काठमाडौँ । एप्पलले सार्वजनिक गर्ने तयारीमा रहेको फोल्डेबल आईफोनको विषयमा केही जानकारीहरू बाहिरिएका छन् ।
ब्लूमबर्गका पत्रकार मार्क गुरमनले ‘पावर अन’ न्यूजलेटरमार्फत एप्पलको फोल्डेबल आइफोनबारे महत्वपूर्ण जानकारी सार्वजनिक गरेका हुन् । उनका अनुसार यो फोल्डेबल आइफोन अन्य फोल्डेबल स्मार्टफोनभन्दा दुई प्रमुख विशेषतामा अगाडि हुनेछ ।
गुरमनका अनुसार फोल्डेबल आइफोनमा फोल्ड भएको ठाउँ 'क्रिज' देखिने छैन । यसले गर्दा करिब ७.८ देखि ८ इन्चको भित्री स्क्रिन झनै आकर्षक देखिनेछ र प्रयोगकर्ताले राम्रो भिजुअल अनुभव प्राप्त गर्ने बताइएको छ ।
यस्तै फोल्डेबल आइफोनमा अन्य फोनको तुलनामा उच्च गुणस्तरको हिन्ज (फोल्डेबल फोनको दुईवटा स्क्रिन जोडिने भाग) प्रयोग गरिनेछ । यसबारे गुरमनले विस्तृत जानकारी नदिए पनि, एप्पल आपूर्ति विश्लेषक मिङ-ची कूका अनुसार हिन्ज टाइटेनियम र स्टेनलेस स्टीलको मिश्रणबाट बनाइनेछ।
मिङ-ची कूका अनुसार फोल्डेबल आइफोनमा ७.८ इन्चको भित्री डिस्प्ले, ५.५ इन्चको बाहिरी स्क्रिन, पछाडि दुई वटा क्यामेरा, अगाडि एउटा क्यामेरा, फेस आईडीको सट्टा टच आईडी भएको पावर बटन, र उच्च क्षमता भएको ब्याट्री हुनेछ।
यो फोन खोल्दा ४.५ एमएम जति पातलो हुने र बन्द गर्दा मोटाइ ९ देखि ९.५ एमएमको हाराहारी हुने अपेक्षा गरिएको छ।
फोल्डेबल स्मार्टफोनको बजारमा एप्पलको प्रवेश कहिले हुने भन्ने बारेमा भने आधिकारिक घोषणा भएको छैन ।