काठमाडौं । एक व्यक्ति, त्यो पनि एक्लैले अमेरिकाजस्तो सुपरपावर राष्ट्रलाई एकै दिनमा तारा देखाइदिए ! यी व्यक्तिले सन् २०१३ मा अमेरिकाको २० लाखभन्दा बढी गोप्य कागजात चोरी गरेर ती विश्वसामु सार्वजनिक गरिदिए । त्यही दिन अर्थात् ११ वर्षदखि उनी अमेरिकाको मस्ट वान्टेड अपराधी बनेका छन् । तर, अमेरिकी सरकारलाई यति ठूलो नोक्सानी गराउँदा समेत यी व्यक्तिलाई संसारले हिरोको दृष्टिले हेर्छ ।
तर किन ? विश्वकै शीर्ष गोप्य एजेन्सीका डकुमेन्ट यी व्यक्तिले कसरी चोरी गरे ? चोरेर किन लिक गरे ? लिक गर्नका लागि के कस्ता माध्यम प्रयोग गरे ? यो प्रविधिसँग कसरी जोडिन्छ ? अनि यी सबैका बावजुद पनि अमेरिकाको गिरफ्तारीबाट यी कसरी बच्न सफल भए ? सबैभन्दा मुख्य प्रश्न यी व्यक्ति हुन् चाहिँ को ?
६ जुन २०१३ को बिहानले अमेरिकी सरकारलाई ठूलो समस्या ल्याएर आयो । त्यो बिहान ‘द गार्डियन’ र ‘द वाशिङ्टन पोस्ट’ जस्ता प्रतिष्ठित सञ्चार माध्यममा समाचारको श्रृङ्खला प्रकाशित भयो । ती समाचारमा एनएसए (नेसनल सेक्युरिटी एजेन्सी) का गोप्य डकुमेन्टको विवरण थियो । यी डकुमेन्टले अमेरिकी नागरिकलाई मात्र नभई संसारभरका मोबाइल प्रयोगकर्तालाई पनि स्तब्ध बनाएका थिए । यी डकुमेन्टबाट ‘अमेरिकी सरकारले चुपचाप प्रत्येक मोबाइल प्रयोगकर्तामाथि निगरानी गरिरहेको छ’ भन्ने देखाएको थियो । एनएसएका गोप्य कार्यक्रम ‘प्रिज्म’लाई ती डकुमेन्टमार्फत बाहिर ल्याइएको थियो । यो घटना एक व्यक्तिको साहसिक कदम र त्यसको प्रभावको कथा हो ।
‘प्रिज्म’ एउटा यस्तो गोप्य कार्यक्रम हो, जसले अमेरिकी सरकारलाई गुगल, फेसबुक र एप्पल जस्ता कम्पनीको माध्यमबाट पछिल्लो ढोकाबाट कुनै पनि प्रयोगकर्ताको व्यक्तिगत डेटासम्म पहुँच दिन्थ्यो । यसबाहेक उनीहरूसँग एक गोप्य कोड अर्डर थियो, जसका माध्यमबाट उनीहरूले लाखौं भराइजन (Verizon) ग्राहकको डेटा पनि एक्सेस गर्न सक्थे । भराइजन अमेरिकी मोबाइल सेवा प्रदायक हो । जस्तो नेपालमा नेपाल टेलिकम र एनसेल छन् । फेरि लिक गरिएका डकुमेन्टमा राष्ट्रपति ओबामाद्वारा लेखिएको १८ पृष्ठ लामो मेमो पनि समावेश थियो ।
यसमा ओबामाले इन्टेलिजेन्स अफिसरसँग विदेशी टार्गेटको लिस्ट मागेका थिए । जसमा साइबर आक्रमण गर्नुपर्ने थियो । र, यो त लिक भएका डकुमेन्टको सुरुवात मात्रै थियो । नेसनल सेक्युरिटी एजेन्सी (एनएसए)ले हङकङ र चीनको सेनाका कम्प्युटरहरू ह्याक गर्यो । जर्मनीकी चान्सलर एन्जेला मर्केलको फोन ट्याप गर्यो । ब्रिटिश सरकारको कम्युनिकेसन मुख्यालय (GCHQ) आफ्ना नागरिकहरूलाई निगरानी गर्नका लागि एउटा कार्यक्रम सञ्चालन गरिरहेको थियो । लिक भएका डकुमेन्टमा एनएसए र जीसीएचक्यू (GCHQ) बीचको संवाद पनि सार्वजनिक भएको थियो । यसमा यी निकाय कसरी जनतालाई धोका दिने, प्रोपेगान्डा फैलाउने र सामाजिक सञ्जालमार्फत प्रभाव पार्ने उपाय खोज्दै थिए भन्ने उल्लेख थियो ।
सुरुमा यी डकुमेन्ट कसले लिक गर्यो र के यी डकुमेन्टमा कतिको सत्यता छ भन्ने कसैलाई थाहा थिएन । किनभने समाचार एजेन्सीले समाचारमा यी डकुमेन्टको स्रोत गोप्य राखेका थिए । तर, तीन दिनपछि एक व्यक्तिले यी गोप्य डकुमेन्ट लिक गरेको जिम्मेवारी लिन्छन् ।
ती व्यक्ति थिए २९ वर्षीय एडवर्ड स्नोडेन । उनी हाई स्कुल ड्रपआउट विद्यार्थी थिए । एडवर्डले आफ्नो करियरको सुरुवात अमेरिकी सेनाबाट गरे । तर, एक वर्षमा त्यहाँबाट डिस्चार्ज भएपछि सन् २००५ मा मेरील्याण्ड विश्वविद्यालयमा सुरक्षा गार्डको रूपमा काम गर्न थाले । एडवर्ड स्नोडेन पठनपाठनमा औसत भए पनि उनको कम्प्युटर सीप यति उत्कृष्ट थियो कि त्यसले गर्दा सेन्ट्रल इन्टेलिजेन्स एजेन्सी (सीआईए)को ध्यान उनीतर्फ मोडियो । सीआईएमा केही वर्ष बिताएपछि सन् २००९ मा अमेरिकी प्रविधि कम्पनी डेलले उनलाई नियुक्त गरेको थियो । डेलसँग त्यो समय नेसनल सेक्युरिटी एजेन्सीका कम्प्युटर सिस्टम अपग्रेड गर्ने ठेक्का थियो । एडवर्डलाई पनि यही परियोजनामा खटाइयो ।
सबैभन्दा पहिले एडवर्ड स्नोडेनको भूमिका सुपरभाइजरको थियो । पछि उनी साइबर रणनीतिकार (Cyber Strategist) बने । त्यसबेलासम्म एडवर्ड सीआईए र एनएसएका लागि हिरो नै मानिन्थे । तर, त्यस्तो के भयो जसका कारण उसलाई ती संस्थाहरूले गद्दार घोषणा गरे ?
वास्तवमा एडवर्डलाई गद्दारको लाञ्छना लाग्ने घटना एनएसएको कम्प्युटर अपरेट र अपग्रेड गर्ने क्रममा भयो । काम गर्दै गर्दा एडवर्डलाई नेसनल सेक्युरिटी एजेन्सी (एनएसए)सँग कुनै पनि मोबाइल प्रयोगकर्ताको व्यक्तिगत डेटा पहुँच गर्ने क्षमता छ भन्ने थाहा भयो । सबैभन्दा पहिले उनले केही रेकर्डहरू देखे । एडवर्डलाई ती रेकर्ड अन्तर्राष्ट्रिय अपराधीको हुन सक्छन् भन्ने लाग्यो । तर, वास्तविकता फरक थियो । ती रेकर्डहरू कुनै अपराधीका नभई अमेरिकाकाका नागरिकको थियो ।
यही बीचमा अमेरिकी कांग्रेसमा खुफिया एजेन्सीका गतिविधिबारे बहस चलिरहेको थियो । अमेरिकी राजनीतिज्ञ रोन वाइडनले सार्वजनिक रूपमा एनएसएका निर्देशक जेम्स क्लेपरलाई सोधेका थिए, “तपाईंको एजेन्सीले अमेरिकी नागरिकहरूको डेटा संकलन गर्छ या गर्दैन ?” यो सत्र राष्ट्रिय टेलिभिजनमा प्रत्यक्ष प्रसारण भइरहेको थियो ।
जेम्स क्लेपरले करोडौं दर्शकमाझ जवाफ दिए, “हाम्रो काम केवल विदेशी खुफिया (Foreign Intelligence) संकलन गर्नु हो ।” एडवर्डले यो जवाफ टेलिभिजनमा देखे । त्यहाँ उनका निर्देशक स्पष्ट रूपमा झुट बोलिरहेका थिए । यसले एडवर्डलाई गहिरो धक्का पुर्यायो । त्यसबाहेक उनले पहिले नै यस विषयमा नैतिक प्रश्न उठाएका थिए । तर, उनको गुनासो कसैले सुनेको थिएन । क्लेपरले अन्तर्वार्ता दिएको तीन दिनपछि एडवर्डले डेलको जागिर छोडे । त्यस कम्पनीबाट उनी वार्षिक दुई लाख डलर कमाइरहेका थिए ।
सन् २०१३ मा एडवर्डले डेल छोडेर बुज एलेन ह्यामिल्टन नामक कम्पनीमा काम गर्न थाले । यो कम्पनी अमेरिकी सेनाको सीआईए र एनएसएका लागि काम गर्थ्यो । बुज एलेनमा पनि एडवर्डलाई एनएसएको एक प्रोजेक्टमा खटाइयो । एनएसएका अनुसार एडवर्डले उनीहरूको सिस्टमबाट यति धेरै फाइल चोरेका थिए कि, तिनको सङ्ख्या २० लाख भन्दा बढी हुन सक्ने अनुमान छ । ती सबै फाइलहरू ट्र्याक गर्न पनि गाह्रो भइरहेको एसएसएले बताएको थियो ।
तर, एडवर्डले यस्तो के गरे जसले गर्दा उनी कुनै पनि हल्ला नचलाइ एनएसएका टप-सिक्रेट फाइल कपी गरेर लैजान सफल भए ? आश्चर्यको कुरा त के छ भने यो काम उनले कुनै जटिल ह्याकिङ टुलको प्रयोग बिनै केवल एउटा सानो यूएसबी ड्राइभको प्रयोग गरेर गरेका थिए ।
तर, यो सम्भव कसरी भयो ? किनभने सामान्य कार्यालयहरूमा नै डेटा चोरीको डरले यूएसबी ड्राइभको प्रयोगमा प्रतिबन्ध लगाइएको हुन्छ । त्यसमाथि संवेदनशील डेटा भएका कम्पनीका सिस्टममा प्रत्येक कर्मचारीलाई डेटा एक्सेस गर्ने अधिकार हुँदैन । एनएसएका कम्प्युटर त अझै उच्चस्तरको सुरक्षा भएका थिए । यसलाई तोड्न असम्भव मानिन्थ्यो ।
एडवर्ड स्नोडेनको योजना
यो काम सफल बनाउन एडवर्डले पहिले भाग्ने योजना बनाए । र आफ्नो लोकेसनको फाइदा उठायो । उनलाई बुज एलेन हेमिल्टनले एनएसएका प्रोजेक्टका लागि नियुक्त गरेको थियो । त्यसैले उनलाई एनएसएको म्यारील्याण्ड मुख्यालयबाट पाँच हजार माइल टाढा एनएसए हवाईमा खटाइएको थियो ।
हवाई म्यारील्याण्डभन्दा ६ घण्टा पछाडि छ । यसको अर्थ एडवर्ड हवाईको कार्यालयमा काम गरिरहेको बेला एनएसए मुख्यालयका कर्मचारीहरू घर गइसकेका हुन्थे । उनी एनएसएको मुख्यालयका सर्भरहरूमा ‘थिन क्लाइन्ट सिस्टम’मार्फत एक्सेस पाउन सक्थे । पुरानो र कमजोर सिस्टमका कारण एडवार्डलाई यस्तो गर्न सम्भव भएको थियो । एडवर्ड आफैं सिस्टम एडमिनिस्ट्रेटर भएकाले उनको प्रोफाइलमा उच्च सुरक्षा क्लियरन्स थियो । यसले उनलाई अरूभन्दा धेरै अधिकार दिएको थियो । यसले गर्दा उनी कसैको नजरमा नपरी सिस्टमबाट डेटा कपी गर्न सक्थे ।
एडवर्डले यी सबै फाइदाहरूको उपयोग गरे । र, पाँच हजार माइल टाढा बसेरै उनले २० हजार भन्दा बढी फाइलहरू कपी गर्यो । हवाई कार्यालयमा केवल चार हप्ता काम गरेपछि एडवर्डले एनएसएका गोप्य गतिविधिलाई सार्वजनिक गर्ने निर्णय गरे । सबै फाइल उनले एउटा यूएसबी ड्राइभमा कपी गरे ।
त्यसपछि चलाखीपूर्वक सुरक्षागार्डबाट लुकाउँदै त्यो ड्राइभ बाहिर ल्याए ।
आफ्नो कामलाई अन्तिम रूप दिन एडवर्डले बिरामीको बहाना बनाएर विदा लिए । उनले आफ्नो फोन अफ गरे अनि सिधै हवाईबाट हङकङ गए ।
तर, केही दिनसम्म उनी कार्यालय फर्किएनन् । त्यसबाहेक उनको फोन पनि अफ थियो । यसबाट एनएसएलाई एडवर्डको व्यवहारमा शंका लाग्यो । त्यसपछि एनएसएले उनलाई पत्ता लगाउने प्रयास गर्न थाल्यो ।
हङकङ पुगेपछि एडवर्डले केही विश्वसनीय पत्रकारहरूसँग भेटघाट गरे । उनले ती पत्रकारलाई लिक गरेका गोप्य डकुमेन्ट हस्तान्तरण गरे । र, तीनै डकुमेन्ट भोलिपल्टै विश्वभरका समाचारको प्रमुख हेडलाइन बने।
एडवर्डले लिक गरेका डकुमेन्टले एनएसएको गोप्य शक्तिबारे विश्वभर नयाँ बहस सुरु गराइदियो । ती डकुमेन्टमा अमेरिकाको नेसनल सेक्युरिटी एजेन्सीले कसरी गोप्य तरिकाले मानिसहरूको व्यक्तिगत जानकारीमा पहुँच राखेको थियो भन्ने देखाएको थियो ।
एडवर्डमाथि सरकारी सम्पत्ति चोरी, नेसनल सेक्युरिटी प्रणालीमा अनधिकृत रूपमा प्रवेश र गोप्य जानकारीलाई अनाधिकारिक व्यक्तिसम्म पुर्याएको आरोप लगाइयो । अमेरिकी सरकारले एडवर्डलाई देशमा फर्काइदिन हङकङलाई अनुरोध गर्यो । तर, एडवर्डले आफ्नो प्रत्येक कदम पहिले नै योजनाबद्ध तरिकाले बनाएका थिए ।
अमेरिकी सरकारको माग अघि आउनुअघि नै एडवर्ड विमान चढेर रुसतर्फ उडे । रुसले प्रारम्भमा उनलाई शरण दियो । पछि सेप्टेम्बर २०२२ मा राष्ट्रपति भ्लामिदिर पुटिनले एडवर्डलाई रुसी नागरिकता प्रदान गरे ।
त्यसबेलादेखि एडवर्ड स्नोडेनले धेरै अन्तर्वार्ता दिइसकेका छन् । यी अन्तरवार्तामा उनले आफ्नो कदमको कारण, उद्देश्य र यसको प्रभावबारे चर्चा गरेको छन् । हाम्रो फोनले नै हामीमाथि कसरी जासुसी गरिरहेको हुन्छ भन्ने विषय बाहिर ल्याए । उनले नोजी स्पर्फ नामक टुलले कसरी हाम्रो फोनको माइक्रोफोनको एक्सेस सुरक्षा एजेन्सीलाई दिन्छ भन्ने खुलाए ।
केही व्यक्ति एडवार्डलाई गद्दार सम्झिन्छन् । केही व्यक्ति भने एनएसएको वास्तविक चरित्र सतहमा ल्याइदिएको भन्दै एडवर्डलाई हिरोको रूपमा हेर्छन् । उनी तीनै व्यक्ति हुन् जसले ओपनएआईमाथि विश्वास नगर्न अनुरोध गर्दै आएका छन् । खासगरी एनएसएका पूर्व निर्देशक बोर्डमा नियुक्त भएपछि उनले यस्तो प्रतिक्रिया दिएका थिए ।