काठमाडौँ । नेकपा एमालेकी सांसद सुनिता बरालले सूचना प्रविधि क्षेत्रलाई नेपालको आर्थिक कूटनीतिको केन्द्रमा राख्न माग गरेकी छन् ।
प्रतिनिधिसभाको मङ्गलबारको बैठकमा बोल्दै उनले नेपाल विश्वव्यापी डिजिटल अर्थतन्त्रतर्फको परिवर्तनबाट आर्थिक वृद्धिको ठूलो अवसर पाउने मोडमा रहेकाले आईटी क्षेत्रलाई प्राथमिकतामा राख्न सरकारको ध्यानाकर्षण गराइन् ।
“नेपालको आर्थिक कूटनीतिमा सूचना प्रविधि क्षेत्रलाई केन्द्रमा राख्नुपर्छ,” एमालेकी सचेतक समेत रहेकी बरालले भनिन्, “हाम्रा कूटनीतिक मिसनहरूले नेपालको आईटी क्षमतालाई नेपाल बाहिर कसरी सक्रिय रुपमा प्रवर्द्धन गर्न सकिन्छ भन्ने कुरा प्राथमिकतामा राख्न जरुरी छ ।”
उनका अनुसार डिजिटल अर्थतन्त्रले परम्परागत क्षेत्रलाई उछिन्दै विश्वव्यापी जीडीपीको ४.५ प्रतिशत हिस्सा ओगटेको छ, जुन २.५ गुणा छिटो दरमा वृद्धि भइरहेको छ ।
“विश्वको ध्यान र प्राथमिकता तान्न सफल आईटी क्षेत्र हाम्रो देशको आर्थिक कूटनीतिको केन्द्रमा राखेर काम गर्न नेपाल सरकारलाई ध्यानाकर्षण गराउन चाहन्छु,” उनले भनिन् ।