काठमाडौं । आउँदो माघ २४ देखि २८ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा हुने ‘क्यान इन्फोटेक २०२५’ मा राष्ट्रिय परिचयपत्रको विवरण दर्ता प्रविष्ट (लाइभ इनरोलमेन्ट) हुने भएको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको टोलीले क्यान इन्फोटेकमा छुट्टै दर्ता स्टेसन सञ्चालन गरी यो सेवा दिन लागेको हो ।
दर्ता स्टेसनमा सेवाग्राहीले आफ्नो वैयक्तिक तथा जैविक विवरण दर्ता गराएपछि तत्कालै राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त गर्न सक्नेछन् ।
विभागका अनुसार हालसम्म एक करोड ६० लाखभन्दा बढी नागरिकले राष्ट्रिय परिचयपत्र नम्बर पाइसकेका छन् । अब करिब ३५ लाख नागरिक राष्ट्रिय परिचयपत्रमा सूचीकृत हुन बाँकी छ । बाँकी नागरिकलाई समेत सहजीकरणका लागि क्यान महासंघले सञ्चालन गर्ने क्यान इन्फोटेकमार्फत यो सुविधा प्रदान गर्न लागिएको हो ।
क्यान महासंघका महासचिव चन्द्रविलास भूर्तेलका अनुसार काठमाडौंमा रहेका नेपालका जुनसुकै जिल्लाका नागरिकले क्यान इन्फोटेकमा आई राष्ट्रिय परिचय पत्रका लागि बायोमेट्रिक अथेन्टिकेसन लिन सक्नेछन् ।
क्यान इन्फोटेकमा वैयक्तिक तथा जैविक विवरण दर्ता गराएका नागरिकले राष्ट्रिय परिचयपत्रको भौतिक कार्ड सिंहदरबारस्थित विभागबाट लिन सक्ने जनाइएको छ । विभागले उपलब्ध गराएको रसिद देखाएर सिंहदरबार छिरेर परिचयपत्र लिन सक्ने व्यवस्था मिलाइएको छ ।