रिका, आयरल्यान्ड, सिङ्गापुर आदि देशहरूमा आफ्नो शाखा नै खडा गरेको थियो । कम्पनीले तिनै कामका लागि चाहिने डेटा सङ्कलन गर्न कोगनलाई कम्पनीमा नियुक्ति गरेको थियो ।
अलेक्जेन्डर कोगन
उनी रुसमा जन्मेका अमेरिकी अनुसन्धानदाता हुन् । उनले सन् २०१२ देखि २०१८ सम्म क्याम्ब्रिज विश्वविद्यालयमा प्राध्यापकका रुपमा समेत काम गरेका थिए । उनी पेशाले एक डेटा तथा मनोवैज्ञानिक थिए । उनैलाई अमेरिकी प्रयोगकर्ताको डेटा सङ्कलन गर्ने जिम्मा क्याम्ब्रिज एनालिटिकाले सन् २०१३ मा सुम्पियो ।
फेसबुकले सन् २००७ देखि अन्य डेभलपरहरूलाई विभिन्न टुल र टेक्नोलोजीहरू भएको आफ्नो प्लेटफर्म प्रयोग गर्न दिएको थियो । यसबाट ती डेभलपहरूले फेसबुकसँग सम्बन्धित एप बनाउन सक्थे । त्यस प्लेटफर्ममा विभिन्न प्रकारका एपीआई, एसडीके र अन्य आवश्यक टुलहरु थिए, जसलाई प्रयोग गरेर ती एप डेभलपरहरूले फेसबुकको डेटामा पहुँच पाउन सक्थे । कोगनले पनि त्यही सुविधाको प्रयोग गर्दै शैक्षिक उद्देश्यका लागि आफ्नो एप बनाउने प्रस्ताव फेसबुकमा गरेका थिए । जसलाई फेसबुकले सहजै स्वीकारेको थियो ।
तत्पश्चात उनी र उनको कम्पनी ग्लोबल साइन्स रिसर्चले ‘दिस इज योर डिजिटल लाइफ’ नामक एप विकास गरे । फेसबुक प्रयोगकर्ताहरूको आधारभूत जानकारी सङ्कलन गर्नु र उनीहरूले कस्ता कुराहरूमा 'लाइक' बटन क्लिक गर्छन् भनेर जान्नु एपको प्रमुख उद्देश्य थियो । मानिसलाई के गर्न मन पर्छ, कस्तो मन पर्छ भन्ने कुरा लाइक बटनबाट थाहा पाउन सकिने उनीहरूको तर्क थियो ।
विभिन्न सञ्चार माध्यमहरूका अनुसार त्यस एपमा प्रयोग गरिएको एल्गोरिदमले १० ओटा लाइकबाट तपाईं कस्तो खालको व्यक्ति हुनुहुन्छ भनेर थाहा पाउने, १५० बढी लाइकबाट तपाईंको व्यक्तित्वबारे तपाईंका बाबुआमा भन्दा सही बताउने र ३०० बढी लाइकका आधारमा श्रीमान् वा श्रीमतीले भन्दा बढी तपाईंका बारे थाहा पाउने क्षमता राख्थ्यो ।
यसका साथै प्रयोगकर्ताहरूको साइकोलोजिकल प्रोफाइला तयार पार्न एपमा थुप्रै प्रश्नहरू राखिएका थिए । सँगै फेसबुक प्रयोगकर्ताको प्रोफाइलबाट उनीहरूको डेटामा पहुँच पाउन र ती सङ्कलन गर्न फेसबुक एपीआईलाई एपमा प्रयोग गरिएको थियो । यो एपले डाउनलोड गर्नेको मात्र नभई उसँग जोडिएका अन्य साथीहरूको समेत व्यक्तिगत डेटा सङ्कलन गर्न सक्थ्यो ।
यसका लागि कोगनले फेसबुकले राखेको सेवा सर्तहरूमा भएको कमजोरीलाई प्रयोग गरेका थिए । यदि प्रयोगकर्ताले आफ्नो डेटा एपसँग साझेदारी गर्न सहमत भए, उक्त एपले उसको अन्य फेसबुकका साथीहरूबाट समेत डेटा सङ्कलन गर्न सक्थ्यो । त्यसबेलाको यो कमजोरी फेसबुकका लागि महँगो साबित भयो ।
एपलाई एक महिना भित्रमा दुई लाख ७० हजारले उक्त एप डाउनलोड गरेका थिए । त्यसबाट सुरुमा साढे पाँच करोड प्रयोगकर्ताको डेटा सङ्कलन गरिएको भनिएता पनि आठ करोड ७० लाख मानिसको तथ्याङ्क सङ्कलन गरिएको बताइन्छ । जुन सङ्ख्या त्यसबेला अमेरिकामा रहेका फेसबुक प्रयोगकर्ताको एक एक चौथाइ भएको बताइन्छ ।
यसरी सङ्कलन गरिएको डेटालाई कगोनले क्याम्ब्रिज एनालिटिकालाई दिएका थिए । न्यू योर्क टाइम्सका अनुसार यो काम गर्न क्याम्ब्रिज एनालिटिकाले कोगनलाई आठ लाख डलरभन्दा बढी रकम दिएको थियो ।
यो सबै कुरा जब मात्र फेसबुकले थाहा पायो, तब क्रिस्टोफर वाइलीले जानकारी दिए ।
क्रिस्टोफर वाइली
उक्त एपले प्रयोगकर्ताहरूका डेटा सङ्कलन गर्न क्याम्ब्रिज एनालिटिकासँग काम गरिरहेकोबारे वाइलीले सन् २०१५ मा फेसबुकलाई बताइदिए । उनी क्याम्ब्रिज एनालिटिकाकै पूर्वकर्मचारी हुन् । आफ्नो कुरा पुष्टि गर्न उनले फेसबुकलाई इमेल र अन्य कागजातहरूको स्क्रिनसटहरू समेत उपलब्ध गराएका थिए ।
त्यसबेला फेसबुकले उक्त काम विरुद्ध कुनै ठूलो कदम नलिएको उनले विभिन्न सञ्चारमाध्यमलाई पछि बताएका थिए । यद्यपि त्यसपछि नै फेसबुकले यस विषयमा अनुसन्धान थालेको थियो । अनुसन्धानमा प्रयोगकर्ताको सहमति बिना नै डेटा सङ्कलन गरेर उक्त एपले आफ्नो गोपनीयता नीति उल्लंघन गरेको फेसबुकले पायो ।
त्यसपछि फेसबुकले आफ्नो प्लेटफर्मबाट उक्त एपलाई हटाएको थियो । साथै एपबाट सङ्कलन गरिएका डेटा नष्ट गर्नलाई पनि फेसबुकले कोगनलाई भनेको थियो । त्यही अनुरुप क्याम्ब्रिज एनालिटिकाले सबै डेटा नष्ट गरेको बारे फेसबुकलाई बताएको थियो । तर मिडिया रिपोर्ट अनुसार त्यसो नगरेर ती डेटा सुरक्षित राखिएकाे थियाे ।
वाइली त्यतिमा रोकिएनन् । उनले सन् २०१६ मा क्याम्ब्रिज एनालिटिकामा जागिर नै छाडिदिए । पछि द गार्डियनलाई दिएको एक अन्तर्वातामा उनले एनालिटिकाको तत्कालीन सीईओ निक्सलाई सन् २०१५ मा नै डेटाको दुरुपयोग बारे बताएको तर वेवास्ता गरेको बताएका थिए । जागिर छाडेपछि उनले त्यही वर्ष बेलायतको द इन्फर्मेसन कमिस्नर अफिस (आईसीओ) मा यसबारे जानकारी दिए । आईसीओले भने सन् २०१७ मार्चदेखि मात्र क्याम्ब्रिज एनालिटिकाले प्रयोग गरिरहेको डेटाबारे अनुसन्धान सुरु गरेको थियो ।
यस समयसम्म आइपुग्दा क्याम्ब्रिज एनालिटिका सन् २०१६ मा भएको अमेरिकी राष्ट्रपतिको चुनावसँग जोडिइसकेको थियो ।
अमेरिकी राष्ट्रपति चुनाव, २०१६
अमेरिकाको ५८औँ राष्ट्रपति चुनाव ८ नोभेम्बर २०१६ मा सम्पन्न भयो । यसमा रिपब्लिकन पार्टीका दुई नेता टेड क्रुज र डोनाल्ड ट्रम्प इच्छुक थिए । यी दुवैलाई आफ्नो चुनावी अभियानमा क्याम्ब्रिज एनालिटिकाले हात पारेको त्यही फेसबुकको डेटा प्रयोग गरेको आरोप लाग्ने गरेको छ । यद्यपि उक्त पार्टीबाट ट्रम्प चुनावमा गए । उनी राष्ट्रपति नै बने । उनको चुनावी अभियानमा व्यापक रुपमा ती डेटाको गलत प्रयोग गरिएको बताउने गरिन्छ ।
विशेष: मतदाताहरूको रूचि पत्ता लगाएर उनीहरूको न्युज फिडमा त्यही अनुसारको राजनीतिक विज्ञापन बजाउने, उनीहरूलाई मन पर्ने कुराहरू मात्र देखाउने जस्ता काम गर्न ती डेटा प्रयोग गरिएको आरोप छ ।
चुनाव जित्न ट्रम्पले एनालिटिकालाई ६० लाख डलरभन्दा बढी तिरेको न्यू योर्क टाइम्सले लेखेको थियो । त्यस्तै आफ्नो चुनावी अभियान स्थगित गर्ने बेलासम्म क्रुजले ५८ लाख डलर रकम एनालिटिकाको सेवा लिएर बापत बुझाएको विभिन्न सञ्चार माध्यमले लेखेका थिए । क्रुजले भने आफूले क्याम्ब्रिज एनालिटिकाको सेवा लिएको स्वीकारेका थिए भने ट्रम्पले सधैं यो कुरालाई अस्वीकार गर्दै आएका छन् । तर त्यही डेटाका कारण मानिसहरूलाई बहकाएर चुनाव जितेको आरोप ट्रम्पलाई लाग्दै आएको छ ।
उक्त चुनावमा क्याम्ब्रिज एनालिटिकाले ट्रम्पलाई सहयोग गरेको पुष्टि गर्ने आधारहरू धेरै भएको सञ्चार संस्थाहरूले लेखेका थिए । जस्तो; अमेरिकी प्रविधि कम्पनी रेनटेकका सीईओ रोबर्ट मर्सरले क्याम्ब्रिज एनालिटिकामा लगानी गरेका थिए । उनी चुनावताका ट्रम्पलाई सहयोग गर्ने प्रमुख मध्येका एक थिए । त्यस्तै क्याम्ब्रिज एनालिटिका सञ्चालकहरूमध्ये स्टीभ ब्यानन ट्रम्पका चुनावी अभियानका व्यवस्थापक नै थिए ।
चुनाव सम्पन्न भएर यो विषय सतहमा आउन थालेपछि डेटा दुरुपयोग भएको विषयमा अमेरिकी र बेलायती दुवै निकायहरूले यसमा अनुसन्धान गरेका थिए । तर क्याम्ब्रिज एनालिटिकाले सङ्कलन गरेको डेटा २०१६ को राष्ट्रपति चुनावमा प्रयोग भएको थियो वा थिएन भन्नेमा दुवै निकायले कुनै ठोस प्रमाण जुट्न सकेनन् । यस कारण केही नियामकहरूले डेटा प्रयोग भएको निष्कर्ष निकालेका छन् भने अरूले त्यसलाई प्रमाणित गर्न पर्याप्त प्रमाण नभएको बताएका छन्।
बेलायतको आईसीओले आफ्नो अनुसन्धानको रिपोर्टमा क्याम्ब्रिज एनालिटिकाले मतदाताहरूको साइकोलोजिकल प्रोफाइल बनाउन ती डेटा प्रयोग गरेको र तिनलाई राजनीतिक विज्ञापनहरू बजाउन उपयोग गरेको आफ्नो अनुसन्धान रिपोर्टमा लेखेको थियो । यद्यपि, आईसीओ आफूले यो चुनावको नतिजालाई नै प्रभाव पार्ने गरी डेटा प्रयोग भएको भने कुनै प्रमाण फेला नपरेको बतायो ।
यता अमेरिकाको फेडेरल ट्रेड कमिसन (एफटीसी) ले भने क्याम्ब्रिज एनालिटिकाले २०१६ को चुनावमा डेटा प्रयोग गरेको कुनै प्रमाण फेला नपारेको बताएको थियो । तर यसले प्रयोगकर्ताहरूको सहमति बिना डेटा सङ्कलन गरेर फेसबुकको सेवा सर्तहरू उल्लङ्घन गरेको भने पुष्टि गरेको थियो ।
चुनावपछि यस स्क्यान्डल फेरि सतहमा आयो । यस पटक द न्यू योर्क टाइम्स र द अभ्जर्भर (द गार्डियनको साप्ताहिक पत्रिका) ले मार्च २०१८ मा खोज पत्रकारिता गरेर उक्त घटनाबारे लेखेका थिए । ती सञ्चारसंस्थाले क्याम्ब्रिज एनालिटिकालाई फेसबुकले ५५ करोड प्रयोगकर्ताको व्यक्तिगत डेटा प्रयोग गर्न दिएको र सन् २०१६ मा भएको अमेरिकी राष्ट्रपति चुनावमा डोनाल्ड ट्रम्पलाई सहयोग गरेको आरोप लगाएका थिए ।
समाचार, प्रदर्शन र अनुसन्धान
डेटा दुरुपयोगको मुद्दा चर्किरहेका बेला बेलायती सञ्चार संस्था ‘च्यानल फोर न्यूज’मा क्याम्ब्रिज एनालिटिकाका तत्कालीन सीईओ निक्सले आफ्नो कम्पनीले संसारभरको कुनै पनि निर्वाचनको नतिजा फरक पार्न सक्ने भन्दै अन्तर्वाता दिए । त्यो कुराले झन् उक्त घटनामा आगोमा घिउ थपेझैं काम गर्यो । उनको उक्त अन्तर्वातापछि नै आईसीओले कम्पनीको सेवाबारे छानबिन गर्न वारेन्ट जारी गर्यो ।
तर आईसीओले यसअघि बाट नै यस घटनामाथि अनुसन्धान गरिरहेको थियो । आईसीओको उक्त कार्यलाई बेलायती उच्च अदालतले समेत समर्थन गर्यो । उनको त्यही अभिव्यक्तिले क्याम्ब्रिज एनालिटिकाको सीईओ पद गुम्यो भने जुलियन व्हीटल्याण्ड नयाँ सीईओ नियुक्त भए ।
यता अमेरिकामा पनि न्यू योर्क टाइम्सको उक्त समाचारले विभिन्न बहस सिर्जना गरायो । समाचार बाहिरिए लगत्तै केही डिजिटल अधिकारकर्मीहरू मार्च २०१८ मा क्यालिफोर्नियाको मेन्लो पार्कमा रहेको फेसबुकको मुख्यालय बाहिर गएर कम्पनी विरुद्ध प्रदर्शनी गरेका थिए ।
‘फेसबुक: हाम्रो डेटा बेच्न रोक्’, ‘क्याम्ब्रिज एनालिटिका: डेटा चोर’ जस्ता पम्प्लेटहरू लिएर उनीहरूले भौतिक रुपमा नै विरोध प्रदर्शन गरेका थिए । बेलायतको लन्डनमा पनि अप्रिल २०१८ मा क्याम्ब्रिज एनालिटिकाको पूर्व मुख्यालय बाहिर त्यस्तै विरोध प्रदर्शन भएको थियो ।
डेटा सुरक्षामा फेसबुक कमजोर भएको समाचार प्रकाशित भएको दुई महिनापछि ह्वाट्सएपका सहसंस्थापक ब्रायन एक्सनले २१ मे, २०१८ का दिन आफ्नो अकाउन्टबाट ‘यो फेसबुक डिलिट गर्ने समय हो’ भनेर ट्वीट गरे । उनले यसरी लेख्नुको कारण थियो, फेसबुकका करौडौं प्रयोगकर्ताहरूको डेटा क्याम्ब्रिज एनालिटिकाले दुरुपयोग गर्नु ।
त्यो समयमा फेसबुकले डेटा सुरक्षा गर्न नसकेको खबर बाहिरिएसँगै ट्वीटरमा उनी जस्तै थुप्रै प्रयोगकर्ताले आवाज उठाए । ‘डिलिट फेसबुक’, ‘वन योर डेटा’ (#DeleteFacebook, #OwnYourData) जस्ता ह्यासट्यागहरू त्यसबेला ट्वीटरको (हाल एक्स) ट्रेन्डिङमा आएका थिए । साथै त्यही अवधिमा फेसबुकमा लाइक, पोष्ट र शेयरहरूको संख्या २० प्रतिशतले घटेको थियो ।
अमेरिकाको एफटीसीले पनि न्यू योर्क टाइम्सको त्यही समाचारपछि मात्र क्याम्ब्रिज एनालिटिका स्क्यान्डलको छानबिन सुरु गर्यो । विशेषत: यस निकायले आफ्नो अनुसन्धान क्याम्ब्रिज एनालिटिकाले प्रयोगकर्ताहरूको सहमति बिना डेटा सङ्कलन गरेर फेसबुकको सेवाका सर्तहरू उल्लङ्घन गरेको छ कि छैन भन्ने कुरामा केन्द्रित गरेको थियो । साथै राजनीतिक विज्ञापनहरू गर्न डेटा प्रयोग गरेको थियो कि भनेर पनि अनुसन्धान गरेको थियो ।
साथै फेसबुकका सीईओ मार्क जुकरबर्गले १० अप्रिल, २०१८ का दिन यस स्क्यान्डलबारे अमेरिकी कंग्रेसमा स्पष्टीकरण समेत दिनु पर्यो । जहाँ उनलाई अमेरिकी सिनेटहरूले कसरी फेसबुकको डेटा क्याम्ब्रिज एनालिटिकाले पायो? त्यो बारे फेसबुकलाई के थाहा थियो? फेसबुकले प्रयोगकर्ताको गोपनीयतालाई कसरी सुरक्षा गरिरहेको छ? लगायतका विभिन्न प्रश्न गरेका थिए ।
कुनै पनि प्रविधि कम्पनीको सीईओलाई डेटाको गोपनीयताबारे अमेरिकी कंग्रेस सामु स्पष्टीकरण सोधिएको त्यो पहिलो घटना थियो । यसकारण पनि जुकरबर्गको त्यो स्पष्टीकरणलाई सामाजिक सञ्जालको इतिहासमा एक महत्त्वपूर्ण क्षणका रुपमा लिइन्छ । त्यससँगै सीईओ जुकरबर्गले बेलायत र अमेरिकाको ठूला सञ्चार माध्यमहरू मार्फत उक्त घटनाप्रति क्षमायाचना गर्दै माफी नै मागेका थिए । साथै त्यही वर्ष कोगनको ‘दिस इज योर डिजिटल लाइफ’ एपलाई एप स्टोर र प्ले स्टोरबाट हटाइएको थियो ।
फेसबुक, कोगन र क्याम्ब्रिज एनालिटिका
यस घटनामा ८.७ करोड मानिसको डेटा उनीहरूको अनुमति बिना सङ्कलन गरिएको थियो । तर यसको जिम्मा यी कसैले पनि लिएको देखिँदैन । एप डेभलपर कोगनले फेसबुकसँग गरेको सम्झौता अनुसार नै उक्त कार्य गरेको बताएका थिए भने फेसबुकले आफूहरूलाई कोगनले छल गरेको बताएको थियो ।
फेसबुकका अनुसार कोगनले अनुसन्धानका डेटा सङ्कलन गर्ने बताएका थिए । तर उनले त्यसो नगरी कम्पनीको नीति विपरीत गएर क्याम्ब्रिज एनालिटिकालाई उक्त डेटा बेचेको आरोप फेसबुकले लगाएको थियो । कोगनले भने लिखित सम्झौतामा त्यसरी सङ्कलन गरिएको डेटालाई व्यावसायिक प्रयोगका लागि प्रयोग गर्न सकिने उल्लेख भएको तर्क गरेका थिए ।
यद्यपि फेसबुकले उक्त घटनालाई डेटा ब्रिच मानेको छैन । त्यस कार्यमा कुनै पनि पासवर्ड चोरी नभएको, सिस्टमलाई असर नपुर्याइएको भन्दै फेसबुकले डेटा ब्रिच स्विकार गरेन । तर त्यस घटनाले भने प्रयोगकर्तासँगको विश्वास भने गुमेको फेसबुकले बताएको थियो । त्यस्तै फेसबुक र क्याम्ब्रिज एनालिटिकाबीच प्रत्यक्ष सम्बन्ध नभएको देखिन्छ ।
जरिवाना
यस स्क्यान्डलमा फेसबुकले अमेरिका र बेलायत दुवै देशमा जरिवाना तिर्नुपर्यो । यस विषयमा अनुसन्धान गरेका दुवै देशका निकायहरू आईसीओ (बेलायत) र एफटीसी (अमेरिका)ले फेसबुकलाई दोषी ठहर गरे । आईसीओले प्रयोगकर्ताहरूको डेटा सुरक्षा गर्न नसकेको र त्यो डेटा अरूले कसरी सङ्कलन गरेको थियो भन्ने बारे पारदर्शी हुन नसकेको भन्दै फेसबुकलाई सन् २०१८ मा पाँच लाख डलर तिरायो ।
यता एफटीसीको अनुसन्धान सन् २०११ को डेटा तथा गोपनीयता सम्बन्धी सम्झौता फेसबुकले भङ्ग गर्यो कि गरेन भन्नेमा केन्द्रित थियो । सो सम्झौतामा फेसबुकले कुनै पनि डेटा अरूलाई दिँदा प्रयोगकर्ताहरूलाई जानकारी दिनुपर्ने र उनीहरूबाट सहमति लिनुपर्ने प्रावधान छ ।
यी सम्झौताहरू उल्लङ्घन गरेको पाएपछि सन् २०१९ मा एफटीसीले फेसबुकलाई पाँच अर्ब डलर जरिवाना तिराउने निष्कर्ष निकालेको थियो । डेटा तथा गोपनीयता सम्बन्धी कुनै पनि प्रविधि कम्पनीलाई लगाइएको उक्त जरिवाना हालसम्मकै सबैभन्दा धेरै भएको बताइन्छ ।
प्रयोगकर्ताहरूको सहमति बिना डेटा सङ्कलन गरेर फेसबुकको सेवाका सर्तहरू उल्लङ्घन गरेको निष्कर्ष निकाल्दै आईसीओले सन् २०१८ मा क्याम्ब्रिज एनालिटिकालाई पाँच लाख डलर जरिवाना तिर्न लगायो । अमेरिकामा भने एफटीसीले क्याम्ब्रिज एनालिटिकालाई जरिवाना गराएन । किनभने अनुसन्धान पूरा हुँदासम्म कम्पनी नै बन्द भइसकेको थियो ।
तर एफटीसीले क्याम्ब्रिज एनालिटिकाको मूल कम्पनी एससीएल समूहविरुद्ध उजुरी दर्ता गर्यो । सोही वर्ष एफटीसीको गोपनीयता सम्बन्धी नियमहरू उल्लङ्घन गरेको भन्दै एससीएल समूहलाई साढे १२ लाख डलर तिर्न लगाइएको थियो । साथै फेसबुक प्रयोगकर्ताहरूबाट सङ्कलन गरेको सबै डेटा नष्ट गर्न लगाइएको थियो ।
यस स्क्यान्डलमा फेसबुकले तिर्नुपर्ने जरिवाना त्यतिमा रोकिएन । जुलाई १०१९ मा अमेरिकाको सेक्युरिटीज एन्ड एक्सचेन्ज कमिसन (एसईसी) ले प्रयोगकर्ताहरूका डेटा दुरुपयोगबारे लगानीकर्ताहरूलाई भ्रमित गरेको आरोपमा फेसबुकलाई १० करोड डलर तिर्न लगायो । साथै एफटीसीले डिसेम्बर २०२२ मा यस स्क्यान्डलबाट असर परेका प्रयोगकर्ताहरूलाई आर्थिक क्षतिपूर्ति दिनु पर्ने भन्दै फेसबुकलाई ७२५ मिलियन डलर तिर्न लगाएको छ । मे २४, २००७ देखि डिसेम्बर २२, २०२२ सम्म कोही अमेरिकी नागरिकले फेसबुक खोलेर सक्रिय राखेको भए उक्त रकममाथि दाबी गर्न पाउने बताइएको छ ।
यीबाहेक भारत र ब्राजिल सरकारले क्याम्ब्रिज एनालिटिकाले राजनीतिक अभियानमा कसरी प्रयोगकर्ताको डेटा प्रयोग गर्यो भनेर रिपोर्ट माग गरेका थिए । भारतमा भने सो कम्पनी विरुद्ध सन् २०१८ मा मुद्दा नै परेको थियो ।
अन्त्यमा…
यस घटनालाई लिएर नेटफ्लिक्सले ‘द ग्रे ह्याक’ नामक वृत्तचित्र नै निर्माण गरेको छ । सन् २०१९ मा बनाइएको उक्त वृत्तचित्रमा यस घटनाको पृष्ठभूमि, क्याम्ब्रिज एनालिटिका, फेसबुक र २०१६ को चुनावलाई देखाएको छ ।
यस घटनाले डेटा साक्षरताको महत्त्व, डेटाको शक्ति, यसको नियमनको आवश्यकता जस्ता कुराहरूलाई उजागर गरेको छ । यसपछि नै विश्वभर डेटा गोपनीयताको कानूनलाई कडाइ बनाउने पनि काम भए । समग्रमा ‘फेसबुक क्याम्ब्रिज एनालिटिका डेटा स्क्यान्डल’ले हामीलाई डेटाको गोपनीयता र प्रयोग बारे महत्त्वपूर्ण पाठ सिकाएको छ ।
-विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको सहयोगमा सञ्जीवन राईले तयार पारेको सामग्री