काठमाडौं । वैज्ञानिकले ‘इलेक्ट्रोनिक जिब्रो’ तयार पारेका छन् । खानाको गुणस्तर र सुरक्षा पहिचान गर्न वैज्ञानिकले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) समावेश गरी यस्तो जिब्रो तयार पारेका हुन् । यस सम्बन्धी तयार पारिएको विस्तृत अनुसन्धान प्रतिवेदन ९ अक्टोबरमा नेचर जर्नलमा प्रकाशित छ ।
प्रतिवेदनका अनुसार जिब्रो बनाउन वैज्ञानिकले आयोन-सेन्सेटिभ फिल्ड इफेक्ट ट्रान्जिस्टर प्रयोग गरेका छन् । यो त्यस्तो डिभाइस हो, जसले रसायनका आयोनहरू पहिचान गर्न मद्दत गर्छ । यस सेन्सरले तरल पदार्थमा भएको आयोनबाट विभिन्न जानकारी प्राप्त गर्छ । र, त्यही जानकारीलाई इलेक्ट्रिक सिग्नलमा परिणत गर्छ । त्यसपछि कम्प्युटरले उक्त सिग्नल प्रयोग गरेर खाना सडे/नसडेको पहिचान गर्छ ।
“हामी कृत्रिम जिब्रो बनाउने प्रयास गरिरहेका छौं,” पेन स्टेट विश्वविद्यालयका इन्जिनियर तथा अध्ययनका सहलेखक सप्तर्षि दासले एक विज्ञप्तिमा भने, “यसमा विभिन्न खाद्य पदार्थहरूसँग अन्तर्क्रिया गर्ने टेस्ट रिसेप्टरहरू हुन्छन् । र, ती रिसेप्टरहरूले गस्टेटोरी कोर्टेक्स (एक जैविक न्युरल नेटवर्क) मा जानकारी पठाउँछन् ।”
नयाँ प्रणालीमा सेन्सरले जिब्रोको काम गर्छ भने एआईले स्वाद ग्रहण गर्ने मस्तिष्कको भाग गस्टेटोरी कोर्टेक्सको भूमिका खेल्छ । वैज्ञानिकको टोलीले सेन्सरलाई कृत्रिम न्युरल नेटवर्कसँग जोडेको थियो । यो मसिन लर्निङ प्रोग्राम हो । यसले मानव मस्तिष्कले जानकारी कसरी प्रशोधन गर्छ भन्ने नक्कल गर्छ । सेन्सरले सङ्कलन गरेको डेटा प्रशाेधन र त्यसको आधारमा जानकारी दिने काम उक्त न्युरल नेटवर्कले गर्छ ।
सबैभन्दा पहिले दास र उनका सहकर्मीहरूले एसिडिटी पत्ता लगाउन न्युरल नेटवर्कलाई केही सीमित मापदण्डहरू दिए । ती मापदण्डहरूको आधारमा न्युरल नेटवर्कले करिब ९१ प्रतिशत एकुरेसी (शुद्धता)सहित तरल पदार्थको एसिडिटी निर्धारण गरेको प्रतिवेदनमा उल्लेख छ ।
त्यसपछि उनीहरूले कृत्रिम जिब्रोलाई वास्तविक पेय पदार्थमा परीक्षण गरे । उक्त सिस्टमले उस्तै प्रकारका सफ्ट ड्रिङ्क्स वा कफी मिश्रणहरू छुट्याउन सक्यो । त्यसमा पनि दूधमा पानी मिलाइएको छ कि छैन भनेर पत्ता लगाउन, फलफूलको जुस बिग्रिसकेको छ कि छैन भनेर पहिचान गर्न र पानीमा हानिकारक ‘पेर र पोली-फ्लुओरोएल्किल’ पदार्थ (PFAS) पत्ता लगाउन सक्षम भएको पत्ता लगाए ।
यो डिभाइस खाद्य सुरक्षा र गुणस्तर नियन्त्रणमा उपयोगी हुने अपेक्षा गरिएको छ ।