close

नेपाल टेलिकमको २५ प्रतिशत शेयर सर्वसाधारणलाई दिने सरकारको तयारी

टेकपाना टेकपाना

माघ २२, २०८१ १४:४८

नेपाल टेलिकमको २५ प्रतिशत शेयर सर्वसाधारणलाई दिने सरकारको तयारी

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपाल टेलिकमको २५ प्रतिशत शेयर सर्वसाधारणमा ल्याउने तयारी भइरहेको जानकारी दिएका छन् । मंगलबार टेलिकमको २१औं वार्षिकोत्सवको अवसरमा बोल्दै मन्त्री गुरुङले टेलिकमलाई प्रभावकारी बनाउन सरकारको शेयर घटाई जनतामा ल्याउन लागेको बताएका हुन् । 

मन्त्री गुरुङले यो वर्षभित्रै कम्तीमा २५ प्रतिशत शेयर सर्वसाधारणलाई दिने योजना रहेको सुनाए। “पब्लिकको भयो भने जनताले आफ्नो महसुस गर्छन्, काम गरेन भने जनताले निगरानी गर्छन्,” उनले भने, “कम्पनी जवाफदेही हुनुपर्छ, त्यसैले स्वामित्व पब्लिकमा लैजानुपर्छ ।” 

हाल नेपाल टेलिकममा सरकारको ९२ प्रतिशत र सर्वसाधारणको ८ प्रतिशत शेयर छ ।

नेपाल टेलिकमले आफ्नो सेवाको क्षेत्र विस्तार गर्नुपर्ने, बजारमा आएको नयाँ क्षेत्रसँग प्रतिस्पर्धा गर्नुपर्ने र कार्य क्षमता बढाउनुपर्नेमा मन्त्री गुरुङले जोड दिए । “एआई, फाइभजीमा हामी पछाडि परिसक्यौं,” उनले भने, “दूरसञ्चार क्षेत्रमा कुनै समय सबैभन्दा अगाडि भएको देश हामीलाई दक्षिण एसिया क्षेत्रको सबैभन्दा कान्छो देश भुटानले पछि पारिसक्यो ।” 

मन्त्री गुरुङले सूचना प्रविधि क्षेत्रको पूर्वाधार विकास आजको आवश्यकता भएको औंल्याए । “पूर्वाधार नभए सेवा विस्तार गर्न सकिँदैन,” उनले भने, “फोरजी गाउँ-गाउँमा पुर्‍याउनु पर्‍यो, सके घर-घरमा पुर्‍याउनु पर्‍यो ।” 

टेलिकमको सेवा नपुगेका ठाउँमा टावर स्थापना गर्नुपर्ने र सेवालाई गुणस्तरीय बनाउनुपर्नेमा उनले जोड दिए । “टावर बिग्रियो भने टेलिकम बनाउनै आउँदैन भन्ने जनताको गुनासो छ, त्यसलाई समाधान गर्नु पर्‍यो,” उनले भने । 

पछिल्लो अध्यावधिक: माघ २२, २०८१ १४:५६