काठमाडौं । “म सोसल मिडिया प्रयोग गर्नै सक्दिनँ,” सुरुवाती बार्तालापमै निराश हुँदै ट्रान्सवुमन रितिशा दाहाल (नाम परिवर्तन) भन्छिन्, “मलाई पनि आफ्ना विचारहरू खुलेर राख्ने इच्छा छ । तर, त्यसमा आउने नकारात्मक कमेन्टले सामाजिक सञ्जाल चलाउने आँटलाई आफ्नो अधीनमा पारिदिन्छन् ।”
उनले कैयन् पटक आफ्ना रचनात्मक विचार सामाजिक सञ्जालमा छरपस्ट पार्ने प्रयास गरिन् । कहिले सजाएर राखिन् । कहिले स्वतन्त्र भएर उड्न दिइन् । तर, उनको शारीरिक स्वरूप र लैङ्गिक पहिचानमा फरकपन देख्नेहरूले यसैलाई ठूलो मुद्दा बनाएर उनका रचनात्मक विचारलाई कुल्चिदिए ।
यसरी आफ्नै विचारहरूमा कसैले खुलेर प्रहार गरेको महसुस गरेपछि उनले सामाजिक सञ्जालमा आफैं पोस्ट राख्न छोडिन् । आफ्नै वास्तविक पहिचानभन्दा पनि समाजले स्वीकार्ने पहिचानमा केन्द्रित भएका सामाजिक सञ्जाल प्रयोग गरिन् । आफ्नोपन बिर्सेर उरूले खोजेको जस्तो बन्न खोजिन् । देखावटी रूपमा आफ्नोपन लुकाए पनि आन्तरिक रूपमा उनी वास्तविक थिइन् । लैङ्गिक अल्पसङ्ख्यक सम्बन्धी आएका पोस्टमा आफ्ना विचार राख्न छोडिनन् । त्यसमा पनि उनलाई नकारात्मक कमेन्टका प्रहार आइरहे । भन्छिन्, “लैङ्गिक अल्पसङ्ख्यक सम्बन्धी आएका पोस्टमा समर्थन नजनाई बस्न सकिनँ । तर, त्यसमा पनि प्रहार भइरह्यो । केही नलागेपछि मैले सामाजिक सञ्जाल नै प्रयोग गर्न छोडिदिएँ ।”
सामाजिक सञ्जालमा लैङ्गिक अल्पसङ्ख्यक सम्बन्धी आएका पोस्टलाई नजिकबाट नियाल्ने सम्झना विश्वकर्माले पनि यस्तै तीतो अनुभव सँगालेकी छिन् । उनी आफूलाई लेस्बियन भन्न रुचाउँछिन् । “जो शारीरिक स्वरूपमा महिला जस्तो देखिनु हुन्छ, तर आफूलाई पुरुष (ट्रान्सम्यान) भनेर चिनाउनुहुन्छ उहाँहरूको हकमा उहाँहरूको फोटो एडिट गरेर बिकिनी लगाएको फोटोमा एड गरेर बेइज्जत गर्ने प्रयास भएको देखेकी छु,” विश्वकर्मा अगाडि भन्छिन्, “मजाकको रूपमा यस्ता पोस्टहरू धेरै राख्ने गरिएको छ ।”
खासगरी समलिङ्गी जोडीले सामाजिक सञ्जाल विशेषगरी टिकटक र फेसबुकमा आफूलाई लैङ्गिक अल्पसङ्ख्यक जोडी भनेर चिनाउँदा नकारात्मक कमेन्टहरू बढी आउने गरेको उनी सुनाउँछिन् । लैङ्गिक अल्पसङ्ख्यक समुदाय खासगरी ट्रान्सवुमन वा ट्रान्सम्यानले सामाजिक सञ्जालमा बढी नकारात्मक प्रतिक्रियाको सामना गर्नुपरेको उनले विश्लेषण गरेकी छिन् ।
विश्वकर्माको भनाइमा समर्थन जनाउँदै ट्रान्सम्यान संयोग केसी भन्छन्, “यही समुदायका कतिपय साथीलाई परिवारले राम्रोसँग स्वीकारेको हुँदैन । त्यसैमा समाजमा घुलमिल हुने माध्यम सामाजिक सञ्जालमा पनि उनीहरूलाई उस्तै विभेद गरिएको हुन्छ ।”
लैङ्गिक अल्पसङ्ख्यकले सामाजिक सञ्जालमा यस समुदायका बारेमा सचेत बनाउन विभिन्न सामग्री राख्ने गरेको भए त्यसमा आउने नकारात्मक कमेन्टले उनीहरू निरुत्साहित हुने गरेको महसुस रुबिना प्रधानको छ । उनी आफूलाई क्वेर (प्यानसेक्सुअल) भन्न रुचाउँछिन् । “समाजिक सञ्जालमा आउने नकारात्मक केमन्टकै कारण कतिपय आफ्ना विचार खुलेर राख्नबाट पछि परिरहेका हुन्छन्,” प्रधान भन्छिन्, “खासगरी यस समुदायका व्यक्तिलाई होच्याउने, नकारात्मक रूपमा दर्शाउन खोज्ने मानसिकता हाबी भएको देखिन्छ ।”
सामाजिक सञ्जालमा कन्टेन्ट क्रियटर पराक्रम राणा चर्चित छन् । उनी समलिङ्गी पुरुष हुन् । आफ्नो लैङ्गिक पहिचानका बारेमा उनी खुलेर व्यक्त गर्छन् । “पछिल्ला वर्षहरूमा लैङ्गिक पहिचानका मुद्दाहरू बढी उठेका छन्, विभिन्न कार्यक्रम पनि भएका छन्,” उनी आफ्नो अनुभव सुनाउँदै भन्छन्, “तर, जति मान्छे अवगत वा सचेत हुनुपर्ने हो त्यति भएका छैनन् । पछिल्लो दुई तीन वर्षमा लैङ्गिक अल्पसङ्ख्यक समुदायलाई लक्षित गरी नकारात्मक कमेन्ट वा भनौं दुर्व्यवहार गर्ने प्रवृत्ति बढिरहेको छ ।”
सामाजिक सञ्जालमा सफलताका पोस्टहरूमा आउँछ असफलता दर्शाउने कमेन्ट
सामाजिक सञ्जालको पहुँचले मानिसहरूलाई आफ्नो विचार व्यक्त गर्ने अवसर दिएको छ । जसले गर्दा सूचना आदानप्रदान तीव्र भएको छ भने यसले विभेद र पूर्वाग्रहलाई पनि सजीव बनाइदिएको छ । नेपालमा पनि यसको यथार्थ स्वरूप देखिन थालेको छ । विशेषगरी क्वेर (LGBTQIA+) समुदायका व्यक्तिहरूले यसको सामना बढी गर्नु परेको छ ।
क्वेर समुदायका सदस्यहरूले सामाजिक सञ्जाललाई आफ्नो कथा सुनाउन र आफ्नो पहिचानप्रति गर्व गर्नको लागि उपयोग गर्छन् । यो समुदायको कतिपय व्यक्तिहरूले विभिन्न क्षेत्रमा उल्लेखनीय सफलता प्राप्त गरेका छन् । उदाहरणका लागि कतिपय क्वेर व्यक्तिहरूले खेलकुद, साहित्य, कलामा ठूलो योगदान गरेका छन् । समाजको परिवर्तनशील दृष्टिकोणलाई स्वीकारेर धेरैले उनीहरूलाई खुलेर प्रशंसा पनि गर्छन् । तर, यसमा ठूलो विरोधाभास छ- सामाजिक सञ्जालमा खुलेर आएका यस्ता पोस्टहरू धेरैजसो नकारात्मक कमेन्टले भरिएका हुन्छन् ।
जब कोही क्वेर समुदायको व्यक्ति आफ्नो पहिचान, उपलब्धि वा अनुभव शेयर गर्छन् धेरैले यसलाई केहीले सकारात्मक रूपमा लिए पनि केहीले अझै पनि नकारात्मक प्रतिक्रियाहरू जनाउँछन् । “यो हाम्रो संस्कारसँग मेल खाँदैन,” वा “यस्ता व्यक्तिहरूले समाजलाई बिगार्छन्,” जस्ता विभेदपूर्ण टिप्पणीहरू बारम्बार देख्न पाइन्छ । यसले क्वेर समुदायका धेरैलाई खुलापनको भावनामा अवरोध पुर्याइरहेको छ । सामाजिक सञ्जालमा आएका यस्ता नकारात्मक प्रतिक्रिया मात्र केही व्यक्तिहरूको विचार नभई, समाजको गहिरो सामूहिक मानसिकतालाई प्रतिबिम्बित गरेको छ ।
हालै मात्र लैङ्गिक अल्पसङ्ख्यको विषयमा आवाज उठाउने ट्रान्सवुमन अभियान्ता रुक्सना कपालीलाई विश्वप्रख्यात टाइम्स म्यागजिनले ‘टाइम १०० नेक्स्ट २०२४’मा छनोट गर्यो । सन् २०२१ देखि लैङ्गिक अधिकारका लागि लडिरहेकी उनले सरकारका विरुद्ध ५० भन्दा बढी मुद्दा दर्ता गरिसकेकी छिन् । उनले सर्वोच्च अदालतमा दायर गरेका २० मुद्दामध्ये अहिलेसम्म एउटा मुद्दामा मात्र फैसला भएको छ । तर पनि यसलाई महत्त्वपूर्ण सफलता मानिएको छ ।
टाइम्स म्यागजिनमा फिचर्ड भएकी कपालीको सफलतालाई लिएर नेपाली सञ्चारमाध्यमहरूले समाचार प्रकाशित गरे । उनीहरूले तयार पारिएका समाचारका अधिकांश कमेन्ट सेक्सन नकारात्मक टिप्पणीले भरिएका छन् । त्यसमध्ये एक फेसबुक पेजको कमेन्ट नियाल्दा कस्तो सम्म नकारात्मक कमेन्ट आएका छन् भन्ने स्पष्ट हुन्छ । यहाँ, यहाँ, यहाँ र यहाँ क्लिक गर्दा कतिसम्मका नकारात्मक कमेन्ट आउँछन् भन्ने प्रष्ट थाहा पाउन सकिन्छ ।
“संसारमा द्विविधामा परिने धेरै कुरा थिए । तर यिनलै आफ्नै लैङ्गिक पहिचान रोजिन्,” लैङ्गिक पहिचानको भद्दा मजाक गर्दै एक सामाजिक सञ्जाल प्रयोगकर्ताले लेखेका छन् । त्यस्तै केहीले लैङ्गिक अल्पसङ्ख्यकलाई मानसिक विकृतिको दर्जा समेत दिएका छन् । “यस्तो प्रचार गर्नेलाई देश निकाला गर्नुपर्छ,” अर्का एक प्रयोगकर्ताले लेखेका छन् । कतिपयले यो नेपालको संस्कार र संस्कृति तथा धर्म विरुद्ध भएको भन्दै आलोचना पनि गरेका छन् । यसरी लैङ्गिक पहिचानको मजाक बनाएका सयौं पोस्ट र कमेन्ट छन् । जसलाई समाचारमा लेख्दा लैङ्गिक अल्पसङ्ख्यक समुदायलाई मर्का पर्छ ।
नकारात्मक कमेन्टको बाढी आउने पोस्टमा सकारात्मक आवाज उठाउँदै ‘म्याथ्यु’ नामका सामाजिक सञ्जाल प्रयोगकर्ता लेख्छन्, “म एलजीबीटीक्यू र मानव अधिकारको समर्थन गर्छु । मैले यहाँका कमेन्टहरू पढें । मान्छेलाई सामान्य ज्ञान छैन र अशिक्षित छन् भन्ने सजिलै बुझें । कृपया सामान्य ज्ञान र शिक्षा अनि विवेक प्रयोग गर्नुहोस् ।”
सामाजिक सञ्जाल इन्स्टाग्राम र टिकटकमा लैङ्गिक अल्पसङ्ख्यकलाई लक्षित गर्दै गरिएका कमेन्ट तमाम् हुन्छन् । यही जमातका कारण लैङ्गिक अल्पसङ्ख्यक समुदायका कन्टेन्ट क्रियटर मारमा परेको सजिलै देख्न सकिन्छ । आफूलाई युवती भनेर चिनाउने टिकटकर निकिशा श्रेष्ठदेखि समलिङ्गी जोडीको पहिचान बनाएका कैयन् जोडिहरू नकारात्मक कमेन्टहरूको जन्जालमा फसेका छन् ।
अल्पसङ्ख्यक समुदायलाई लक्षित गरी हुने विभेद बढ्नुको कारण
“नागरिकहरू राजनीतिक अस्थिरता, बढ्दो भ्रष्टाचार, गुज्रिँदै गरेको देशको आर्थिक अवस्था, सुस्त गतिका विकासका काम देख्दा दिक्क भएका छन्,” पराक्रम भन्छन्, “त्यसबाट दिक्क भएका मान्छे आफ्नो आवेग, रिस, ईर्ष्या पोख्ने ठाउँ खोजिरहेका हुन्छन् । त्यसैले उनीहरू लैङ्गिक अल्पसङ्ख्यकलाई टार्गेट बनाउँछन् ।”
आफूहरूलाई घृणा गर्ने कुनै कारण नभएको भन्दै मान्छेहरू लैङ्गिक अल्पसङ्ख्यकलाई बिना कारण रिस पोख्ने माध्यम बनाइरहेको उनी बताउँछन् ।
पराक्रमको विचारमा काठमाडौं विश्वविद्यालय, अङ्ग्रेजी विभागका प्राध्यापक डा. सिद्धार्थ ढुङ्गाना र समथा साइकोलोजिकल केयर प्रालिकी अध्यक्ष एवं मनोपरामर्शदाता अनिता प्रजापति सहमत छन् ।
डा. ढुङ्गाना भन्छन्, “मान्छे धेरैहरू देशको राजनीतिक अवस्थाका कारण दिक्दार भएका छन् । बढ्दो सामाजिक र आर्थिक परिस्थितिमा आफूलाई प्रतिस्पर्धामा उतार्न सकेका छैनन् । त्यसैको आवेग पोख्न मान्छेहरू सामाजिक सञ्जालमा लैङ्गिक अल्पसङ्ख्यक समुदायलाई लक्षित गर्छन् ।” खासगरी ती समुदायका सफलताको चर्चा भइरहँदा त्यसलाई विरोध गर्न केही व्यक्ति मनोवैज्ञानिक रूपमा नकारात्मक टिप्पणीको सहायता लिने उनी सुनाउँछन् ।
“नकारात्मक कमेन्टहरू आउँदा लैङ्गिक अल्पसङ्ख्यक समुदायको व्यक्ति आफूलाई लुकाउन खोज्छ वा आइसोलेट हुन्छ भन्ने मानसिकले पनि केहीले नकारात्मक कमेन्ट गर्छन्,” मनोपरामर्शदाता प्रजापति भन्छिन्, “त्यस्तै कोहीले लैङ्गिक अल्पसङ्ख्यक समुदायलाई लक्षित गरेर नकारात्मक कमेन्ट गरिरहेको छ भने उसको विचारमा समर्थन जनाउने अरू हुन्छन् जसलाई ग्रुप मेन्टालिटी पनि भनिन्छ । यस्तोमा धेरै व्यक्तिले एउटै नकारात्मक विचारलाई समर्थन गर्छन् र नकारात्मक विचार हाबी बन्छ ।”
त्यसैगरी अर्कालाई दुःख दिएर रमाउने केही जमान हुन्छन् । अरूलाई होच्याउँदा वा तल भएको देखाउन पाए उनीहरूको अन्तरआत्माले शान्ति पाउँछ । उनीहरू रमाउँछन् । त्यसैले पनि तल गिराउन वा आफूभन्दा असफल भएको देखाउन केही व्यक्ति नकारात्मक कमेन्टको सहायता दिने विज्ञहरू बताउँछन् ।
यसरी नकारात्मक विचारले बढावा पाउँदा ती समुदायका व्यक्तिहरूलाई कमजोर अनुभव हुने प्रजापतिको भनाइ छ । उनी अगाडि भन्छिन्, “घर परिवार, साथी, सामाजिक रीतिरिवाजलाई लड्दै एउटा स्थानसम्म पुगेका हुन्छन् त्यसैमा सामाजिक सञ्जालमा विभेद गर्दा वा होच्याउँदा उनीहरूको मनोबल कमजोर हुन्छ ।”
सामाजिक सञ्जालकै कमेन्टले गर्दा लैङ्गिक अल्पसङ्ख्यक समुदाय झनै पछि पर्ने जोखिम !
समाजमा आफ्नो लैङ्गिक पहिचानका लागि सङ्घर्ष गरिरहेका लैङ्गिक अल्पसङ्ख्यक समुदायका लागि सामाजिक सञ्जाल झनै जटिल छ । एक त समाजबाट तृष्णा पाइरहेका हुन्छन् । त्यसैमा आफूलाई खुलाउन उनीहरू सामाजिक सञ्जालको सहयता लिन्छन् । त्यसमा पनि विभेद हुँदा उनीहरू मानसिक रूपमा आकुल हुने मनोपरामर्शदाता प्रजापतीको भनाइ छ ।
“सबैभन्दा पहिले त उनीहरूले आफ्नो लैङ्गिक पहिचानबारे आफैंलाई विश्वस्त बनाउन सङ्घर्ष गरेका हुन्छन् । त्यसपछि परिवार र विस्तारै समाजमा संघर्ष गरिरहेका हुन्छन् । यतिसम्म हुँदा उनीहरू कन्फिडेन्ट हुन्छन् । तर, सामाजिक सञ्जालमा आउनासाथ नकारात्मक कमेन्ट र त्यसैमा आउने विभेदले गर्दा उनीहरूको कन्फिडेन्ट घट्छ र आफूलाई आइसोलेट राख्छन् । यसरी भित्रभित्रै मानसिक रूपमा विक्षिप्त हुँदा डिप्रेसन लगायत अन्य मानसिक रोगको शिकार हुन पुग्छन्,” आफूले परामर्श दिएका केही लैङ्गिक अल्पसङ्ख्यकका व्यक्तिले सामना गरेको घटना स्मरण गर्दै प्रजापति भन्छिन् ।
यसरी लैङ्गिक अल्पसङ्ख्यक व्यक्तिले आफ्नो अभिव्यक्ति स्वतन्त्रताको अधिकार प्रयोग गरिरहँदा अरू व्यक्तिले त्यसैमाथि कथित अभिव्यक्ति स्वतन्त्रता प्रयोग गरी दुर्व्यवहार गरिरहेको देखिन्छ ।
साइबर ब्युरोमा लैङ्गिक अल्पसङ्ख्यकका विषयमा पर्दैनन् उजुरी
पराक्रमले आफ्ना सामाजिक सञ्जालका पोस्टमा आउने नकारात्मक कमेन्ट सोझै डिलिट गर्ने गर्छन् । कहिलेकाही अत्यधिक कमेन्ट आउन थाले भने उनी कमेन्ट गर्ने अप्सन बन्द गर्छन् । यति गर्दा पनि कहिलेकाहीं मेसेजको इनबक्समै पनि गालीको ओहिरो लाग्छ । तर, उनी यी मेसेज र कमेन्टका विषयलाई लिएर कहिल्यै साइबर ब्युरो पुगेनन् । “हामीलाई सहयोग गर्ने थुप्रै संस्थाहरू जस्तै ब्लु डाइमन्ड सोसाइटी, मितिनी नेपाल छन्,” पराक्रम भन्छन्, “केही समस्या परे सरकारी निकायभन्दा पनि तिनै संस्थामा बढी भर लाग्ने भएकाले खासै साइबर ब्युरोमा गईंदैन ।”
सामाजिक सञ्जालमा भएका दुर्व्यवहारका विषयलाई लिएर उजरी दिन जाँदा आफूलाई गाह्रो हुन सक्ने भन्दै लैङ्गिक अल्पसङ्ख्यक व्यक्तिहरू प्रहरी चौकी धाउने दुःख गर्दैनन् । “ट्रान्सवुमन र ट्रान्सम्यानलाई सामाजिक सञ्जालमा बढी दुर्व्यवहार भइरहेको हुन्छ,” पराक्रम भन्छन्, “उपयुक्त नीति तथा कानुनको अभाव छ । तत्कालै न्याय पाउन सकिन्छ भन्ने आशा पनि हुँदैन । त्यसैले धेरै उजुरी नपरेका हुन सक्छन् ।”
साइबर ब्युरोका प्रवक्ता एवम् प्रहरी उपरीक्षक दीपकराज अवस्थिका अनुसार हालसम्म साइबर ब्युरोमा लैङ्गिक अल्पसङ्ख्यक समुदायका कुनै पनि व्यक्तिले कमेन्ट वा सामाजिक सञ्जालमा हुने दुर्व्यवहारका निवेदन दर्ता गराएका छन् । “निवेदन नआएको देख्दा छैनन् भन्ने जस्तो देखिन्छ तर वास्तविकता योभन्दा फरक छ,” प्रहरी उपरीक्षक अवस्थी भन्छन्, “लैङ्गिक अल्पसङ्ख्यक समुदायका व्यक्तिहरूले सामाजिक सञ्जालमा भएका दुर्व्यवहारका विषयलाई लिएर आउनु भएको छैन । तर, सामाजिक सञ्जाल यस्ता थुप्रै घटना भएको देख्न सकिन्छ ।”
सामाजिक सञ्जालमा कुनै पनि किसिमको दुर्व्यवहार अनुभव गरे लैङ्गिक अल्पसङ्ख्यकदेखि आम नागरिकलाई प्रहरी उपरीक्षक अवस्थीले निवेदन दिन अनुरोध गरेका छन् । भन्छन्, “लैङ्गिक अल्पसङ्ख्यक भएकै कारण तपाईं उजुरी दिन आउन डराउनुपर्छ वा लैङ्गिक पहिचान लुकाउनुपर्छ भन्ने हुँदैन । तपाईँहरूलाई आवश्यक सहायता हामी दिन्छौं ।”
नकारात्मक कमेन्ट आउँदैनमा प्लेटफर्म नै प्रयोग गर्न छोड्नु हुँदैन
सामाजिक सञ्जालमा लैङ्गिक अल्पसङ्ख्यकलाई लक्षित गरि आएका नकारात्मक कमेन्ट देखेर प्लेटफर्म नै प्रयोग गर्न छोड्नु नहुने पराक्रम सुनाउँछन् । “कसैले नकारात्मक भन्यो भन्दैमा तपाईं आफू हुन छोड्नु भएन,” उनी थप्छन्, “सामाजिक सञ्जालमा खुल्न सक्नुपर्छ । यदि तपाईंलाई आफ्ना विचार, भनाइ र धारणा राख्नु छ भने तपाईंका लागि यी प्लेटफर्म धेरै महत्त्वपूर्ण हुन्छन् । नकारात्मक कमेन्टबाट डराएर आइसोलेट हुनु हुँदैन ।”
समाज लैङ्गिक अल्पसङ्ख्यकका विषयलाई लिएर अझै पनि सचेत भइसकेको छैन । केहीले विभिन्न अन्धविश्वासलाई आत्मसात गर्दै जानी नजानी लैङ्गिक अल्पसङ्ख्यक समुदायलाई सामाजिक सञ्जालमा बहिष्कार गर्ने वा नकारात्मक कमेन्ट गरेर होच्याउने गरेका हुन्छन् । यसका लागि समाजलाई शिक्षित बनाउनु पर्ने विज्ञहरू बताउँछन् ।
“जसरी सामाजिक विभेद अन्त्य गर्न पाठ्यक्रमको सहायता लिइयो त्यसरी नै सामाजिक सञ्जालमा लैङ्गिक अल्पसङ्ख्यक समुदायमाथि भएको विभेद हटाउन पाठ्यक्रमको सहायता लिनुपर्छ,” डा. ढुङ्गाना भन्छन्, “स-साना सफलताका कथाहरू सामाजिक सञ्जालमा राखेर पनि हामी सचेतना फैलाउन सक्छौं । सरकार र सम्बन्धित निकायले पनि यस विषयलाई गम्भीरतापूर्वक लिनुपर्छ । यसलाई बेवास्ता गर्दा कसैको अधिकार कुण्ठित भइरहेको हुन्छ ।”
नकारात्मक कमेन्ट आउँदैमा प्लेटफर्म नै छोड्नुपर्छ भन्ने हुँदैन । त्यसको सट्टा बरु आफ्नो समुदायका अरू कसैसँग यी कुरा बाँड्न सकिन्छ । वा, कम्युनिटीमै कुरा राख्न सकिने प्रधान सुझाव दिन्छिन् । “हाम्रो कम्युनिटी एकदम स्ट्रङ छ । एकले अर्कालाई समर्थन गर्नुहुन्छ । यस्तोमा सामाजिक सञ्जालमा आएका नकारात्मक टीकाटिप्पणीलाई लिएर कोही निरुत्साहित हुनु पर्दैन । यी कुराहरू समुदायमा राख्दा हल निकाल्न सकिन्छ,” प्रधान थप्छिन् ।
सामाजिक सञ्जाललाई नियमन गर्न कति गाह्रो ?
सामाजिक सञ्जालका प्लेटफर्ममा त्यहाँ अपलोड हुने कन्टेन्टलाई नियमन गर्न एआई बट प्रयोग गरिरहेका हुन्छन् । कसैले कुनै निश्चित वर्गप्रति लक्षित गर्दै नकारात्मक प्रतिक्रिया दिएको छ भने बटले त्यसलाई तत्कालै पहिचान गर्छ र त्यस्तो कमेन्ट गर्ने प्रयोगकर्ताको अकाउन्टमा रेस्ट्रिक्सन लगाउँछ । तर, यस्तो कमेन्ट बटले बुझ्ने भाषाको हुनुपर्छ । नेपालमा कैयौं भाषाहरू बोलिन्छन् ।
नेपाली प्रयोगकर्ताले लैङ्गिक अल्पसङ्ख्यक समुदायलाई लक्षित गर्दै पोस्ट गर्ने दुर्व्यवहारयुक्त कमेन्ट सामाजिक सञ्जाल प्लेटफर्मका बटले नबुझ्ने किसिमको हुन्छ । यसले गर्दा बट आफैले त्यसलाई नियमन गर्न सक्दैन । त्यस्तै रिपोर्ट गरियो भने पनि यो कारणले गर्दा यो शब्द नराम्रो हो भनी प्रष्ट पारेको अवस्थामा पनि सामाजिक सञ्जालका प्लेटफर्मले सधैं सबै अवस्थामा त्यसलाई गम्भीरतापूर्वक लिंदैनन् । त्यस्तोमा लैङ्गिक अल्पसङ्ख्यकलाई लक्षित गर्दै गरिने कमेन्टमा जति रिपोर्ट गरे पनि त्यति असर पर्दैन । कमेन्ट गर्दा केही असर नपरेपछि ती व्यक्तिहरू नकारात्मक कमेन्ट गर्न छोड्दैनन् ।
टिकटकले हालै मात्र नेपालमा कन्टेन्ट क्रियटरलाई लक्षित गर्दै ‘ग्रो विथ टिकटक’ वर्कशप आयोजना गरेको थियो । त्यस क्रममा कम्पनीले ती प्लेटफर्ममा कुनै सीमान्तकृत समुदाय, जातजाति, भाषा वा धर्ममाथि कसैले नकारात्मक रूपमा प्रहार गरेको छ भने प्लेटफर्मले पहिले नै पहिचान गरेर हटाइदिने दाबी टिकटकका प्रतिनिधिले गरेका थिए । त्यसको एग्लोरिदमले पहिचान गर्न नसकेको खण्डमा भने त्यहाँ काम गर्ने कर्मचारीले नियमन गर्ने उनीहरूको भनाइ थियो ।
टिकटकले नेपालमा कार्यालय खोल्ने प्रतिवद्धता जनाएको छ । कार्यालय सञ्चालन गर्दा कम्पनीले नेपालमा बोलिने सबै भाषा बुझ्ने कर्मचारी राख्नुपर्ने हुन्छ । यस्तोमा त्यस प्लेटफर्मले लैङ्गिक अल्पसङ्ख्यक वा सीमान्तकृत समुदायलाई लक्षित गर्दै आएका कन्टेन्ट वा कमेन्ट हटाइदिन सक्छ ।
अन्य सामाजिक सञ्जालका प्लेटफर्म भने तत्काल नेपाल आइहाल्ने अवस्था छैन । यस्तोमा सामाजिक सञ्जाललाई नै यी र यस्तै विषयमा जिम्मेवार बनाउन राज्य सक्रिय हुनुपर्ने जानकारहरूको मत छ ।
सामाजिक सञ्जाल के गरिरहेका छन् ?
एबीसी न्युजका अनुसार सामाजिक सञ्जालमा लैङ्गिक अल्पसङ्ख्यक समुदायले आम नागरिभन्दा बढी अनलाइन दुर्व्यवहारको सामना गरिरहेका छन् । खासगरी घृणा तथा द्वेष फैलाउने, धाक धम्की दिने बढी हुन्छ । एन्टि डिफेमेसन लिगको रिपोर्ट अनुसार लैङ्गिक अल्पसङ्ख्यक समुदायका ६६ प्रतिशत सदस्यले कुनै न कुनै रूपमा सामाजिक सञ्जालमा अनलाइन दुर्व्यवहारको सामना गरेका हुन्छन् ।
त्यस्तै सामाजिक सञ्जालले लैङ्गिक अल्पसङ्ख्यक समुदायका सदस्यले राखेका कन्टेन्ट पनि हटाइदिने गरेको एबीसी न्युजको रिपोर्टले देखाएको छ । हुन त पछिल्लो समय यो विश्वव्यापी समस्या भइरहेको छ । खासगरी सामान्य किसिमको रिपोर्ट आउँदा पनि सामाजिक सञ्जाल प्लेटफर्मको एल्गोरिदमले त्यसलाई हटाइदिने गरेको देखिन्छ । यसबाट लैङ्गिक अल्पसङ्ख्यक समुदायका सदस्य पनि बच्न सकेका छैनन् । त्यसैगरी सामाजिक सञ्जालकै एल्गोरिदमले पनि लैङ्गिक अल्पसङ्ख्यकलाई विभेद गरी उनीहरूका पोस्टको रिच घटाइदिने गरेको मानव अधिकारको एक अनुसन्धानले देखाएको छ ।
नेपालको सन्दर्भमा भने भाषा एकै किसिमको प्रयोग नगरिने र त्यस्ता दुर्व्यवहारका भाषा एल्गोरिदमले नबुझ्ने हुँदा लैङ्गिक अल्पसङ्ख्यकलाई लक्षित गरी आएका नकारात्मक पोस्ट यथावत् रहने सामाजिक सञ्जालका जानकारहरू बताउँछन् ।