काठमाडौं । कल बाइपास गरेको आरोपमा नवलपरासीका २७ वर्षीय रोहित अहिर पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय रूपन्देहीबाट खटिएको प्रहरी टोलीले बुधबार बेलुका ६ बजे आरोपित अहिरलाई नियन्त्रणमा लिएको हो ।
अवैध रूपमा कल बाइपास कार्य भइरहेको सूचनाका आधारमा प्रहरीले सिद्धार्थनगर नगरपालिका वडा नम्बर ३ को गुलावचन्द गुप्ताको घरमा छापा मारेको थियो । त्यही क्रममा आरोपित अहिर कलबाइपास गरिरहेको अवस्थामा फेला परेका हुन् ।
प्रहरीले अहिरको साथबाट कल बाइपास गर्न प्रयोग हुने विभिन्न उपकरण समेत बरामद गरेको छ । जसमा स्पोइलर कम्पनीका ९ थान हब, ४ थान इन्टेल कोर आईफाईभ सीपीयू, १६७ थान मोडेम, २ थान एन्टेनासहितका हब, १९० थान एनटीसी सिमकार्ड र २७० थान एनसेल सिमकार्ड रहेका छन् । त्यस्तै उनको साथबाट ५ थान मोबाइल, ल्यापटप, मनिटर, राउटर, स्विच, नेटवर्क भिडियो रेकर्डर र हब केबुल लगायतका सामान पनि प्रहरीले बरामद गरेको छ ।
उक्त घटनाको थप अनुसन्धानका लागि जिल्ला अदालत रूपन्देहीबाट ७ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।