काठमाडौं । के तपाईँलाई थाहा छ, नेपालमा थ्रिजीको तुलनामा टुजी चलाउने ग्राहकको सङ्ख्या चार गुणा बढी छ । सेवा प्रदायक कम्पनीहरूले आफ्नो ध्यान फोरजीमा केन्द्रित गरेसँगै थ्रीजी करिब करिब बन्द हुने अवस्थामा पुगेको हो ।
नियामक नेपाल दूरसञ्चार प्राधिकरणको पछिल्लो एमआईएस रिपोर्ट अनुसार नेपालमा थ्रिजी मोबाइल सेवा प्रयोग गर्ने ग्राहकको सङ्ख्या ९ लाख २३ हजार ६५६ मात्र छ । जब कि टुजी सेवाका प्रयोगकर्ता करिब चार गुणा बढी अर्थात ३३ लाख ६२ हजार २९६ रहेका छन् ।
यद्यपि मोबाइल ब्रोडब्यान्डमा फोरजीमा सबैभन्दा बढी ग्राहक रहेका छन् । तथ्याङ्क अनुसार हाल नेपालमा कूल दुई करोड ५० लाख ७५ हजार ४१९ प्रयोगकर्ताले फोरजी मोबाइल सेवा चलाउने गरेका छन् ।
यद्यपि टेलिकमले थ्रिजी बन्द गर्ने घोषणा भने गरिसकेको छैन । हाल थ्रीजी तर्फ नेपाल टेलिकमका ग्राहक ७ लाख ८२ हजार ३०० रहेका छन् भने एनसेलमा एक लाख ३८ हजार ५६१ मात्र बाँकी छन् ।