close

नेपालमा ड्रोन प्रविधि प्रवर्द्धन गर्न ड्रोनआचार्यलाई विश्व बैंकको साढे ७३ लाखको ठेक्का

टेकपाना टेकपाना

फागुन २९, २०८१ १७:३३

नेपालमा ड्रोन प्रविधि प्रवर्द्धन गर्न ड्रोनआचार्यलाई विश्व बैंकको साढे ७३ लाखको ठेक्का

काठमाडौं । नेपालमा ड्रोन प्रविधिको विकासलाई तीव्रता दिन भारतीय कम्पनी ड्रोनआचार्य एरियल इनोभेसन्स लिमिटेडले विश्व बैंकको ‘नेपाल ड्रोन इकोसिस्टम एक्सिलेरेसन प्रोग्राम’ अन्तर्गत ४६ लाख भारतीय रुपैयाँ (७३ लाख ६० हजार नेपाली रुपैयाँ) बराबरको ठेक्का प्राप्त गरेको छ । ​

 

यो परियोजनाले नेपालमा ड्रोन प्रविधिको प्रयोगलाई व्यापक बनाउन र विभिन्न क्षेत्रमा यसको उपयोगिता बढाउन मद्दत गर्ने बताइएको छ । परियोजनाको सुरुवातमा अर्न्स्ट एन्ड योङ (ईवाई)ले ठेक्का पाएको थियो । पछि ईवाईले ड्रोनआचार्य र आईआईटी रोपडसँग सहकार्य गरी यो परियोजनालाई अगाडि बढाउन सहायक-ठेक्का दिएको हो ।

टेकपानासँग ह्वाट्एसएपमा कुरा गर्दै ड्रोनआचार्यका प्रतिनिधिले ठेक्का पाएको पुष्टि गरे । यस सहकार्यमार्फत परामर्श, प्राज्ञिक ज्ञान र प्राविधिक तालिमलाई संयोजन गरी नेपालको ड्रोन इकोसिस्टम थप मजबुत हुने विश्वास लिइएको छ ।

यो कार्यक्रम विशेषगरी अत्याधुनिक ड्रोन तालिममा केन्द्रित हुनेछ, जसले नेपालका सरकारी र निजी क्षेत्रका सरोकारवालाहरूलाई ड्रोन प्रविधिमा दक्ष बनाउनेछ । लगभग छ महिनासम्म चल्ने  परियोजनाले नेपालमा ड्रोन प्रविधिको प्रयोगलाई नयाँ उचाइमा पुर्‍याउने अपेक्षा गरिएको छ । यद्यपि यो परियोजना नेपालमा कहिलेदेखि सुरु हुन्छ भन्नेबारे आधिकारिक जानकारी आउन बाँकी छ ।

ड्रोनआचार्यका संस्थापक तथा प्रबन्ध निर्देशक प्रतीक श्रीवास्तवले यस कार्यक्रमले नेपालमा नवीनतम र प्राविधिक आत्मनिर्भरतालाई बढावा दिने बताएका छन् । भारतीय सञ्चारमाध्यम इङ्क २४ सँग कुरा गर्दै उनले भने, “यो साझेदारीले विश्वव्यापी ड्रोन नवप्रवर्तनमा ड्रोनआचार्यको नेतृत्वलाई थप बलियो बनाउने र अन्तर्राष्ट्रिय स्तरमा यूएभी (मानवरहित हवाई वाहन) समाधानलाई अगाडि बढाउने हाम्रो प्रतिबद्धतालाई दर्शाउँछ ।”

यस परियोजनाले ड्रोन इकोसिस्टमको विश्लेषण, कमीकमजोरीको पहिचान, नमुना विकास र अत्याधुनिक ड्रोन तालिममा विशेष ध्यान दिने बताएको छ । यसले नेपालमा ड्रोन प्रविधिको लागि आवश्यक पूर्वाधार तयार पार्न सहयोग पुग्ने कम्पनीको भनाइ छ ।

पछिल्लो अध्यावधिक: फागुन २९, २०८१ १७:३३