काठमाडौँ । ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले सूचना तथा सञ्चार क्षेत्रमा काम गर्न चाहने व्यक्तिलाई महानगरमा हार्दिकताका साथ स्वागत गर्ने बताएका छन् । शुक्रबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आठौँ राष्ट्रिय सूचना तथा प्रविधि दिवसको अवसरमा गरेको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
ललितपुर महानगरपालिकालाई नेपालको सिलिकन भ्याली बनाउने योजना अघि बढाएको र यसलाई छिट्टै कार्यान्वयनमा ल्याउने तयारीमा रहेको उनले सुनाए ।
राष्ट्रिय आईसीटी अवार्डमा ललितपुरका धेरैले पुरस्कार जितेकोमा खुसी साँट्दै उनले भने, “बिहानले दिनको सङ्केत गर्छ भनेजस्तै यहाँ धेरै विजेता ललितपुरबाट हुनुहुन्छ । यहाँ तपाईँ जो जो आईसीटी क्षेत्रमा सहकार्य गर्नका लागि तयार हुनुहुन्छ । कृपया तपाईँहरू आउनुहोस् । हामी रातो कार्पेट बिछ्याएर स्वागत गर्छौँ”
दोस्रो कार्यकालमा ललितपुरको मेयर बनेका महर्जनले पहिलो कार्यकालमा स्मार्ट सिटीको अवधारणा अघि सारेर सीसीटिभीको व्यवस्थापन गरेको उनले सुनाए । “यसले राम्रो नतिजा दिएको छ । हामीले धेरै दु:ख गरेर सडकको किनारमा बिरुवा रोपेका थियौँ । यसलाई मानिसहरूले अनायासै भाँच्ने रहेछन् । हामी भिडिओबाटै हेरेर बिरुवा भाँच्नेलाई कारबाही गर्छौँ ।” उनले भने ।
ललितपुर महानगरपालिकाले आईसीटी क्षेत्रको विकासमा काम गरिरहेको उनको भनाइ छ । उनले भने, “हालसालै हामीले एलएमसी अलर्ट भनेर २२ वटा सेवा सुरु गरेका छौँ । केही समस्या पर्यो भने उहाँहरूले ११३१ मा कल गर्नुहुन्छ । २४ घण्टा नै नगरप्रहरी तैनाथ गरेका छौँ, कल आउने बित्तिकै सेवा दिन पुग्नुहुन्छ ।” ललितपुर महानगर क्षेत्रमा एआई ट्राफिक लाइफको व्यवस्थापन लगायतका काम गरेको समेत उनले उल्लेख गरे ।