काठमाडौं । अहिले सामाजिक सञ्जाल एक्स, टिकटक र फेसबुकमा एक भिडिओ निकै भाइरल छ । भिडिओमा एक युवक समुन्द्रमा कायक (डुङ्गा) चलाइरहेका हुन्छन् । त्यसको केही सेकेन्डपछि कायकमा चढेका युवक अचानक हराउँछन् ।
भिडिओलाई गहिरिएर हेर्ने हो भने विशाल ह्वेल (सम्भवतः कुम्ले ह्वेल) ले आफ्नो मुख खोलेको देखिन्छ । युवक राफ्टसहित ह्वेलको मुखमा पर्छन् । त्यस लगत्तै ह्वेल डाइभ हान्छ र त्यहाँ सन्नाटा छाउँछ । लाग्छ त्यहाँ कोही थिएन । अर्थात् ठूलो भुमरी थियो, जसले केही क्षणमै व्यक्तिलाई आफूतिर तानेर पानीभित्र लग्यो । त्यहाँ केही सेकेन्डसम्म सामुद्रिक लहरबाहेक केही देखिंदैन ।
त्यसको केही सेकेन्डपछि युवक र उनको राफ्ट पानी भित्रबाट निस्किन्छन् । अर्को राफ्टमा भएका व्यक्ति अत्तालिएर ‘रिल्याक्स’, ‘रिल्याक्स’ भन्छन् । र, ती युवकलाई डोरी समात्न भन्छन् । अर्थात् ती युवक ह्वेलको मुखबाट जीवित फर्किएका हुन्छन् । मृत्युको मुखबाट जीवित निस्किएको भन्दै अहिले विश्वव्यापी रूपमा यस घटनाको चर्चा भइरहेको छ ।
बीबीसीका अनुसार ह्वेलको मुखमा परेका व्यक्ति भेनेजुएलाका २३ वर्षीय एड्रियन सिमान्कास हुन् ।
यो घटना गत शनिबारको हो । एड्रियन र उनका बुवा दिउँसो ३ बजे चिलीको पाटागोनिया तटबाट म्यागेलनको जलसन्धिमा कायकिङ (डुङ्गा, मोटरबोट वा राफ्टमा बसेर पानी खियाउने काम) गरिरहेका थिए ।
त्यो पल सम्झिँदै एड्रियनले बीबीसीलाई भनेका छन्, “मलाई एकैपटक पछाडिबाट केहीले हिर्काएको, मलाई घेरेको र डुबाएको महसुस भयो ।”
केही मिटरको दूरीमा रहेका उनका बुवा चढेको राफ्टमा रहेको क्यामेराले यो छोटो घटनालाई भिडिओका रूपमा कैद गरिरहेको थियो । “मैले आँखा चिम्लें । जब फेरि आँखा खोलें, तब म ह्वेलको मुखभित्र छु भन्ने थाहा पाएँ,” एड्रियनले भने, “चिल्लो पदार्थले मेरो अनुहार छोएको महसुस गरें ।” उनले त्यहाँ एकैपटक अँध्यारो नीलो र सेतो चिज मात्र देखेको बताए ।
“यदि यसले मलाई निल्यो भने म के गर्छु भन्ने मलाई केही पनि थाहा थिएन । किनभने म योसँग लड्न सक्ने अवस्थामा थिइनँ,” उनले भने, “तर, मलाई अब के गर्ने भन्ने सोच्नुपर्ने थियो ।”
त्यसको केही सेकेन्डमै एड्रियनलाई ह्वेलले भित्र निल्नुको सट्टा मुखबाट बाहिर हुत्याएको जस्तो महसुस भयो ।
“मलाई सास रोक्न सक्छु कि सक्दिनँ भन्ने डर लागिरहेको थियो । किनकि त्यतिबेला म कति गहिरोमा छु भन्ने थाहा थिएन, र मलाई माथि आउन धेरै समय लाग्छ भन्ने लागेको थियो,” उनले भने, “म दुई सेकेन्डको लागि माथि आएँ । धन्न धेरै गहिरोमा रहेनछु र अन्तमा सतहमा पुगेँ । त्यसपछि यसले मलाई खाएको रहेनछ भन्ने थाहा पाएँ ।”
नजिकैको राफ्टमा एड्रियनका बुवा डल सिमान्कास अविश्वसनीय रूपमा यो दृश्य केही सेकेन्ड भएपनि नियालिरहेका थिए ।
एड्रियनका बुवाका अनुसार उनीहरूले इगल बे पार गरेको मात्र के थिए (चिलीको दक्षिणी सहरबाट तलको तटमा पर्ने भाग) उनले पछाडिपट्टिबाट ठूलो आवाज आएको सुने । “जब मैले फर्केर हेरें, मैले एड्रियनलाई देखिनँ । उसलाई समुद्रबाट बाहिर आइरहेको नदेख्दासम्म मलाई निकै चिन्ता लागेको थियो,” एड्रियनका बुवाले भने, “त्यसपछि मैले अजङ्गको शरीर देखें, जसलाई मैले तुरुन्तै ह्वेल हो भनेर अनुमान गरें, किनकि त्यो विशाल थियो ।”
एड्रियनका बुवाले आफ्नो राफ्टको पछाडि क्यामेरा जोडेका थिए जसले बढ्दो छालहरू रेकर्ड गर्थ्यो । यही क्यामेराले उनका छोराको यो अविस्मरणीय अनुभव कैद गर्यो ।
भिडिओ हेरेपछि एड्रियन ह्वेलको आकार देखेर स्तब्ध भएको बीबीसीलाई बताएका छन् ।
“मैले ह्वेलले निलेको देखेको थिइनँ । र, ठूलो आवाज आएपछि फर्किएर हेर्दा पखेटा मात्र देखेको थिएँ । त्यसले मलाई नर्भस बनायो,” एड्रियनका बुवाले भने, “तर पछि भिडिओ हेर्दा पो वास्तविकता थाहा पाएँ । यदि छोरालाई निलेको पल तत्कालै आँखाले देखेको भए म झनै डराउने थिएँ ।”
एड्रियनका लागि यो अनुभव मृत्युको मुखबाट फर्किएको जस्तो भए पनि वास्तवमा ह्वेलले उनलाई निल्ने भने थिएन ।
बीबीसीले सार्वजनिक गरेको रिपोर्टमा वन्यजन्तु विशेषज्ञको भनाइ उद्धत गरिएको छ । उनीहरूका अनुसार कुम्ले ह्वेलको घाँटी साँघुरो हुन्छ । यो ‘घरायसी पाइपको आकारको’ जत्तिकै हुन्छ, जसले साना माछा (विशेषगरी झिङ्गे माछा) निल्ने किसिमको हुन्छ ।
ब्राजिलका संरक्षणविद् रोचेड जेकबसन सेबाले बीबीसीलाई भने, “तिनीहरूले शारीरिक रूपमा कायक, टायर वा टुना र ठूला माछाहरू निल्न सक्दैनन् । निल्न नसक्ने भएपछि ह्वेलले कायक थुकिदियो । किनकि शारीरिक रूपमा यसलाई निल्न असम्भव थियो ।”
कुम्ले ह्वेलले एड्रियनलाई गल्तीले निलेको हुनसक्ने सेबाले बताए । “ह्वेलले माछाको बथानलाई खाइरहेको थियो होला । तर, त्यहीबेला माथि सतहमा रहेको कायकलाई अञ्जानमा मुखमा पर्यो,” उनले भने, “खाइरहेको बेला ह्वेल धेरै छिटो सतहमा आउँदा तिनीहरूले अञ्जानमा आफ्नो बाटोमा भएका वस्तुलाई हिर्काउन वा निल्न सक्छन् ।”