काठमाडौं । दुई वर्षअघिको कुरा हो । त्यतिबेला पोखराका १२ वर्षीय आयुष जीसी (घर्ती क्षेत्री) कक्षा ७ मा पढिरहेका थिए । कोभिड महामारी लगभग सकिन लागेको थियो । कोभिडले आक्रान्त पारेको विश्व परिवेश क्रमशः अनलाइन प्रणालीलाई आत्मसात गरिरहेको थियो । त्यसमा प्रविधिलाई सबैभन्दा बढी अपनाउनेमध्ये एक हो, शिक्षा क्षेत्र । नेपालमा पनि निजी स्तरका अधिकांश विद्यालयले अनलाइन प्रणाली सुरु गरेका थिए ।
तर, आयुषको घरमा कम्प्युटर थिएन । एसईई सकेकी उनकी दिदीलाई कम्प्युटरको आवश्यकता महसुस भएपछि पोर्चुगल रहेका आयुषका बुबाआमाले ल्यापटप पठाइदिए । तर, आयुषकी दिदीलाई ल्यापटपमा पढ्न खासै रुचि जागेन । त्यसैले दिदीले प्रयोग नगरेको ल्यापटप आयुषको हातमा आइपुग्यो ।
विद्यालयमा कम्प्युटरका आधारभूत पक्ष शिक्षकबाट सिक्दै आयुषले ल्यापटपको सही उपयोग गर्न थाले । घरमा बसेर त्यही ल्यापटपमा धेरै अभ्यास गरेपछि उनी कम्प्युटरका आधारभूत पक्षबारे पोख्त भए ।
कम्प्युटर प्रयोग गर्न थालेको समयदेखि नै आयुषलाई त्यसले कसरी काम गर्छ भन्नेमा विशेष रुचि थियो । त्यसमध्ये पनि उनलाई अनलाइन कक्षा पढ्न प्रयोग गरिने ‘वेद’ एपले कसरी काम गर्छ भन्ने जिज्ञासाले सताउन थालेको थियो । त्यस एपको भित्री संरचना र यसको कार्यप्रणालीलाई बुझ्ने उनको उत्सुकता झन् गहिरिंदै गयो ।
“वेद एपमा सरहरूले होमवर्क दिन मिल्ने, सबैको होमवर्क हेर्न मिल्ने र अन्य धेरै फिचरको एक्सेस पाएको देखेको थिएँ,” सुरुवाती दिन सम्झिंदै आयुष भन्छन्, “सरहरूले त्यही फिचर प्रयोग गर्न पाउने, अनि हामीले चाहिं किन नपाएका होला भन्ने जिज्ञासा लाग्यो । अनि खोज्दै गएपछि सरहरूलाई एड्मिन एक्सेस दिइएकाले उहाँहरूले बढी फिचर प्रयोग गर्न पाएको पत्ता लगाएँ ।”
उनलाई पनि त्यसरी सबै एक्सेस पाउन मन लाग्यो । सरहरूले सबैको होमवर्कको एक्सेस पाउने, आफूहरूले भने किन नपाएको होला भन्ने जिज्ञासाले सताउन थालेपछि उनले त्यस्तै एक्सेस पाउन युट्युब नियाल्न थाले । त्यसका लागि ‘हाउ टु ह्याक एप’ भनेर युट्युबमा सर्च गर्न थाले । उनले एपको एक्सेस पाउन डेटाबेसबाट टोकन पाउनुपर्ने भन्ने थाहा भयो । यो एक्सेस पाउन उनले सोचेको जस्तो सजिलो भने थिएन ।
यसरी उनलाई वेद एपले नै सूचना तथा प्रविधि क्षेत्रतर्फ रुचि बढायो । उनले जस्तो किसिमको एक्सेस पाउन खोजेका थिए त्यसका लागि उनले फ्रन्टइन्ड र ब्याकइन्डको संरचना, अथेन्टिकेसन र अथोराइजेसनको काम जान्नुपर्ने रहेछ भन्ने बुझे र सिक्न थाले ।
आयुषका अनुसार सुरुवाती समयमै उनले एचटीएमएल र सीएसएसबारे जानिसकेका थिए । अब उनले जाभाबारे सिक्नुपर्ने थियो । त्यसका लागि सयौं युट्युबका ट्युटोरियल हेरे । र, सामान्य स्तरको वेबसाइट बनाउन जाने । उनी सम्झिन्छन्, “कक्षा ७ को अन्तिमतिर मैले सबै ल्याङ्ग्वेज प्रयोग गरेर आफ्नै पोर्टफोलियो वेबसाइट बनाएको थिएँ ।” उनले उक्त वेबसाइट आफ्ना शिक्षकलाई देखाए । आयुषको वेबसाइट देखेर दङ्ग भएका शिक्षकले उनलाई त्यही क्षेत्रमा लाग्न प्रेरित गरे । र, उनी पढ्ने प्रगति सेकेन्डरी स्कुलको ‘प्रगति आईटी सोसाइटी’को सदस्य भए । तर, कक्षा क्लबलाई नेतृत्व गरिरहेका युवकले एसईई सकेपछि विद्यालय छोडे । र, उक्त क्लब बेवारिस बन्यो ।
कक्षा ८ र आईटी पढाइसँगै आम्दानीको बाटो
कक्षा ७ पछि कक्षा आठको पढाइ सुरु भयो । पहिलेजस्तो अनलाइनबाट कक्षा लिने प्रवृत्ति घट्दै गयो । विद्यालयहरू कोभिड अघिकै शैलीबाट सञ्चालन हुन थाले । र, विद्यार्थीहरू भौतिक रूपमा कक्षामा उपस्थित भएर अध्ययन गर्न थाले ।
कोभिड महामारीको समयमा विद्यार्थीहरू अनलाइन गेममा अभ्यस्त हुन थालेका थिए । भर्चुअल संसारमा सबै सँगै भएर खेल्न मिल्ने मल्टिप्लेयर गेम जस्तै पब्जी र फ्रिफायर पनि उत्तिकै चर्चित भए । त्यसको प्रभाव विद्यालयका विद्यार्थीमा पनि पर्यो ।
आयुषकका कक्षाका साथीहरू फ्रिफायरमा टपअप गर्ने कुरा गरिरहेका हुन्थे । टपअप गर्नकै लागि उनीहरू लामाचौरबाट महेन्द्रपुल आउने गर्थे । उनले यसलाई सहज बनाउने बाटो खोज्न थाले । र, आमालाई पेपाल अकाउन्ट बनाइदिन अनुरोध गरे ।
“केटाहरूलाई फ्रिफायरको लत लागेको थियो । उनीहरू यूसी टपअप गर्नकै लागि महेन्द्रपुलसम्म पुग्थे । मैले यसलाई कसरी सजिलो बनाउन सकिन्छ भन्ने खोज्न थालें,” उनी भन्छन् ।
आमाले पेपाल अकाउन्ट बनाइदिएपछि आयुषले त्यसैको प्रयोग गरी फ्रिफायरबाट यूसी किने । र, साथीहरूलाई टपअप गरिदिन्छु भनेर सुनाए । तर, उनका साथीहरूले पत्याएनन् । आयुषले त्यसबारे पहिले नै अध्ययन गरेर कसरी टपअप गर्ने, कसरी फाइदा कमाउने भन्ने बुझिसकेका थिए । फ्रिफायर खेल्नेमध्ये एक जनाको आईडी मागे । र, ठाउँको ठाउँ यूसी टपअप गरिदिए ।
त्यसपछि उनका साथीहरूले आयुषलाई विश्वास गरेर टपअप गराउन सुरु गरे । “हप्तामा आठ हजारको यूसी किन्यो भने २० हजारको बिक्री हुन्थ्यो,” उनी थप्छन्, “त्यसबाट मलाई हप्तामा १२ हजार बढी फाइदा हुन्थ्यो ।”
यता आयुषले पेपालमा रकम जम्मा गरिदिन अनुरोध गर्न थालेपछि आमालाई छोरो कतै अनलाइन जुवा त खेलिरहेको छैन भन्ने महसुस भयो । र, रकम जम्मा गर्न छोडिन् । त्यसपछि आयुषले आफ्ना काकासँग मिलेर यूसी टपअप गर्ने कामलाई अगाडि बढाए । काकाले आयुष गलत काममा नलागेको भन्ने विश्वस्त गराएपछि आमाले फेरि पेपालमा रकम लोड गरिदिन थालिन् । यसरी यूसी टपअप गर्नकै लागि उनले अक्टोबर २०२२ मा ‘पोखरेली टपअप सेन्टर’ सञ्चालन गरेका थिए । यसका लागि फेसबुक पेज पनि बनाए । कामलाई स्वचालित बनाउन वेबसाइट बनाउने निर्णय गरे । र, वर्डप्रेस थिम किनेर कस्टमाइज गरे । “मैले त्यसमा ईसेवा र खल्ती इन्टिग्रेट गरेको थिएँ,” उनी भन्छन्, “फेसबुक पेजमा मैले म्यानुअल्ली काम गर्नुपर्थ्यो । तर, त्यसैलाई वेबसाइटमा अटोमेटिक हुने बनाएँ ।”
तर, वेबसाइटमा उनले सोचेको जस्तो ट्राफिक आएन । उनले जति व्यापार फेसबुकबाट गर्थे । त्यसको नगन्य व्यापार वेबसाइटबाट गर्थे । आफूलाई सबै जानेको छु भन्ने ठानेका आयुषलाई सर्च इन्जिन अप्टिमाइजेसनबारे केही पनि थाहा रहेनछ भन्ने अनुभव भयो । र, त्यही सिक्न थालें ।
कक्षा ८ मै पढिरहँदा आयुषलाई समय व्यवस्थापन गर्न सकस भइरह्यो । उता समयमै होमवर्क सक्नुपर्ने बाध्यता थियो । यता प्रोग्रामिङ सिक्नुपर्ने चाहनाले पनि व्यापक समयको माग गरिरहेको थियो । भन्छन्, “मैले ९९ प्रतिशत मेरो होमवर्क कक्षामै गर्थें । क्लास सकिएपछि हामीलाई पाँच मिनेट बाँकी हुन्थ्यो । म त्यही समयमा होमवर्क सक्थें ।” बिहान ९ बजे कक्षामा पुगिसक्नुपर्ने हुन्थ्यो भने दिउँसो ५ बजे बिदा हुन्थ्यो । त्यसपछि सरासर घर आएर उनी स्कुलमा शिक्षकले पढाएका विषय पुनः दोहोर्याउँथे । र, दुई घण्टा पढिसकेपछि कोडिङ सिक्न थाल्थे । यसरी कक्षा ८ को सुरुदेखि अन्तिमसम्म हरेक दिन डेढ घण्टा प्रोग्रामिङका लागि छुट्याउने गरेको दाबी आयुषको छ ।
स्कुलबाट आईटीका विभिन्न वर्कशप र कार्यक्रममा सहभागी गराउने, नयाँ नयाँ कार्यक्रम ल्याउने ‘प्रगति आईटी सोसाइटी’ लगभग हराइसकेको थियो । त्यसैलाई अघि बढाउने जिम्मेवारी कक्षा ८ मा पढिरहेका आयुषले लिए । र, त्यसको नाम ‘प्रगति आईटी क्लब’ राखेर नयाँ स्वरूपमा अगाडि बढाउने सङ्कल्प लिए । त्यही समयमा ‘डेटा रिसर्च काउन्सिल फर स्टुडेन्ट’ नामक समूहले आयुषको विद्यालयमा एक हप्ताको पाइथन वर्कशप राख्यो । त्यसमा सहभागी आयुषले प्रोग्रामिङका व्यवहारिक पक्ष सिक्ने मौका पाए । नेटवर्किङ गरे । त्यस क्षेत्रमा अनुभव हासिल गरेका व्यक्तिसँग सम्बन्ध स्थापना गरे । र, सोही समूहमा आवद्ध हुने चाहना व्यक्त गरे । तर, उनले उक्त समूहमा आवद्ध हुन एउटा प्रोजेक्ट उपलब्ध गराउनु पर्ने भयो । उनले एचटीएमएल, सीएसएस र जाभा प्रयोग गरी तयार पारिएको ‘प्रगति आईटी क्लबको वेबसाइट’ उपलब्ध गराए । उक्त वेबसाइट देखेर प्रभावित भएको सो समूहले आयुषलाई सदस्यका रूपमा नियुक्त गर्यो ।
यता आयुष अध्यक्ष रहेको प्रगति आईटी क्लबमा पनि प्रोग्रामिङ ल्याङ्ग्वेजबारे तालिम दिन थाले । उता आयुष ‘डेटा रिसर्च काउन्सिल फर स्टुडेन्ट’ मा फ्रन्टइन्ड डेभलपरको काम गरिरहेका थिए । सानै उमेरमा प्रोग्रामिङमा पोख्त भएको देखेर विद्यालयले त्यहाँका अधिकांश प्रोजेक्ट आयुषको जिम्मा लगायो । आयुष सबै जिम्मेवारी राम्रोसँग गर्न सक्ने भए । र, विद्यालयको डेमो वेबसाइट पनि तयार पारेर उपलब्ध गराए ।
कम्प्युटर शिक्षकलाई नै प्रोग्रामिङ र कम्प्युटरबारे सिकाउने आयुष !
प्रगति सेकेन्डरी स्कुलमा सुमन कार्की कम्प्युटर पढाउँछन् । “कक्षामा २ किसिमका विद्यार्थी हुन्छन्- एउटा पढ्ने अर्को नपढ्ने,” आयुषको चर्चा गर्दै उनका शिक्षक सुमन कार्की भन्छन्, “आयुष भने ती दुई प्रकारका विद्यार्थीभन्दा भिन्नै थिए ।”
उनी कक्षामा पढ्ने वा हल्ला गर्ने केही पनि गर्दैनथे । कक्षामा गएपछि मौन हुन्थे । खासै खेल्न जाने वा साथीहरूसँग रमाइलो गर्ने उनको स्वभाव थिएन । ‘सर, मलाई प्रोग्रामिङ आउँछ,’ कक्षा आठमा पढिरहँदा एकदिन आयुषले सरलाई सुनाए । उनका सर सुमन कार्कीलाई आयुषले भनेको कुरा पत्यार लागेन ।
तर, त्यही विद्यालयका त्यही उमेर समूहका आर्जित पौडेलले सूचना प्रविधि क्षेत्रमा सानै उमेरमा राम्रो प्रगति गर्न सकिन्छ भन्ने देखाएका थिए । उनै आर्जितलाई कार्कीले आयुषबारे सोधे । आर्जितले पनि आयुषलाई प्रोग्रामिङको ज्ञान भएको बताएपछि उनी निर्धक्क भए । त्यसपछि आयुषलाई प्रगति आईटी सोसाइटी सञ्चालन गर्ने जिम्मा दिए ।
उनले उक्त क्लब सञ्चालन गर्न थालेपछि विद्यार्थीहरू आईटीतर्फ रुचि राख्न थालेको कार्की सुनाउँछन् । उनी भन्छन्, “विद्यालयका विद्यार्थीमाझ आईटी पढ्नुपर्छ भन्ने भावना आर्जितले जगाएका थिए । त्यसलाई निरन्तरता दिने र सिकाउने काम आयुषले गरे ।”
आयुषले आफूभन्दा जुनियर विद्यार्थीलाई प्रभावकारी रूपमा प्रोग्रामिङ सिकाउन थालेपछि कार्कीले कम्प्युटर ल्याबको चाबी नै आयुषलाई उपलब्ध गराएका थिए ।
कक्षा ९ को पढाइ, फ्रिल्यान्सिङ काम, इन्टर्न र डेनमार्कको बसाइ
कक्षा ९ मा पढ्दा आयुष फ्रिल्यान्सिङ काम खोज्न थालेका थिए । आफूले जानेका सीप पर्याप्त भएनन् भन्ने बुझ्न पनि उनले खोजेका इन्टर्नशिपले सहयोग पुर्याए । खासगरी आयुषले जागिर पाउनका लागि रियाक्ट जेएस सिक्नुपर्ने भयो । त्यसमा पनि पर्याप्त समय दिएपछि उनले रियाक्ट जेएस सिक्न थाले । “रेन्डरिङका लागि यो धेरै काम लाग्ने रहेछ,” उनी भन्छन्, “जाभास्क्रिप्टको १०० लाइनको कोडलाई रेप्लिकेट गरेर हामीले रियाक्ट जेएसबाट पाँच लाइनको कोड बनाउन सक्ने रहेछौँ । यो दामी लाग्यो मलाई । अनि कोर फन्डामेन्टल सिक्न थालें ।”
कामका लागि नेपालका डाँफे ल्याब्स र पीआईआई एन्ड एआई काठमाडौं नामका दुई कम्पनीमा अन्तर्वार्ताका चरण पूरा गरिसकेको आयुष बताउँछन् । “मैले इन्टरभ्यु पनि क्रयाक गरें । तर, मेरो उमेरकै कारण मैले काम पाइनँ,” उनी दुखेसो पोख्दै भन्छन् । त्यतिबेला उनी १३ वर्षका थिए ।
दुई कम्पनीमा काम पाउन असफल भए पनि आयुष अन्य कम्पनीमा आवेदन दिइरहेका थिए । त्यसमध्ये उनी कोड अल्फा, प्रोडिगी इन्फोटेक र कोडशप्टमा पनि इन्टर्नशिपका लागि आवेदन दिएका थिए । निःशुल्क इन्टर्नशिप पाउने सर्तमा आयुषले तीन ओटै कम्पनीबाट एकैपटक अफर पाए ।
“मैले एउटै समयमा तीन ओटा कम्पनीमा इन्टर्नशिप पाएँ,” आयुष दाबी गर्छन्, “रिमोट काम भएकाले मलाई एउटै समयमा तीन ओटा कम्पनीमा काम गर्न सजिलो भयो ।” उनका अनुसार कम्पनीले दिएको प्रोजेक्ट २० देखि २५ दिनमा सम्पन्न गर्नुपर्ने थियो । तर, ती एक हप्तामै पुरा गरेको उनी सुनाउँछन् । तीन ओटै कम्पनीबाट पाएका प्रमाणपत्र उनले टेकपानालाई उपलब्ध गराएका पनि छन् ।
यसरी लगभग सात महिनासम्म तीन ओटा कम्पनीमा इन्टर्नशिप गर्दा उनले राम्रो अनुभव बटुले । पैसा आउने कामका लागि उनी विभिन्न फ्रिल्यान्सिङ साइट अन्वेषण गर्न थाले ।
विभिन्न कम्पनीमा वेभ डेभलपर, फ्रन्टइन्ड डेभलपर र फुल स्ट्याक डेभलपरको भूमिकामा रहेर फ्रिल्यान्सिङ काम गरे । यतिसम्म कि उनले आफ्ना शिक्षक कार्कीलाई पनि यस्ता माध्यमबाट राम्रो आम्दानी गर्न सकिन्छ भन्ने सिकाए । “आयुषले पनि मलाई धेरै कुरा सिकाएका छन्,” उनका कम्प्युटर शिक्षक कार्की भन्छन्, “खासगरी फ्रिल्यान्सिङ प्लेटफर्मबाट कसरी आम्दानी गर्न सकिन्छ भन्ने विषय उनीबाट सिक्न पाएँ ।”
फ्रिल्यान्सिङ काम गर्दा सुरुवातमा एक हप्तामै १० हजारभन्दा बढीसम्म आम्दानी गरेको आयुषको दाबी छ । त्यसपछिका दिनमा उनी हप्तामा ३० हजार रुपैयाँभन्दा बढी कमाउन थाले ।
पहिले पोर्चुगल रहेका आयुषका आमाबुवा पछि डेनमार्क आए । आयुषकी दिदी अस्ट्रेलिया जाने तयारीमा थिइन् । तर, विविध समस्या आएपछि उनी त्यहाँ जान नसक्ने भइन् । र, उनी पनि डेनमार्क जान तयार भइन् । यता आयुष घरमा एक्लै हुने परिस्थिति भएपछि उनका आमा बुवाले विभिन्न तवरबाट उनलाई डेनमार्क लग्ने पहल गरे । त्यही अनुरूप पासपोर्ट तयार भएपछि गत अगस्टमा उनी डेनमार्क गए ।
नेपालकै एक उद्योगका फुल स्ट्याक डेभलपर आयुष
आयुषले आफ्नै मेहनतले एक्सप्रेस जेएस, सीएसएस, क्यान्भा, एचटीएमएल,एचटीएमएल फाइभ, जाभास्क्रिप्ट, गिट, मोङ्गो डीबी, एमआरईन स्ट्याक, नेक्स्ट जेएस र नोड जेएस जस्ता प्रोग्रामिंमा आफूलाई अभ्यस्त बनाए । फ्रन्ट-एन्ड कोडिङ, रेस्पोन्सिभ वेब डिजाइन, रियाक्टज र टेलविन्ड सीएसएस जस्ता सीपलाई पनि उत्तिकै निखारे ।
खाली हुँदा फ्रिल्यान्सिङ गरिरहेका उनी यही डिसेम्बरदेखि ‘रियुजेबल प्याड्स बाई आरजे उद्योग’मा फुल स्ट्याक डेभलपरको काम गरिरहेका छन् । आयुषका अनुसार यस कम्पनीको वेबसाइट निर्माणको काम अन्तिम चरणमा पुगेको छ । यस कम्पनीका लागि उनले गरेको काम हेर्न यहाँ क्लिक गर्न सक्नुहुन्छ ।
आफ्नै स्टार्टअप खोल्ने चाहना !
आयुष आफ्नै स्टार्टअप खोल्ने चाहनामा छन् । “म अहिले सास प्रडक्ट बनाइरहेको छु,” उनी भन्छन्, “त्यसलाई स्टार्टअपका रूपमा अगाडि बढाउँछन् ।” उनले आफ्नो योजनाबारे हामीलाई सुनाए पनि त्यसलाई तत्काल सार्वजनिक नगर्न अनुरोध गरे । यद्यपि उक्त प्रडक्टले नेपाली बजारमा राम्रो प्रभाव पार्नेमा उनी विश्वस्त छन् ।
आजका मितिसम्म ४० भन्दा बढी प्रोजेक्ट गरिसकेको आयुषको दाबी छ । उनी मोबाइल एप डेभलपमेन्टमा पनि उत्तिकै केन्द्रित छन् । भन्छन्, “म अहिले मोबाइल एप डेभलपमेन्ट र डेभअप्स एक्सप्लोर गरिरहेको छु ।” प्रविधि क्षेत्रसँगै वित्तीय क्षेत्रमा रुचि राख्ने उनी त्यस्तै पुस्तक पढ्न रुचाउँछन् । उनले अस्ट्रेलियामा रहेका काकालाई पनि डिजाइनिङ सिकाएका छन् । अहिले उनका काका र उनका काकाले एउटै टिममा रहेर काम गरेका थिए । त्यसबाट पनि आर्थिक रूपमा उनलाई निकै फाइदा भयो ।
अहिले उनी दुई वर्षका लागि डेनमार्कको भाषा अध्ययन गरिरहेका छन् । त्यसपछि उमेर अनुसार उनी जुन समूहमा उपयुक्त हुन्छन् त्यही कक्षामा डेनमार्कमा पढ्न पाउँछन् । पछि वित्तीय क्षेत्रमा उच्च शिक्षा अध्ययन गर्ने चाहना छ ।
नेपालमा रहँदा उनले आफ्नै पहलमा विद्यार्थीलाई कोडिङ सिकाए । डेनमार्क गइसकेपछि पनि त्यही बस्ने व्यवस्था नमिले नेपाल फर्किएर पुनः सिकाउन सुरु गर्ने योजना थियो । तर, अब उनी उतै पढ्न चाहन्छन् । “अहिले आईटीको माग बढी छ,” उनी भन्छन्, “प्यारेन्टले आफ्ना बालबालिकालाई एक्सप्लोर गर्न सिकाउनु पर्छ । लत लाग्ने गेमहरूभन्दा क्रियटिभ बनाउने सीपमा सिक्न प्रेरित गर्नुपर्छ । कतै जागिर पाइएन भने पनि यस क्षेत्रमा लागेका मान्छे आफ्नो दैनिकी राम्रैसँग चलाउन सक्छन् । त्यसैले अब प्रविधि क्षेत्रको बाटो रोज्नुपर्छ ।”