close

एनसेल र जीएसएमएबीच अपाङ्गता समावेशी सेवाका लागि सहकार्य

टेकपाना टेकपाना

जेठ ४, २०८२ २२:१०

एनसेल र जीएसएमएबीच अपाङ्गता समावेशी सेवाका लागि सहकार्य

काठमाडौँ । एनसेल नेपालमा अपाङ्गता भएका व्यक्तिहरूका लागि डिजिटल समावेशीकरण प्रवर्द्धन गर्ने जीएसएमए सिद्धान्तमा हस्ताक्षर गर्ने पहिलो टेलिकम कम्पनी बनेको छ। यस सहकार्यसँगै एनसेलले मोबाइल प्रविधिलाई सबैका लागि पहुँच योग्य बनाउन प्रतिबद्धता जनाएको कम्पनीको भनाइ छ । 

जीएसएमए (GSMA) विश्वभरका मोबाइल सेवा प्रदायकहरूको छाता संस्था हो, जसले डिजिटल समावेशीकरणका लागि निर्देशन र सहयोग प्रदान गर्दै आएको छ। 
जीएसएमएले तय गरेका सिद्धान्तहरूमा हस्ताक्षर गर्दै एनसेलले अपाङ्गता भएका व्यक्तिहरूको डिजिटल पहुँच सुनिश्चित गर्ने आफ्नो योजनालाई थप स्पष्ट पारेको कम्पनीले जनाएको छ । 

एनसेलले हाल “सधैं अन” योजना अन्तर्गत अपाङ्गता भएका प्रयोगकर्ताहरूलाई इन्टरनेट सेवामा ५० प्रतिशत छुट, ग्राहकमैत्री सेवा केन्द्र र अपाङ्गता मैत्री कार्यालय संरचनाजस्ता सेवा सञ्चालन गर्दै आएको छ। 

यसैगरी, कम्पनीले पारा खेलाडीहरूलाई सशक्त बनाउन विभिन्न सहकार्य पनि गरिरहेको छ।

एनसेल फाउन्डेसन एन्ड स्पेशल प्रोजेक्टकी निर्देशक विशाखा लक्ष्मी खड्काले भनिन्, “हामी केवल कनेक्टिभिटी सेवा दिइरहेका छैनौं, हामी मानिसहरूलाई सशक्त बनाइरहेका छौं। कोही पनि डिजिटल यात्राबाट पछाडि नपरोस् भन्ने हाम्रो उद्देश्य हो।” 

एनसेलले अब समावेशी सेवा र पहुँचयोग्य सुविधा डिजाइन गर्न तथा अपाङ्गता भएका समुदायसँग सहकार्य गर्दै उनीहरूको आवश्यकतालाई बुझ्न रणनीतिक रूपमा काम गर्ने जनाएको छ।

पछिल्लो अध्यावधिक: जेठ ४, २०८२ २२:३०