काठमाडौं । तालिम दिने विज्ञ व्यक्ति नपाउँदा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले दक्षिण कोरियाली सरकारबाट प्राप्त दृष्टि विहीन व्यक्तिहरूका लागि बनाइएको आधुनिक डिभाइस तीन वर्षदेखि थन्क्याएर राखेको पाइएको छ । लाखौँ रुपैयाँ पर्ने आधा दर्जन बढी त्यस्ता डिभाइस नास्टले आइतबारदेखि मात्रै प्रयोगमा ल्याएको हो ।
नास्टका आईटी प्रमुख प्रदीप ढोडारीका अनुसार कोरिया सरकारको नेसनल इन्फर्मेसन सोसाइटी एजेन्सी (एनआईए)को सहयोगमा तयार पारिएको इन्फर्मेसन एक्सेस सेन्टर (आईएसी) का लागि कोरिया सरकारले सन् २०२१ मा नै त्यस्ता डिभाइस उपलब्ध गराएको थियो । जसमा इलेक्ट्रोनिक्स टेक्स्ट टु ब्रेल- ब्रेल टु इलेक्ट्रोनिक्स टेक्स्ट रूपान्तरण गर्ने ट्याब्लेट, म्याग्निफायर, बुक रिडर, ओसीआर मसिन लगायतका डिभाइस रहेका छन् ।
यी डिभाइसहरूले दृष्टि विहीन व्यक्तिहरूलाई दैनिक जीवनमा निकै सहयोग गर्छन् । तर तालिम दिने विज्ञ मान्छे नभेटिँदा तीन वर्षसम्म डिभाइसहरू थन्किएको नास्टका प्रवक्ता डा. सुरेशकुमार ढुङ्गेलले बताए । उनका अनुसार डिभाइस हस्तान्तरण गर्ने काम कोरोनाकालमा भएकाले पनि तिनलाई प्रयोगमा ल्याउने कार्यमा असर परेको हो ।
“डिभाइसहरू कोरोनाकालमा नै हस्तान्तरण भएका थिए । त्यस बेला तालिम सम्भव थिएन । त्यस माथि नास्टसँग ती डिभाइस चलाएर तालिम दिन सक्ने कर्मचारी पनि भएनन्,” उनले भने, “हामीले त्यस्ता दक्ष व्यक्तिहरू खोजिरहेका थियौँ । त्यही क्रममा ब्राइट स्टार सोसाइटी नामक संस्थासँग हाम्रो सम्पर्क भयो । गत वर्ष नै सम्पर्क भए पनि दुवै संस्थाको समय नमिलेका कारण अहिले मात्रै डिभाइस प्रयोगमा आएका हन् ।”
ब्राइट स्टार सोसाइटीका सहसंस्थापक सुशील अधिकारीका अनुसार यस प्रकारका डिभाइस नेपालमै पहिलो पटक आएका हुन् । उनका अनुसार यी डिभाइस नेपालमा समेत पाइँदैनन् ।
“यी डिभाइसहरू अलि महङ्गो पर्छन् । एउटा ट्याब्लेटलाई नै पाँच/छ लाख रुपैयाँसम्म पर्छ । यस कारण धेरैले किन्न सक्नु हुन्न । त्यही भएर नेपालमा यस्ता डिभाइस अहिलेसम्म कसैले प्रयोग गर्नु भएको छैन,” उनले भने ।
नास्टका प्रवक्ता डा. ढुङ्गेलले समेत ती डिभाइस नेपालमा नपाएर सोझै कोरियाबाट ल्याइएको बताए । यत्रो समयदेखि सेन्टरमा थन्किएर बसेका डिभाइसको जानकारी तथा सञ्चालन सम्बन्धका लागि नास्टले आइतबार मात्रै एक कार्यशाला आयोजना गरेको थियो ।
कार्यशालामा ब्राइट स्टार सोसाइटीका प्रशिक्षकहरूले विभिन्न सङ्घ संस्थाबाट आएका २३ जना दृष्टि विहीनहरूलाई तालिम दिइएका थिए । अब उनीहरूले आफूलाई आवश्यक परे व्यक्तिगत रूपमा डिभाइस लिन सक्ने अधिकारीको भनाई छ ।
अब भने नास्टलाई सहयोगार्थ उपलब्ध यी डिभाइसहरूलाई सकेसम्म उपयोग गर्ने नास्टका प्रवक्ता डा. ढुङ्गेलले बताए । उनका अनुसार प्रयोग गर्न उपलब्ध गराइएकाले अबको दिनमा चार जना वा सो भन्दा बढी दृष्टि विहीन व्यक्तिहरू आए डिभाइस प्रयोगबारे नास्टले नै तालिमको जोहो गर्ने छ ।
तर डिभाइसहरू कम भएकाले एकै समय धेरै जनालाई तालिम दिन भने नसकिने बताइएको छ । यो समस्याको समाधानका लागि थप डिभाइसहरू सहयोग स्वरूप उपलब्ध गराउन कोरिया सरकार समक्ष नास्टले प्रस्ताव पठाउने तयारी गरिरहेको प्रवक्ता ढुङ्गेलको भनाइ छ ।