close

अध्यादेशमार्फतको कानुन संशोधनले आईटी उद्योगलाई सशक्त तथा विश्वव्यापी बनाउने नासआईटीको विश्वास

टेकपाना टेकपाना

माघ ९, २०८१ ११:१५

अध्यादेशमार्फतको कानुन संशोधनले आईटी उद्योगलाई सशक्त तथा विश्वव्यापी बनाउने नासआईटीको विश्वास

काठमाडौं । हालै नेपाल सरकारले अध्यादेशमार्फत ल्याएका कानून संशोधन तथा सहजीकरणको नेपाल एसोसिएसन फर सफ्टवेयर एण्ड आईटी सर्भिसेज कम्पनीज (नासआईटी) ले स्वागत तथा आभार व्यक्त गरेको छ । मङ्गलबार एक विज्ञप्ति जारी गर्दै आईटी कम्पनीहरूको साझा संस्थाले सरकारी प्रयासको सराहना गरेको हो ।

नासआईटीको पहल र नीतिगत वकालतको परिणाम स्वरूप हालै सूचना प्रविधि उद्योगसँग सम्बन्धित कानूनमा आवश्यक सुधार र सहजीकरण गर्दै विभिन्न सुविधा र सम्भावनाहरूको सुरुवात गरेको भन्दै सरकारको प्रशंसा गरिएको छ । “यस कदमले नेपालको सूचना प्रविधि उद्योगलाई अझै सशक्त तथा विश्वव्यापी बनाउनेछ,” विज्ञप्तिमा भनिएको छ, “नासआईटीले हालैको अध्यादेशलाई समयमै कार्यान्वयन गराउन र आवश्यक कार्यविधि तथा निर्देशिका जारी गरी सम्बन्धित निकायहरूद्वारा थप सहजीकरण हुने विश्वास व्यक्त गरेको छ ।” 

यसबाट सूचना प्रविधि क्षेत्रमा कार्यरत स्वदेशी तथा विदेशी लगानीकर्ताहरूलाई सकारात्मक सन्देश गएको छ। जसले समग्रमा सूचना प्रविधि उद्योगको विकासमा थप टेवा पुर्‍याउने अपेक्षा नासआईटीले व्यक्त गरेको छ । सरकारले यस आर्थिक वर्षको बजेट मार्फत आगामी १० वर्षभित्र सूचना प्रविधि उत्पादन र सेवाहरूको ३० खर्ब रुपैयाँ बराबरको निर्यात गर्ने लक्ष्य निर्धारण गरेको छ । साथै सूचना प्रविधि क्षेत्रमा पाँच लाख प्रत्यक्ष रोजगारी र १० लाख अप्रत्यक्ष रोजगारी सिर्जना गर्ने लक्ष्य समेत राखिएको छ । सो लक्ष्य प्राप्त गर्नका लागि पनि हालैका अध्यादेशले सकारात्मक भूमिका खेल्ने र कोसेढुङ्गो साबित हुने नासआईटीको विश्वास छ ।

सरकारको समग्र योजनामा प्रविधि पूर्वाधार विकास, नीतिगत सहयोग, र सूचना प्रविधि क्षेत्र सुदृढ पार्न विभिन्न पहलहरू गर्नुले सरकारले दीर्घकालीन र नवीन सूचना प्रविधि प्रणाली निर्माण गर्ने लक्ष्य लिएको ठानिएको छ ।

“यसमा हामी सरकारसँग हातेमालो गर्दै अघि बढ्न तयार छौँ,” नासआईटीले भनेको छ, “नेपालको सूचना प्रविधि उद्योगले सुरुवाति अवस्थाबाट क्रमिक प्रगतितर्फ यात्रा गरिरहेको छ । यस क्रममा विदेशी लगानीकर्ताहरू र देशभित्र रोजगारी सृजना गर्ने रोजगारदाताहरूको संलग्नता उल्लेखनीय रूपमा बढिरहेकोछ ।”

नासआईटीले आर्थिक र व्यावसायिक वातावरण सुधार गर्न तथा लगानी अभिवृद्धिका लागि हालै नेपाल सरकारले सार्वजनिक गरेका कानुन संशोधनको सबै क्षेत्रबाट उचित परिपालना हुने अपेक्षा गरेको छ । यसका लागि सबै सरकारी र सरोकारवाला निकायहरूबिच आवश्यक समन्वयात्मक कार्य गराउन आफ्नो पूर्ण सहयोगको प्रतिबद्धता समेत व्यक्त गरिएको छ ।

नासआईटी सूचना प्रविधि उद्योगसँग सम्बन्धित कम्पनीहरूको आधिकारिक प्रतिनिधित्व गर्ने एक संस्था हो । यस संस्थाले आफ्नो स्थापना कालदेखि नै आफ्ना सदस्यहरूसँग सम्बन्धित कानुनी, नीतिगत, र अन्य सामूहिक सवालहरूमा प्रत्यक्ष सरोकार राख्दै सहजीकरण गर्ने दायित्व निर्वाह गर्दै आएको छ । 

पछिल्लो अध्यावधिक: माघ ९, २०८१ ११:१७