close

भृकुटीमण्डपमा सुरु भयो ३०औं संस्करणको क्यान इन्फोटेक, केके छन् आकर्षण ?

टेकपाना टेकपाना

माघ २४, २०८१ ११:३८

फाइल तस्वीर फाइल तस्वीर

काठमाडौं । कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघको आयोजनामा आजदेखि राजधानीमा भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा आजदेखि ३०औं संस्करणको क्यान इन्फोटेक २०२५ सुरु भएको छ । एक समारोहमाझ सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले ३०औं संस्करणको क्यान इन्फोटेक उद्घाटन गरे । एआई रोबोटको सहयोगमा डिजिटल दियो बालेर कार्यक्रमको उद्घाटन गरिएकाे थियो ।

माघ २८ सम्म चल्ने क्यान इन्फोटेकमा सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा विकास भएका नवीनतम प्रविधिहरू र स्थानीय बजारको माग अनुसार विकास भएका प्रतिभा तथा आविष्कारहरूलाई प्रस्तुत गरिएको क्यानले जनाएको छ । क्यान महासंघकी अध्यक्ष सुनैना घिमिरे पाण्डेले प्रदर्शनीमा राखिएका नवीनतम प्रविधि र आविष्कारहरूले देशको डिजिटल प्रविधि क्षेत्रमा ठूलो योगदान पुर्‍याउने विश्वास राखिन् । 

क्यान इन्फोटेकको शीर्ष प्रायोजकमा एचएमसी नेपाल हिक्सेमी र सह-शीर्ष प्रायोजकमा मर्कन्टाइल अफिस सिस्टम रहेका छन् । यस पटक मुख्य आकर्षणमा ह्युमनाइड रोबोटदेखि सेल्फ ड्राइभिङ कारसम्म रहेको क्यानले जनाएको छ । त्यस्तै क्यान इन्फोटेकमै राष्ट्रिय परिचयपत्रको लाइभ इनरोलमेन्ट सुविधा दिइएको छ ।

क्यान इन्फोटेकमा क्यान महासंघका सदस्य संस्थाहरूका साथै विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय सूचना तथा सञ्चार प्रविधिसम्बन्धी कम्पनीहरूको सहभागिता रहेको क्यान महासंघका महासचिव चन्द्र विलास भूर्तेलले बताए ।​ क्यान इन्फोटेकले सूचना तथा सञ्चार प्रविधि क्षेत्रका कम्पनीहरूलाई आफ्नो बजार विस्तार गर्ने, ग्राहकका आवश्यकता थाहा पाउने, बजार सर्वेक्षण गर्ने, नयाँ उत्पादनहरू सार्वजनिक गर्ने र ग्राहकसँग आपसी सम्बन्ध स्थापना गर्ने अभूतपूर्व अवसर दिने उनको भनाइ छ ।

क्यान इन्फोटेकमा ब्राण्डिङ, आईसीटी एक्ससरिज, गेम पार्लर, प्रडक्ट लञ्चिङ, स्टार्ट-अप, रोबोटिक्स, इमर्जिङ्ग टेक्नोलोजी, ई-गभर्नेन्स, सूचना प्रविधिमा महिला उद्यमी, वाईफाई तथा इन्टरनेट र लर्निङ सेन्टर रहनेछन् ।

साथै, इन्फर्मेशन सेक्युरिटी रेस्पोन्स टिम नेपाल (एनपीसर्ट) ले साइबर सुरक्षा सहायता डेस्क सञ्चालन गर्दैछ, जसले साइबर सुरक्षा समस्यामा सहजीकरण गर्नेछ । त्यस्तै डेटाबोट पर्सनल एसिस्टेन्ट एआईले विद्यार्थीहरूलाई डेटा साइन्स, सेन्सर टेक्नोलोजी, आर्टिफिसियल इन्टेलिजेन्स, रोबोटिक्स जस्ता विषयहरू व्यवहारिक रूपमा सिक्न मद्दत गर्ने बताइएको छ । 

टिकेटिङ पार्टनर टिकट सञ्जालमार्फत अनलाइन टिकट खरिद गर्न सकिने व्यवस्था गरिएको छ । सर्वसाधारणका लागि टिकट शुल्क १०० रुपैयाँ र विद्यार्थीका लागि ५० रुपैयाँ तोकिएको छ; जेष्ठ नागरिक, फरक क्षमताका नागरिक, १० वर्ष मुनिका बालबालिका तथा सरकारी र सामुदायिक विद्यालयको सिफारिसमा सामूहिक अवलोकन नि:शुल्क हुनेछ ।

क्यान इन्फोटेक २०२५ अवधिभर विभिन्न अन्तर्क्रियात्मक कार्यक्रम र प्रविधि सम्बन्धी चर्चाहरूको आयोजना हुने क्यानले जनाएको छ । 

यस संस्करणमा करिब १५० स्टल रहेका छन् । क्यान इन्फोटेक २०२५ मा लगभग साढे तीन लाखले अवलोकन गर्ने अपेक्षा गरिएको छ ।

पछिल्लो अध्यावधिक: माघ २४, २०८१ १३:६