काठमाडौँ । वर्डप्रेस प्रयोगकर्ता तथा डेभलपरहरूलाई लक्षित गर्दै वर्डक्याम्प नेपाल २०२५ को घोषणा भएको छ । आउँदो ४-५ अप्रिलमा काठमाडौँको चण्डोलस्थित कुण्डलिनी दरबारमा वर्डक्याम्पको आगामी संस्करण आयोजना हुने भएको हो ।
वर्डप्रेस तथा समग्र सूचना-प्रविधिमा रुचि राख्ने नयाँ र अनुभवी दुवैका लागि यो कार्यक्रम एउटा ठुलो अवसरको रूपमा लिने गरिन्छ । यस वर्षको वर्डक्याम्प नेपाल "जोडिनुहोस्, योगदान दिनुहोस्, र उत्सव मनाउनुहोस्" भन्ने नारासहित आयोजना हुँदैछ । कार्यक्रममा वर्डप्रेस सम्बन्धी नयाँ जानकारी, प्लगइन र उत्पादनहरूको प्रदर्शन, र विभिन्न कार्यशालाहरूको आयोजना हुनेछ ।
कार्यक्रममा नेपाल, भारत, अमेरिका, युरोपेली मुलुकहरू, बङ्गलादेश लगायतका देशबाट स्वदेशी तथा विदेशी सहभागीहरू हुनेछन् ।
कार्यक्रमको पहिलो दिन (अप्रिल ४) कन्ट्रिब्युटर डेको रूपमा आयोजना हुनेछ । जसमा वर्डप्रेसको ओपन-सोर्स प्रोजेक्टमा सहभागी हुने अवसर प्रदान गरिनेछ । सहभागीहरूले वर्डप्रेसमा आफ्नो रुची रहेको क्षेत्रमा योगदान गर्न, नयाँ कुरा सिक्न, र समुदायसँग जोडिन सक्नेछन् । उक्त दिन टिम लिडरले वर्डप्रेसमा थिम र प्लगइन एप्रुभल प्रक्रिया, यसका मापदण्ड, र गाइडलाइनबारे मार्गदर्शन गर्नेछन् । त्यस्तै वर्डप्रेस प्रोजेक्टमा प्रोग्रामर र गैर-प्रोग्रामर दुवै खालको योगदानहरू कसरी गर्न सकिन्छ भन्ने बारे सिक्न र बुझ्न सकिनेछ ।
त्यस्तै दोस्रो दिन (अप्रिल ५) कन्फ्रेन्स डे रहने र त्यसमा वर्डप्रेसका विभिन्न विषयमा आधारित सत्रहरू आयोजना हुनेछन् । वर्डप्रेस विशेषज्ञहरूसँग भेटघाट गर्ने, नयाँ विचारहरू सिक्ने, र आफ्नो करियरलाई अगाडि बढाउन चाहनेहरूका लागि यो उपयुक्त अवसर हुनेछ । यसै दिन वर्डप्रेस वर्कशपको पनि तयारी भइरहेको आयोजकले जनाएको छ । जसमा कुनै विषयवस्तुलाई आधार मानेर वर्डप्रेसमा त्यस सम्बन्धी वेबसाइट तयार गरिने छ ।
कसको लागि उपयुक्त छ यो इभेन्ट ?
कार्यक्रममा डेभलपर, प्लगइन र थिम निर्माता, डिजाइनर, सर्च-इन्जिन एक्सपर्ट, व्यवसाय सञ्चालक, कन्टेन्ट क्रियटर, विद्यार्थी लगायत सबै वर्डप्रेस प्रेमीहरूले भाग लिन सक्नेछन् ।
वर्डप्रेससँग सम्बन्धित नयाँ जानकारी र प्रविधिको विकासबारे बुझ्न सकिने यो इभेन्ट नेटवर्किङका हिसाबले समेत महत्त्वपूर्ण मानिन्छ । आफ्नो करियरका लागि नयाँ अवसरहरूको खोजी गर्न चाहने, वर्डप्रेस र यसको इकोसिस्टममा के भइरहेको छ भन्ने जानकारी लिन चाहनेहरूका लागि समेत यो मञ्च विशेष हुनेछ ।
वर्डक्याम्प नेपाल वर्डप्रेस समुदायलाई एकै ठाउँमा ल्याउने ठुलो कार्यक्रम हो । कन्फ्रेन्समा सहभागिताको लागि चाँडै अनलाइन रजिस्ट्रेसन खुलाइने बताइएको छ । थप जानकारीका लागि वर्डक्याम्प नेपालको आधिकारिक वेबसाइट मा जान सक्नु हुनेछ ।