close

अनलाइनमा पुरुषभन्दा महिला बढी समय बिताउँछन्: अध्ययन

टेकपाना टेकपाना

मंसिर १४, २०८१ १६:२७

अनलाइनमा पुरुषभन्दा महिला बढी समय बिताउँछन्: अध्ययन

काठमाडौं । हालैको एक अध्ययनले पुरुषभन्दा महिला अनलाइनमा बढी समय बिताउने गरेको देखाएको छ । बेलायतको दूरसञ्चार नियामक संस्था अफकमको अनलाइन नेसन रिपोर्टले यस्तो तथ्य प्रस्तुत गरेको हो ।

रिपोर्ट अनुसार वयस्क महिलाहरूले दैनिक रूपमा पुरुषभन्दा ३३ मिनेट बढी समय अनलाइनमा बिताउने गर्छन् । यो अन्तर १८ देखि २४ वर्षका युवाहरूबीच अझ धेरै देखिएको छ । यस उमेर समूहमा महिलाहरूले पुरुषभन्दा औसतमा एक घण्टाभन्दा बढी अनलाइनमा बिताउने देखिएको हो ।

बेलायतमा सीमित उक्त सर्वेक्षण अनुसार अनलाइनमा रहँदा किशोरीहरू यौनजन्य सामग्री, महिला विरोधी सामग्री, हिंसात्मक सामग्रीप्रति बढी चिन्तित देखिन्छन् । यता पुरुषहरू भने गलत सूचना, ठगी र घृणायुक्त सामग्रीबाट समस्यामा परिरहेको देखिएको छ ।

त्यस्तै महिलाहरूले अनलाइनमा स्वास्थ्य र जीवनशैलीसँग सम्बन्धित वेबसाइटमा बढी समय बिताउँदा पुरुषहरूले जेनेरेटिभ एआई टुल्स प्रयोग गर्ने तथा अश्लील साइटहरूमा बढी पहुँच लिने समेत पाइएको छ ।

पछिल्लो अध्यावधिक: मंसिर १४, २०८१ १६:३१