काठमाडौं । नेकपा (माओवादी केन्द्र) का सचिव एवम् सांसद देवेन्द्र पौडेलले सरकारले ल्याएको सामाजिक सञ्जाल विधेयक अभिव्यक्ति स्वतन्त्रता विरुद्ध रहेको बताएका छन् । आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले लोकतन्त्रमा आलोचना गर्न पाउने अधिकार सुनिश्चित गरिएको स्मरण गराउँदै सरकारले विधेयकमार्फत अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्न खोजेको आरोप लगाए ।
विधेयकले विशेषगरी नयाँ पुस्ताको अभिव्यक्तिमाथि अंकुश लगाउने उनको टिप्पणी छ । “जेन-जी पुस्तालाई अपमान गर्नेगरी, उनीहरूको भावनामा बज्रपात पर्नेगरी विधेयक ल्याइएको छ,” उनले भने ।
पौडेलले विधेयकका प्रावधानहरू कठोर रहेको भन्दै कुनै पोस्टमा लाइक, कमेन्ट, लाइभ स्ट्रिमिङ, शेयर, रिपोस्ट, ट्याग, सब्सक्राइब, ह्यासट्याग वा मेन्सन गरेमा समेत पाँच लाख रुपैयाँसम्म जरिवाना हुनसक्ने व्यवस्था विधेयकमा उल्लेख गरिएको बताए । “यही हो त हाम्रो संविधानमा गरिएको व्यवस्था ? यसैका लागि हामी लडेका हौं ?” उनले प्रश्न गरे ।
सामाजिक सञ्जालको नियमन हुनुपर्ने आवश्यकतालाई आफूहरूले स्वीकार गरेपनि सूचना हकसँग सम्बन्धित विषयमा फौजदारी कारबाहीको व्यवस्था गर्न खोजिएकोले विरोध गरेको उनले बताए ।