काठमाडौं । अनलाइन ठगी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा प्रहरीले आइतबार ३ जनालाई पक्राउ गरेको छ । सामाजिक सञ्जाल फेसबुकमा विभिन्न पेजहरू खोली आइफोन सस्तो मूल्यमा बिक्री गर्ने नाममा ठगी गरेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको हो ।
प्रहरीका अनुसार उनीहरूले फेसबुक पेजमार्फत झुटो विज्ञापन पोस्ट गरी पीडितबाट एडभान्स पेमेन्ट पठाउन लगाई ठगी गर्ने गरेका थिए । पक्राउ पर्नेहरूमा झापा बिर्तामोड नगरपालिका-३ घर भई काठमाडौं महानगरपालिका-४ महाराजगन्ज चप्पल कारखाना बस्ने २१ वर्षीय अजित भण्डारी समेत रहेका छन् ।
त्यस्तै गोरखा सिरान चोक गाउँपालिका-५ घर भई काठमाडौं-२६ सामाखुसी बस्ने १९ वर्षीय विपिन मक्राती र नुवाकोट म्यागङ गाउँपालिका-२ घर भई काठमाडौं-१६ माछापोखरी बस्ने २१ वर्षीय मधु तामाङलाई समेत प्रहरीले पक्राउ गरेको छ । उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उपत्यकाका विभिन्न स्थानबाट पक्राउ गरेको हो ।
पक्राउ परेका तीनै ज माथि ठगी सम्बन्धी कसुरमा आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं भद्रकाली पठाइएको छ ।