close

एकैपटक ३ हजार कर्मचारी निकाल्दै मेटा, कारण के होला ?

टेकपाना टेकपाना

माघ २७, २०८१ १४:१०

एकैपटक ३ हजार कर्मचारी निकाल्दै मेटा, कारण के होला ?

काठमाडौं । फेसबुक र इन्स्टाग्रामको मातृ कम्पनी मेटाले भोलि अर्थात् १० फेब्रुअरीदेखि कर्मचारी कटौती गर्ने भएको छ । कम्पनीले कार्यसम्पादनमा कमजोर देखिएका कर्मचारीलाई निकाल्न लागेको हो ।

बिजनेस इन्साइडरले प्राप्त गरेको आन्तरिक जानकारी अनुसार मेटाले एक दर्जनभन्दा बढी देशमा कार्यरत तीन हजार बढी कर्मचारी निकाला गर्नेछ । मेटाकी मानव संसाधन उपाध्यक्ष जेनेल गेलका अनुसार कार्यसम्पादनमा कमजोर देखिएका कर्मचारीहरूलाई ईमेलमार्फत सूचना पठाइने र एक घण्टाभित्रै उनीहरूको कम्पनीको सिस्टममा पहुँच बन्द गरिने छ ।

गेलले कम्पनीको आन्तरिक फोरममा लेखेकी छिन्, “यदि सोमबार कुनै टोलीका सदस्य वा म्यानेजरले कम्पनी छोड्नुभयो भने यो कठिन दिन हुन सक्छ । यसले तपाईंको दैनिक काममा केही अवरोध र अल्पकालीन प्रभाव पार्न सक्छ ।”

जनवरीमा सीईओ मार्क जुकरबर्गले कार्यसम्पादन व्यवस्थापनमा मापदण्ड बढाउने र कम प्रदर्शन गर्नेहरूलाई चाँडै हटाउने घोषणा गरेका थिए । जनवरीमा कम्पनीले आफ्नो कुल कर्मचारीको पाँच प्रतिशत अर्थात् करिब तीन हजार ६ सय कर्मचारी घटाउने योजना ल्याएको थियो । मेटाले यसअघि २०२२ र २०२३ को बीचमा २१ हजार कर्मचारी हटाएको थियो ।

यो कटौती एसिया-प्यासिफिक क्षेत्रबाट सुरु भएर युरोप, मध्य पूर्व र अफ्रिका हुँदै उत्तर र ल्याटिन अमेरिकामा सकिने गरी विभिन्न समय क्षेत्रहरूमा लहरै हुने जनाइएको छ । 

यसैबीच मेटाले मेसिन लर्निङ इन्जिनियर र अन्य ‘व्यवसायका लागि महत्वपूर्ण’ इन्जिनियरिङ पदमा तत्काल कर्मचारी राख्ने प्रक्रियालाई तीव्रता दिने भएको छ । यसका लागि ११ मार्चदेखि १३ फेब्रुअरीसम्ममा कर्मचारी भर्ना गरिने रोयटर्सले उल्लेख गरेको छ । कम्पनीले सन् २०२५ का लागि प्राथमिकता निर्धारण गरी सोही अनुसार कर्मचारी राख्ने जनाएको छ ।

पछिल्लो अध्यावधिक: माघ २७, २०८१ १४:५८