काठमाडौं । नेपाल बसेर अवैध अनलाइन सट्टेबाजी तथा क्रिप्टोकरेन्सी कारोबार गरेको आरोपमा २३ जना भारतीय नागरिक पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरी टोलीले आइतबार राति बुढानीलकण्ठ नगरपालिकाको एक घरमा छापा हानी उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
परिसरका प्रवक्ता एवम् प्रहरी उपरीक्षक अपिलराज बोहोराका अनुसार बुढानीलकण्ठ नगरपालिका वडा नम्बर ३ मा रहेको एक घरमा प्रहरीले राति छापा मारेको थियो । त्यस क्रममा २३ भारतीयलाई प्रहरीले नियन्त्रणमा लिएको हो । उनीहरूको साथबाट ८८ थान मोबाइल र १० थान ल्यापटप बरामद गरिएको छ ।
“हामीलाई सूचना आएपछि छापा मारेका थियौँ,” प्रहरी उपरीक्षक बोहोराले भने, “उनीहरू सबैलाई नियन्त्रणमा लिँदा झन्डै बिहान १ बजिसकेको थियो ।” प्रहरी उपरीक्षक बोहोराका अनुसार उनीहरूबाट बरामद ल्यापटप र फोन विश्लेषण गर्ने काम भइरहेको छ । उनीहरूले कहिलेदेखि यस किसिमको गतिविधि सुरु गरे, कति कारोबार गरे भन्ने विवरण बाहिर आइसकेको छैन । मङ्गलबार पत्रकार सम्मेलन गर्दै उनीहरूलाई सार्वजनिक गर्ने प्रहरीको तयारी छ ।