close

लरेन्स विश्नोईको नाम लिई नेपाली व्यापारीलाई फोन मार्फत धम्की दिने व्यक्ति पक्राउ

टेकपाना टेकपाना

मंसिर १४, २०८१ १७:१६

लरेन्स विश्नोईको नाम लिई नेपाली व्यापारीलाई फोन मार्फत धम्की दिने व्यक्ति पक्राउ

 

काठमाडौं । कुख्यात भारतीय गुण्डा नाइके लरेन्स विश्वोईको नाम लिएर फोनबाट विभिन्न व्यक्तिहरूलाई धम्की दिएको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा झापा मेचीनगर नगरपालिका-१३ आरचाली बस्ने ३६ वर्षीय हिचन्द्र फुयाल रहेका छन् । 

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)बाट खटिएको टोलीले फुयाललाई बिहीबार झापाबाट नियन्त्रणमा लिएको हो ।

सीआईबीका अनुसार फुयाल नेपालमा व्यवसाय गरिरहेका विभिन्न व्यापारीलाई भारतीय नम्बरबाट फोन कल तथा मेसेज गर्दै आफू भारतीय आपराधिक समूह लरेन्स बिश्नोइको सदस्य भएको बताउँथे । र, फोन सम्पर्कमा आएका व्यापारीलाई मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग तुरुन्त माफी माग्न धम्की दिन्थे । माफी नमागेको खण्डमा ज्यान समेत लिने धम्की दिन्थे । यसरी नेपाली व्यापारीलाई आतङ्कित पारी आपराधिक लाभ लिन खोजेको पाइएपछि सीआईबीले फुयाललाई नियन्त्रणमा लिएको हो । 

सीआईबीको प्रारम्भिक अनुसन्धानका क्रममा फुयालले आफूले यो काम दुर्गा प्रसाईंको निर्देशनमा गरेको बताएका छन् । एक अनुसन्धान अधिकारीका अनुसार यसअघि पनि फुयाल विभिन्न कसुरमा संलग्न रहेका थिए । 

पक्राउ परेका फुयालबाट भिभो र रेड्मी ब्रान्डका दुई ओटा फोन बरामद गरिएको छ । उनीमाथि थप अनुसन्धान भइरहेको ब्युरोले जनाएको छ ।

पछिल्लो अध्यावधिक: मंसिर १४, २०८१ १७:१६