close

छुट्टै एआई एप ल्याउँदै मेटा, च्याटजीपीटी र जेमिनाईलाई चुनौती

टेकपाना टेकपाना

फागुन १७, २०८१ १६:२

छुट्टै एआई एप ल्याउँदै मेटा, च्याटजीपीटी र जेमिनाईलाई चुनौती

काठमाडौं । फेसबुकको मातृ कम्पनी मेटाले आफ्नो छुट्टै एआई एप ल्याउने भएको छ । ओपनएआईको च्याटजीपीटी, गुगलको जेमिनाई र माइक्रोसफ्टको कोपाइलट जस्ता टुलसँग प्रतिस्पर्धा गर्न कम्पनीले नयाँ एआई एप ल्याउन लागेको हो । 

सीएनबीसीको एक समाचार अनुसार मेटाले फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएप जस्ता अन्य एपसँगै यो नयाँ एआई टुल सन् २०२५ को दोस्रो त्रैमासमा एप स्टोरहरूमा ल्याउनेछ । यससँगै मेटाले छिट्टै रिल्स एप पनि जारी गर्न सक्ने बताइएको छ ।

हाल इन्स्टाग्राममा रहेको भिडिओ एडिटिङ फिचरलाई छुट्टै एपमार्फत उपलब्ध गराउने तयारी भइरहेको पनि समाचारमा उल्लेख छ । यो एप बाइटडान्सको क्यापकट जस्तै हुने चर्चा छ । 

सीईओ मार्क जुकरबर्गले यस वर्षको अन्त्यसम्ममा एआईको क्षेत्रमा मेटालाई अग्रणी बनाउने लक्ष्य राखेका छन् ।

मेटाको एआई प्रडक्ट पहिलेदेखि नै फेसबुक र इन्स्टाग्राम जस्ता एपमा सर्च फिचरको रूपमा समावेश छ । यसमा अन्य एआई प्रडक्टमा जस्तै जेनेरेटिभ एआई (शब्द, फोटो आदि तयार पार्न सक्ने) क्षमता छन् । यो छुट्टै एपले प्रयोगकर्तालाई अझ गहिरो रूपमा अन्तरक्रिया गर्न सघाउने कम्पनीको विश्वास छ । 

मेटा एआई अहिलेलाई नि:शुल्क नै हुनेछ, तर मेटाले थप स्तरीय फिचर चपलब्ध गराएर प्रिमियम मेम्बरशिपको फिचर ल्याउने तयारी गरेको छ । अहिले यस्तो फिचर परीक्षणकै क्रममा छ ।

पछिल्लो अध्यावधिक: फागुन १७, २०८१ १६:२