काठमाडौँ । बागमती प्रदेश सरकारले ब्लुबुक क्यूआर प्रणाली सुरु गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०८२ को अवसरमा आयोजित एक कार्यक्रममार्फत ब्लुबुक क्यूआर कोड अनावरण गर्दै यस प्रणालीको औपचारिक उद्घाटन गरेका हुन् ।
बागमती प्रदेश सरकारअन्तर्गत श्रम, रोजगार तथा यातायात मन्त्रालयले तयार पारेको यो सेवा नागरिक एपसँग आबद्ध गरिएको छ । यस प्रणालीमार्फत सवारीसाधनको विवरण जाँच, ब्लुबुक नवीकरणजस्ता सेवा डिजिटल रूपमा लिन सकिने बताइएको छ ।
ब्लुबुक नै क्यूआर कोड हुने भएकाले यसलाई प्रिन्ट गरेर कागजमा बोक्न वा मोबाइलबाटै देखाउन मिल्ने मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार यस सेवामार्फत सम्बन्धित सवारीको विवरण मोबाइलमार्फत जाँच गर्नेदेखि ब्लुबुक नवीकरणसम्मका काम सजिलो हुनेछ ।
क्यूआर प्रणाली कार्यान्वयनसँगै बिचौलियामार्फत सेवा लिनुपर्ने बाध्यता हट्ने र सेवामा पारदर्शिता तथा पहुँच बढ्ने मन्त्रालयको विश्वास छ ।