काठमाडौं । नेपाली कथानक चलचित्र ‘एक्टर: टेक वन’का क्लिपहरू टिकटकमा अपलोड हुन थालेका छन् । चलचित्रका मुख्य क्लाइमेक्स नै दर्शाउनेगरी क्लिप अपलोड भएको पाइएको हो ।
फिल्ममा भएका कमेडी, प्रेमिल सम्बन्ध दर्शाउने दृश्य, चलचित्रको दोस्रो भाग किन र कुन अवस्थामा आउँछ भन्ने देखाइएको दृश्य टिकटकमा छताछुल्ल छन् । टिकटकका क्लिप हेर्दा यो चलचित्र मुख्य रूपमा एक युवकले सुपरस्टार बन्न देखेको सपना, त्यसका लागि गरेको सङ्घर्ष अनि बीचमा आउने बाधामा केन्द्रित भएको देखिन्छ ।
पछिल्लो समयमा विशेषगरी टिकटक, इन्स्टाग्राम तथा फेसबुक रिल्सजस्ता प्लेटफर्महरूमा चलचित्रका दृश्यहरू पोस्ट हुने समस्या नेपाली चलचित्र निर्माताहरूले बारम्बार भोगेका छन् । यसले चलचित्र उद्योगमा नकारात्मक प्रभाव पारिरहेकोले भन्दै यस्ता कदम रोक्नुपर्ने आवाज समय समयमा उठिरहेको हुन्छ ।