काठमाडौँ । एप्पलले आईफोन, एप्पल वाचजस्ता डिभाइसहरू प्रयोगकर्ताको अनुभव सहज बनाउनका लागि मात्रै नभई आपतकालीन अवस्थामा सहयोग पुर्याउने हिसाबले समेत तयार पार्ने गर्छ ।
कम्पनीले यस्ता उपयोगी फिचरहरू हरेक नयाँ मोडेलमा थप प्रभावकारी बनाउँदै आएको छ । प्रयोगकर्तालाई आकस्मिक अवस्थामा जीवनरक्षा गर्नसक्ने फिचरमध्ये ‘फल डिटेक्सन’ (लडेको पत्ता लगाउने), ‘इमर्जेन्सी एसओएस’ (आपतकालीन सहायता) र ‘इमर्जेन्सी कन्ट्याक्ट’ (आपतकालीन सम्पर्क) मुख्य हुन् ।
यस्ता फिचर काम गर्न पहिले नै डिभाइसमा सक्रिय गरिएको हुनुपर्छ ।
एप्पल प्रयोगकर्ताले आवश्यक रूपमा थाहा पाउनुपर्ने प्रमुख तीन आपतकालीन फिचर यस्ता छन्:
१. इमर्जेन्सी एसओएस (Emergency SOS)
यस फिचरको मद्दतले प्रयोगकर्ताले छिटो आपतकालीन सहायता माग्न सक्नेछन् । साइड बटन र भोल्युम बटन केही सेकेन्ड थिचेर राखेपछि ‘Emergency Call’ स्लाइडर देखा पर्दछ । यसलाई स्वाइप गरेपछि नजिकको आपतकालीन नम्बरमा फोन जान्छ । वैकल्पिक रूपमा ती बटन केहीबेर थिचिराखेपछि स्वतः काउन्टडाउन सुरु भई एसओएस कल हुने व्यवस्था पनि छ ।
२. क्र्यास डिटेक्सन (Crash Detection)
आईफोन १४ वा सोभन्दा नयाँ मोडेल तथा एप्पल वाच सिरिज ८, वाच एसई (Gen 2), वा वाच अल्ट्रामा उपलब्ध यो फिचरले गम्भीर सवारी दुर्घटना भएमा प्रयोगकर्ताको अवस्थालाई पहिचान गरी तुरुन्तै आपतकालीन सेवामा सम्पर्क गर्छ । सेटिङ्समा गएर ‘Emergency SOS’ अप्सनमा ‘Call After Severe Crash’ अप्सन सक्रिय गर्नुपर्छ ।
३. इमर्जेन्सी कन्ट्याक्ट (Emergency Contact)
आपतकालीन स्थितिमा नजिकको व्यक्तिसँग सम्पर्क गर्न ‘Emergency Contact’ फिचर उपयोगी मानिन्छ । ‘Health’ एपमा गएर प्रयोगकर्ताले नजिकको व्यक्तिको नम्बर राख्न सक्नेछन् । आकस्मिक अवस्थामा डिभाइसले स्वतः फोन वा सन्देशमार्फत ती व्यक्तिलाई जानकारी दिनेछ ।
यी फिचरहरू सक्रिय पारेर राखेमा आकस्मिक अवस्थाहरूमा समयमै सहायता पाउन सकिने एप्पलको दाबी छ । एप्पलले यस्ता सुविधाहरू निरन्तर सुधार गर्दै आइरहेको छ ।