close

सुमना भन्छिन्ः कन्टेन्ट क्रियटरलाई पेलेर सामाजिक सञ्जाल विधेयक पास गर्न खोजिँदै छ

टेकपाना टेकपाना

माघ २४, २०८१ १४:४७

सुमना भन्छिन्ः कन्टेन्ट क्रियटरलाई पेलेर सामाजिक सञ्जाल विधेयक पास गर्न खोजिँदै छ

काठमाडौं । प्रतिनिधिसभा सदस्य सुमना श्रेष्ठले सामाजिक सञ्जाल नियमन तथा प्रयोग सम्बन्धी विधेयकलाई कानुनका रूपमा ल्याउनुअघि सरोकारवालासँग छलफल गर्न सरकारसँग आग्रह गरेकी छन् । बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै पूर्वमन्त्री समेत रहेकी श्रेष्ठले विधेयकको चर्को विरोध भइरहँदा सरोकारवालासँग छलफल गरेर मात्र अगाडि बढ्न सरकारलाई सुझाव दिइन् ।

“युवाले माइतीघर मण्डला घेर्‍यो भने, पब्लिक प्रोपर्टी तोडफोड गर्‍यो भने, ढुङ्गामुढा गर्‍यो भने मात्रै सरकारले सुन्ने हो कि अर्कोबेला पनि सरकारले सुन्छ भनेर मैले सम्पूर्ण सरकारको ध्यानाकर्षण गराएँ,” उनले भनिन् ।

सामाजिक सञ्जाल विधेयकका कतिपय प्रावधानलाई कन्टेन्ट क्रियटरहरूले अधिनायकवाद र वाक स्वतन्त्रता हनन गर्ने कदमको रूपमा लिएको उनले जिकिर गरिन् ।

“विधेयकहरू बनाउँदै गर्दा जसको लागि विधेयक ल्याइएको हो, उहाँहरूसँग छलफल गरिन्छ । यो फेरि पनि पुष्टि हुँदैछ लेफ्ट भनौँ राइट भनौँ सेन्टर भनौँ कसैले नसुन्ने रहेछ भनेर यसले पुष्टि पनि गर्छ,” उनले थपिन्, “यो आवाज उठाउँदै गर्दा यसप्रति सरकारको ध्यानाकर्षण गराएँ र म भन्न चाहन्छु युवालाई बोलाउनुस्, युवासँग संवाद गर्नुस्, जनताको आवाज सुन्नुस् ।”

सांसद श्रेष्ठले युवाहरूलाई बोलाएर छलफल गर्न, कन्टेन्ट क्रियसन र सामाजिक सञ्जालमा आइडेन्टिटी कसरी बनाइन्छ भन्ने बुझ्न सरकारलाई आग्रह गरिन् । साथै, उनले युवाहरूको सामाजिक सञ्जालमा भइरहेको विरोधलाई मनन गर्न र सम्बोधन गर्न पनि माग राखिन् ।

“तपाईं (युवा)हरूको आवाज यो सदनले सुन्नैपर्छ । कुनै पनि पार्टीको डोरी समातेर बल्ल मेरो नेतासम्म पुग्छु, अनि कुरा भन्छु होइन, अब सबै जना सांसदहरूले युवाहरूको आवाज बोक्नैपर्छ, जनताको आवाज आफ्नो पार्टीमा भए पनि नभए पनि सुन्नै पर्छ," उनले भनिन्, “युवाहरूको आवाजले ह्याशट्याग बोल्नदे सरकार, ह्याशट्याग रिभाइज सोसल मिडिया बिल भन्दैछ ।”

हालैमात्र विभिन्न प्लेटफर्ममा कन्टेन्ट क्रियटरको एक समूहले एकैसाथ भिडिओ सार्वजनिक गर्दै सामाजिक सञ्जाल विधेयकको चर्को आलोचना गरेको थियो ।

पछिल्लो अध्यावधिक: माघ २४, २०८१ १५:६