close

स्मार्टफोनबाट ईभी उद्योगमा विस्तार हुँदै साओमी

टेकपाना टेकपाना

कात्तिक ७, २०८१ २१:११

स्मार्टफोनबाट ईभी उद्योगमा विस्तार हुँदै साओमी

काठमाडौं । स्मार्टफोन उत्पादनमा चर्चित चिनियाँ कम्पनी साओमी पछिल्लो समय विद्युतीय सवारी (ईभी) उद्योगतर्फ अग्रसर भइरहेको छ । कम्पनीले सन् २०२५ को मध्यसम्म आफ्नो बेइजिङस्थित कारखानाको विस्तार गर्ने योजना बनाएको  छ । ईभी बजारमा आफ्नो उपस्थिति मजबुत बनाउन कम्पनीले यस्तो कदम चालेको हो ।

स्मार्टफोन सेगमेन्टमा पाएको सफलताको आधारमा कम्पनीले ईभी व्यवसायमा आफ्नो ध्यान केन्द्रित गरेको छ ।  समाचार एजेन्सी ​रोयटर्सका अनुसार साओमीले आगामी जुन १५ सम्ममा ईभी उद्योग विस्तारको काम सक्नेछ । निर्धारित समयभित्र काम पूरा गर्नसक्ने गरी कम्पनीका कामदारहरू अतिरिक्त समयमा पनि काम गरिरहेको बताइएको छ ।

साओमीले सन् २०२१ मा बेइजिङको यिज्वाङमा आफ्नो पहिलो ईभी उद्योग स्थापना गरेको थियो । यो उद्योग स्मार्टफोन उत्पादनसँगै ईभी उत्पादनमा पनि कम्पनीको उपस्थिति विस्तार गर्ने उद्देश्यले स्थापना गरिएको थियो ।

साओमीले हालसम्म एसयु-७ नामक इलेक्ट्रिक सेडानको उत्पादन गरिसकेको छ । यो मोडेलले चीनमा राम्रो प्रतिक्रिया प्राप्त गरिरहेको छ । कम्पनीका अनुसार हालसम्म ७० हजार बढी युनिट बिक्री भइसकेको छ । कम्पनीले यसलाई टेस्ला तथा पोर्शको प्रतिस्पर्धीको रूपमा हेरिरहेको छ । हाल चीनमा मात्र उपलब्ध यस ईभी विश्व बजारमा पनि छिट्टै प्रवेश गर्ने अनुमान छ ।

यसका साथै साओमीले आगामी वर्षमा नयाँ मोडलहरू पनि सार्वजनिक गर्ने योजना बनाएको छ । ​ईभी उद्योगमा साओमीले गरिरहेको लगानीले विश्वव्यापी रूपमा हरित प्रविधि र दिगो ऊर्जामा प्रगति गर्न थप सहयोग पुग्ने विश्लेषण गरिएको छ ।

पछिल्लो अध्यावधिक: कात्तिक ७, २०८१ २१:१६