काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालकी केन्द्रीय सदस्य नेतृ डाक्टर बबी सिंह यादवले सामाजिक सञ्जालमा भाइरल भइरहेको एक भिडिओलाई लिएर स्पष्टीकरण दिएकी छन् । एक वैवाहिक समारोहमा ‘रेन्जर टोइ’ नामक खेलौनाबाट गरिएको फायरलाई अतिरञ्जित गरी सामाजिक सञ्जालमा प्रचार गरिएको प्रति उनले चिन्ता व्यक्त गरेकी हुन्।
नेतृ बबीले एक समारोहकाबिच बन्दुक चलाएको भिडिओ अहिले सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ । सो भिडिओलाई लिएर उनले आफ्नो फेसबुक पेज मार्फत स्पष्टीकरण दिएकी हुन् । उनले एक वैवाहिक समारोहकाबिच 'रेन्जर टोय' नामक खेलौनाले फायरिङ गरेको दाबी गर्दै आफूले प्रयोग गरेको खेलौना गनको तस्विर समेत फेसबुकमा राखेकी छिन् ।
"केही समय यता सामाजिक सञ्जालमा भाइरल भइरहेको एक भिडिओ प्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ । एक वैवाहिक समारोहकाबिच मैले रेन्जर टोय नामक खेलौनाले गरेको फायरलाई अतिरञ्जित नबनाई दिनु हुनका लागि यहाँ सम्पूर्णमा अनुरोध एवं आग्रह गर्दछु । साथै, सो भिडिओ नितान्त मनोरञ्जनात्मक मात्रै भएको समेत जानकारी गराउँदछु," उनले आफ्नो फेसबुक स्टाटसमा लेखेकी छिन् ।
उक्त भिडिओ केही दिनयता विभिन्न प्लेटफर्ममा भाइरल हुँदै आएको छ । भिडिओमा देखिएको ‘फायर’ लाई लिएर सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले विभिन्न प्रतिक्रिया दिइरहेका छन् ।