काठमाडौं । प्रहरीलाई फोनमार्फत अश्लील तथा अपमानजनक शब्द प्रयोग गरी धम्क्याउने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले झापाको हल्दिबारी गाउँपालिका–१ का २७ वर्षीय नितेश ओली भन्ने नवराज ओलीलाई पक्राउ गरेको हो ।
गएको ३ चैतमा काठमाडौंको सोह्रखुट्टेबाट पक्राउ परेका उनलाई अनुसन्धानका लागि झापा लगिएको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रबहादुर खड्काले जानकारी दिए । ओलीविरुद्ध सामाजिक सञ्जालमार्फत विभिन्न व्यक्तिहरूलाई गालीगलौज गर्दै धम्की दिएको भन्दै गोलधाप प्रहरी चौकीमा उजुरी परेको थियो ।
उजुरीपछि ओलीलाई प्रहरीले खोजी गर्न थालेको थियो । यसै क्रममा गत फागुन ४ मा गोलधाप प्रहरी कार्यालयमा कार्यरत प्रहरीलाई फोन गरेर ओलीले अश्लील तथा अपमानजनक शब्द प्रयोग गर्दै धम्क्याएका थिए ।
उनीविरुद्ध फौजदारी अपराध संहिता २०७४ अन्तर्गत अभद्र व्यवहार कसुरमा अनुसन्धान अघि बढाइएको जानकारी प्रहरीले दिएको छ । जिल्ला प्रशासन कार्यालय झापाबाट पाँच दिनको म्याद थपेर उनीमाथि अनुसन्धान भइरहेको बताइएको छ ।