close

गुगलको च्याटबटले अब तपाईंका लागि युट्युब हेरिदिने !

टेकपाना टेकपाना

माघ २७, २०८१ ११:१०

गुगलको च्याटबटले अब तपाईंका लागि युट्युब हेरिदिने !

काठमाडौं । गुगलले हालै मात्र आफ्नो च्याटबट जेमिनाईको नयाँ भर्सन २.० फ्ल्याश सार्वजनिक गरेको छ । सबैले प्रयोग गर्न पाउने यस मोडेलले अब प्रयोगकर्तालाई जवाफ दिनुअघि सोच्न सक्ने बताइएको छ । 

यससँगै अब जेमिनाईले प्रयोगकर्ताका लागि युट्युब भिडिओ हेरिदिने भएको छ । प्रयोगकर्ताले आफूले चाहेको भिडिओ जेमिनाईलाई हेर्न लगाएर त्यससँग सम्बन्धित विभिन्न प्रश्न सोध्न सक्नेछन् ।

यो फिचर अहिले परीक्षणको क्रममा रहेको छ । त्यसैले प्राप्त जवाफको गुणस्तर भिडिओ अनुसार फरक हुन सक्छ । अथवा केही अवस्थामा भिडिओको लिङ्क सपोर्ट गरेन भन्ने जवाफ आउन सक्छ । 

जेमिनाई २.० फ्ल्याश मोडेलले प्रयोगकर्ताको अनुरोध पूरा गर्नका लागि के कस्ता प्रक्रिया अपनाएको छ भन्ने देखाउँछ । अर्थात् जवाफ दिनुअघि कसरी र कस्तो जवाफ दिने भन्ने सोच्छ । अनि नतिजा दिन्छ । यदि नतिजा सोचेजस्तो आएन भने प्रयोगकर्ताले आफ्नो प्रश्न परिमार्जन/परिवर्तन गर्न सक्छन् ।

युट्युब भिडिओहरू हेर्ने जेमिनाई २.० को क्षमता तत्कालै उपलब्ध हुने बताइएको छ । यसका लागि गुगल अकाउन्ट भए पुग्छ । यसका साथै यसलाई गुगलका अन्य प्रडक्ट जस्तै गुगल म्याप, फ्लाइट्स र अन्य एपहरूसँग पनि प्रयोग गर्न सकिनेछ ।

कसरी प्रयोग गर्ने ?

१) सबैभन्दा पहिले गुगलको वेबसाइटमा आफ्नो गुगल अकाउन्टबाट साइन इन गर्नुहोस् । मोबाइलमा गुगलको एप प्रयोग गर्न सक्नुहुन्छ ।

२) त्यसपछि जेमिनाई एप वा वेबसाइट खोल्नुहोस् । अनि माथि रहेको जेमिनाईको मेनुमा गएर ‘2.0 Flash Thinking Experimental with apps’ मोडेल छान्नुहोस् ।

३) त्यसपछि युट्युब भिडिओको लिङ्क च्याट बक्समा राख्नुहोस् र आफ्नो प्रश्न सोध्नुहोस् ।

उदाहरणका लागि, यदि तपाईंले सन् २०२५ का लागि उत्कृष्ट ट्याब्लेटहरूको बारेमा बनाइएको कुनै भिडिओ हेर्नुभयो र त्यसमा उल्लेखित प्रत्येक डिभाइसका फाइदा र बेफाइदाबारे जान्न चाहनुभयो भने लिङ्क जेमिनाईमा राखेर प्रश्न सोध्न सक्नुहुन्छ ।

यो एउटा परीक्षण मोडेल भएकाले उत्कृष्ट नतिजा प्राप्त गर्न प्रश्नमा केही परिवर्तन गर्नुपर्ने हुन सक्छ । कहिलेकाहीं जेमिनाईले भिडिओको यूआरएल चिन्न असफल हुन सक्छ । यस्तो अवस्थामा युट्युबले शेयर गर्दा दिएको यूआरएल प्रयोग गर्न सक्नुहुन्छ ।

यदि युट्युब भिडिओको विवरण विस्तृत छ भने, यसले जेमिनाईलाई सजिलो बनाउन सक्छ । तर, भिडिओमा बोलिएका कुरा विश्लेषण गर्नका लागि प्रश्नमा स्पष्ट रूपमा उल्लेख गर्नुपर्ने हुन्छ । यस फिचरले प्रयोगकर्ताहरूलाई कुनै खास जानकारीको लागि पूरा भिडियो हेर्नु नपर्ने अवस्थाबाट मुक्ति दिन्छ । खाना पकाउने भिडिओबाट रेसिपी निकाल्न, भाषणको ट्रान्सक्रिप्ट बनाउन वा कुनै जानकारीमूलक भिडिओलाई चरणबद्ध रूपमा विभाजन गर्न यो उपयोगी हुन सक्ने बताइएको छ ।

पछिल्लो अध्यावधिक: माघ २७, २०८१ ११:२०