काठमाडौं । भारतको ओडिसास्थित एक विश्वविद्यालयमा अध्ययनरत नेपाली छात्राको मृत्यु भएपछि त्यहाँको वातावरण तनावग्रस्त बनेको छ । कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी)मा बीटेक तेस्रो वर्षमा अध्ययनरत बुटवलकी प्रकृति लम्साल आइतबार आफ्नो होस्टेलमा मृत भेटिएकी हुन् ।
प्रहरीले प्रारम्भिक अनुसन्धानमा आत्महत्याको आशंका गरेपनि लम्सालका साथीहरूले मृत्युको कारण अर्कै भएको दाबी गरेका छन् । उनीहरूका अनुसार लम्साल लामो समयदेखि एक सहपाठी (पूर्व प्रेमी)बाट मानसिक र शारीरिक यातना सहन बाध्य थिइन् । यस सम्बन्धमा प्रकृतिले विश्वविद्यालय प्रशासनलाई जानकारी गराए पनि कुनै सुनुवाइ नभएको उनीहरूको आरोप छ ।
मृत्युको खबर फैलिएपछि विद्यार्थीहरूले क्याम्पस परिसरमा प्रदर्शन गरेका थिए । उनीहरूले निष्पक्ष छानबिनको माग गर्दै क्याम्पस प्रशासनको लापरबाहीको विरोध गरेका थिए । तर, प्रशासनले उल्टै विद्यार्थीहरूलाई क्याम्पस छोड्न निर्देशन दिएको छ ।
विश्वविद्यालयका अधिकारीले अवस्थालाई सामान्य बनाउन छलफल गरेर नेपाली विद्यार्थीहरूलाई घर पठाइएको बताएका छन् । “परिस्थितिलाई ध्यानमा राख्दै नेपाली विद्यार्थीहरूलाई उनीहरूको घर फर्काइएको छ। अहिले स्थिति सामान्य छ,” केआईआईटी विश्वविद्यालयद्वारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ ।
एक एक्स प्रयोगकर्ता @Twi_Swastideep ले एउटा भिडियो शेयर गर्दै नेपाली विद्यार्थीहरूमाथि दमन भएको बताएका छन् । उनले लेखेका छन्, “केआईआईटीका सुरक्षा गार्डहरूले प्रदर्शन गरिरहेका नेपाली विद्यार्थीहरूलाई कुटपिट गरेका छन् ।”
भारतीय सञ्चार माध्यमका अनुसार विद्यार्थीलाई दुईवटा बसमा भएका नेपाली विद्यार्थीहरूलाई सोमबार कट्टक रेल्वे स्टेशनमा झारिएको छ। “हामीलाई छात्रावास खाली गर्न भनियो र रेल्वे स्टेशनमा छोडियो। हाम्रो परीक्षा फेब्रुअरी २८ मा थियो ।” एक नेपाली विद्यार्थीले कट्टक रेल्वे स्टेसनमा सञ्चारकर्मीहरूसँग भनेका छन् । उनीहरूले आफूहरूलाई कति समयका लागि सस्पेन्ड गरिएको जानकारी नभएको र अब के गर्ने भन्ने विषयमा अन्यौलता भएको बताएका छन् । एक विद्यार्थीले भने, “अब फेरि कलेज जान पाइन्छ कि पाइँदैन पनि थाहा छैन ।”
यता प्रकृतिको पूर्वप्रेमी अद्विक श्रीवास्तव पक्राउ परेका छन् । प्रहरी अधिकारीका अनुसार हाल उनको सोधपुछ भइरहेको छ । यस्तै प्रकृतिको मृत्युबारे परिवारलाई जानकारी गराइएको प्रहरीले जनाएको छ । परिवारका सदस्य नआउन्जेलका लागि शवलाई शव गृहमा राखिएको र कोठा सिल गरिएको बताइएको छ ।
यस घटनाले ओडिसामा रहेका अन्य नेपाली विद्यार्थीहरूको सुरक्षामाथि पनि प्रश्न उठाएको छ । विद्यार्थीहरूले आफूहरू असुरक्षित महसुस गरेको र क्याम्पस प्रशासनले घटनालाई सामान्य रुपमा लिएको आरोप लगाएका छन् ।
यसैबीच, प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले घटनालाई गम्भीरतापूर्वक लिएको र कुटनीतिक तवरबाट यसको छानबिन गर्ने बताएका छन् । उनले सामाजिक सञ्जालमार्फत सरकारले घटनाबारे जानकारी लिएको र आवश्यक कदम चाल्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
“भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयको होस्टेलमा एकजना नेपाली छात्राको मृत्यु भएको र नेपाली विद्यार्थीलाई होस्टेलबाट जबर्जस्ती निकालेको कुरा मिडिया र सामाजिक सञ्जाल मार्फत जानकारीमा आएको छ । यस विषयमा सरकारले कूटनीतिक तवरले बुझ्दै सम्पर्कमा रहेर काम गरिरहेको छ,” ओलीले लेखेका छन् ।