close

टियागो ईभी लिएर हाईवेको लामो यात्रामा निस्किँदा पनि रेन्जको कमी महसुस भएन

टेकपाना टेकपाना

पुस १५, २०८१ १५:३५

टियागो ईभी लिएर हाईवेको लामो यात्रामा निस्किँदा पनि रेन्जको कमी महसुस भएन

क्षितिज कर्माचार्य

म एक वर्षदेखि टाटाको टियागो ईभी चलाउँदै आएछु । यो ईभीले सहरको यात्रा र दैनिक जीवन साथी मात्र नभएर लामो दुरीको सडक यात्रा पनि मलाई राम्रो साथ दिएको छ ।

अहिलेसम्म यो सानो ईभीमा मैले लगभग २०,००० किलोमिटर यात्रा गरिसकेको छु । पूर्वी नेपालका अधिकांश भूभाग यसैमा पुगेको छु । यसक्रममा जनकपुर, धरान, भेडेटार, विराटनगरहुँदै दार्जिलिङको बोर्डर पशुपतिनगरसम्म पुगेँ ।

हेटौँडा, चितवन त छँदैछ, दोलखा चरिकोट हुँदै भोर्ले झरनासम्म पनि यसैमा गएँ । हामी प्राय: ईभीहरू छोटो दूरीका लागि मात्र राम्रो हुने कुरा सनिरहेका हुन्छौँ । तर मेरो अनुभवले ईभीहरू सहरको दैनिकीका लागि मात्र नभएर साँच्चिकै लामो दूरीको यात्राको लागि पनि उपयुक्त नै छन् । धेरैका लागि ईभीको हकमा रेन्जको चिन्ता हुन्छ । तर योजना बनाएर हिँड्ने हो र उपयुक्त चार्जिङ पूर्वाधार छ भने थोरै रेन्ज भएका ईभीमैलामो दूरीको यात्रामा जान सकिन्छ ।

यसको बुट स्पेस भने सानै लाग्यो । तर सेतो रङ्गको इन्टेरियरले खुला महसुस हुन्छ । एकपल्ट विराटनगर गएको बेला शपिङ गर्दै थिएँ । बुटस्पेस सानो भएकैले चाहेको जति सामान ल्याउन पाइनँ । त्यतिखेर चाहिँ बुटस्पेस अलि ठुलो भइदिए हुन्थ्यो भन्ने लागेको थियो । प्रायः लामो यात्रामा चार पाँच जना भएर निस्किँदा सबैको लगेज छ भने अलि समस्या नै भइरहेको हुन्छ । दैनिक यात्रा गर्ने साधन भएकाले अरू बेला भने बुटस्पेस सानो भएको खासै महसुस हुँदैन ।

ह्विलबेस छोटो भएकाले ग्राउन्ड क्लियरेन्स कम भएको महसुस छैन । तर एकपल्ट काठमाडौंबाट चापागाउँ हुँदै हेटौँडा जाँदा बिच बाटोमा ठुलठुला खाल्डाखुल्डी थिए । त्यहाँ ओरालो भएकाले जाँदाको बखत जसोतसो लगेँ । तर त्यही बाटो फर्किएर आउने आँट भने आएन, अर्को बाटो भएर फर्किएको थिएँ ।

नयाँ ठाउँमा जाँदा कहिलेकाहीँ रेन्ज एन्जाइटी पनि हुन्छ । बाटो थाहा छैन, चार्जरहरू कहाँ छ भन्ने पनि थाहा नभएको बेला चाहिँ एकदमै रेन्ज एन्जाइटी हुन्छ । तर म दुरीको हिसाब किताब गरेरै लामो यात्रामा निस्कि रहेको छु । पूर्वी भूभागमा लगभग प्रत्येक १०० किमिको दुरीमा चार्जिङ स्टेसन छन् । डीसी फास्ट चार्जर नै नभए पनि होटेल रेस्टुरेन्टहरूमा ७ किलोवाटकै एसी चार्जर भए पनि सजिलै पाउन सकिन्छ ।

मेरो यो गाडीले जति रेन्ज दिन्छ, त्यतिको दुरीमा एउटाबाट अर्को चार्जिङ स्टेसनसम्म ढुक्कले पुगिन्छ । पोर्टेबल चार्जर बोकेरै हिन्छु । कहीँ बसेछु भने पनि त्यही चार्जरबाट एक घण्टा चार्ज गर्दा १०/२० प्रतिशत बढिरहेको हुन्छ । त्यसले चार्जर भएको ठाउँसम्म पुग्न सहज हुन्छ ।

ठाउँठाउँमा टाटाका आफ्नै चार्जिङ स्टेसनहरू पनि छन् । त्यहाँ चार्जमा लगाएर आसपास तिर निस्किँन पनि हुन्छ । खुर्कोटमा प्रायः भिडभाड भइरहेको हुन्छ । मेरो गाडीमा ७ किलोवाटको एसी चार्जर पनि सपोर्ट गर्ने भएकोले लाइन लाग्नु भन्दा त्यसैमा पनि चार्ज गरी दिन्छु । कतिपय बेला त डीसी फास्ट चार्जरमा अर्को गाडीको पालो आउनु भन्दा पहिले नै मेरो गाडी एसी चार्जरबाटै फुल चार्ज हुने अनुभव पनि छ । ७ किलोवाट चार्जरबाट चार्ज गर्दा टियागो ईभीले फुल चार्ज हुन ४ घण्टा जति लगाइरहेको हुन्छ ।

यदि मेरो गाडीमा ५० प्रतिशत ब्याट्री बाँकी छ भने लगभग २ घण्टामा फुल चार्ज भइ दिन्छ । प्रायजसो ब्याट्री घटेर ५० प्रतिशतसम्म आइपुग्दा म चार्जिङ स्टेसन खोज्न थाली हाल्छु । डीसी चार्जरमा भने ५० बाट ९५ प्रतिशतसम्म चार्ज गर्न ५० मिनेट लागिरहेको हुन्छ । सानो गाडी भएकाले अरू ठुला ईभीको तुलनामा यो चार्ज पनि छिटो हुन्छ । यसले गर्दा मलाई गाडीको रेन्ज अलि बढी भइ दिए हुन्थ्यो भन्ने महसुस कहिल्यै भएन ।

यात्राका क्रममा ब्याट्री घटेर कति प्रतिशत पुगेपछि चार्ज गर्ने भन्ने कुरा गन्तव्यमा निर्भर हुन्छ । म चाहिँ उकालो बाटो जाँदै छु भने ६० प्रतिशत छ भन्दैमा गइ हाल्ने हुँदैन । त्यस्तोमा १०० प्रतिशत चार्ज गरेर मात्रै जान्छु । रिजेन हुने ओरालो बाटो छ भने क्याल्कुलेसन गरेर ६० प्रतिशतमै पनि गइ दिन्छु ।

विद्युत् प्राधिकरणका चार्जिङ स्टेसन कतिपय ठाउँमा राम्रै छन् । तर कतै कतै भने केही पनि नभएको ठाउँमा छन् । जस्तैः कतिपय ठााउँमा जङ्गलको बीचमा हुन्छ । मुग्लिङमा आराम गर्ने ठाउँ पनि छैन । तर निजी चार्जरहरू खाली पनि र आराम गर्ने पर्याप्त ठाउँहरू पनि पर्याप्त भएका छन् ।

बर्दिबास नपुग्दै बीचबाट धरान चतरा निस्किने बाटो छ । त्यो बाटोमा चार्जर खोज्न मलाई गाह्रो भएको थियो । यात्रीसँगको सहकार्यमा अहिले त्यहाँ पनि चार्जिङ स्टेसन राखिएको रहेछ ।

ईभीको रेन्ज

गाडी चलाउने तरिकादेखि बाटो तथा भूभाग कस्तो छ भन्ने कुरामा पनि निर्भर हुन्छ । एकदमै कम दिएको भनेको १४० किमि हो, त्यो हाई स्पिडमा थियो ।

यात्राका क्रममा एक पल्ट भने मैले दुख पाएको छु । म यो गाडी लिएर पहिलो पटक विराटनगर गएको थिएँ । ब्याट्री १०-१५ प्रतिशत जति बाँकी थियो । विद्युत् प्राधिकरणको चार्जिङ स्टेसन छ भनेर गएको, त्यहाँ त जीबीटी (सार्वजनिक यातायातमा लाग्ने चार्जर) रहेछ । त्यो बेला टाटाको चार्जिङ स्टेसन खोज्दा खोज्दै चार्ज ६/७ प्रतिशतसम्म झरिसकेको थियो । त्यहाँ पनि फास्ट चार्जिङ थिएन, ७ किलोवाटबाटै भए पनि चार्ज गरेँ ।

लामो यात्रामा निस्किँदा म प्रायः एक्लै जाने गरेको छैन । अप्ठेरो बाटो जाँदा म प्रायः चार पाँच जनाको साथमा मात्रै जाने गर्छु । यसरी भरिभराउ हुँदा गाडी स्टेबल हुन र स्लिप हुन नदिन लोडेड नै उपयुक्त हुँदो रहेछ । लोड छैन भने उकालो र ग्राभेल भएको बाटोमा स्लिप खाने गर्छ । कतिपय बेला त गाडीबाट मान्छेहरू ओह्रालेर धकेल्न पनि लगाएको छु ।

मैले यो गाडी अधिकतम स्पिडमा चलाएको भने जनकपुर जाँदाको बेला हो । त्यति बेला गाडीमा हामी चार जना थियौँ, ११८ किमि प्रति घण्टाको स्पिडमा गाडी गुडाएको थिएँ ।

इन्फोटेनमेन्ट सिस्टम स्मुथ नै छ । वायरलेस भइदिएको भए अझै राम्रो हुने थियो । यो ईभीमा अटो होल्ड फिचर छैन । बानी नभएकाले सुरुमा निकै गाह्रो पनि भयो । पछि ह्यान्डब्रेक चलाउन जानिसकेपछि त्यस्तो असहज लागेको छैन ।

अर्को अनौठो कुरा भनेको मैले गाडीको अगाडि भागमा भगवानको सानो मुर्ति राखेको छु । त्यही मुर्तिले गर्दा पनि एकदमै भाइब्रेट हुन्छ । कतिपय बेला त मुर्तिलाई हातले सपोर्ट दिएर पनि हिन्नु परेको छ ।

हेडलाइटमा भने मेरो कुनै गुनासो छैन । फग लाइट पनि भएकाले घुम्तीहरूमा पनि एकदमै सहज महसुस हुन्छ । पानी परेको बेला पनि मैले यो गाडी थुप्रै ठाउँमा लगेको छु । तर त्यस्तो कुनै समस्या भने भएन । 

 

पछिल्लो अध्यावधिक: पुस १५, २०८१ १७:२३