काठमाडौँ । राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटीएनसी) ले अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप) मा वन्यजन्तुको अवैध चोरी सिकार न्यूनीकरण तथा निगरानीका लागि जासुसी क्यामेरा जडान गर्ने भएको छ । कोषले संरक्षण क्षेत्रका संवेदनशील ठाउँमा यी क्यामेरा राखेर वन्यजन्तुको गतिविधि र सम्भावित अवैध क्रियाकलापको प्रत्यक्ष निगरानी गर्ने भएको हो ।
एक्यापका परियोजना प्रमुख रविन कडरियाका अनुसार डाँफे, मुनाल जस्ता पक्षी तथा कस्तूरी मृग जस्ता वन्यजन्तुलाई पासो थाप्ने वा बन्दुकले सिकार गर्ने सम्भावित जोखिमयुक्त क्षेत्रमा यी क्यामेरा जडान गरिनेछ । “यी क्यामेराबाट हामीले कार्यालयमै बसेर प्रत्यक्ष भिडिओ हेर्न सक्छौं,” कडरियाले भने, “यसले गर्दा वन्यजन्तुको चोरीसिकार जस्ता अवैध गतिविधिमा संलग्न व्यक्तिको फोटो तथा भिडियो खिच्नेछ । यसबाट उनीहरूलाई पहिचान गरी कारबाही गर्न सजिलो हुन्छ ।”
कोषले यही महिनादेखि पहिलो चरणमा १० स्थानमा यस्ता क्यामेरा जडान गरिने जनाएको छ । “एक्यापमा हामी यो प्रविधि पहिलो पटक प्रयोग गर्दैछौं । र, अब यसको प्रभावकारिताको आधारमा छिट्टै ५० ठाउँमा विस्तार गर्ने हाम्रो लक्ष्य छ,” कडरियाले थपे । उनका अनुसार सम्भावित चोरी सिकारीलाई निरुत्साहित गर्न जासुसी क्यामेरा जडानको सूचना प्रसारण गरिएको छ ।
जासुसी क्यामेराले कसरी गर्छ काम ?
यी जासुसी क्यामेरा सोलार पाताबाट चल्नेछन् । क्यामेराबाट खिचिएको फोटो भिडिओ प्रत्यक्ष प्रसारणका लागि यसमा सिमकार्ड प्रयोग गरिएको हुन्छ । सिमकार्डकै नेटवर्कमार्फत कार्यालयको कम्प्युटरमा प्रत्यक्ष प्रसारण हुने कडरियाले सुनाए । “यो एक प्रकारले सीसी क्यामेरा जस्तै हो जसलाई हामीले कार्यालयबाटै २४ सै घण्टा निगरानी गर्न सक्छौं,” कडरियाले भने । यसका लागि ती क्षेत्रमा इन्टरनेट नभए पनि मोबाइल नेटवर्क (फोरजी चल्ने) भए पुग्नेछ ।
क्यामेराको अर्को महत्वपूर्ण पक्ष भनेको यसको सुरक्षा प्रणाली हो । यदि कसैले क्यामेरा हटाउन वा बिगार्न खोजेमा उक्त व्यक्तिको तस्विरसहितको जानकारी तुरुन्तै कार्यालयमा आइपुग्छ । यसले गर्दा थप कारबाही गर्न र क्यामेरा जोगाउन सकिने एक्यापको विश्वास छ । क्यामेराबाट प्राप्त हुने सम्पूर्ण डेटा एनटीएनसीसँग सुरक्षित रहने र यसको पहुँच अन्यत्र नहुने कडरियाले आश्वस्त पारे । हाल प्रयोग गर्न लागिएका क्यामेरा चीनबाट झिकाइएको हो ।
एनटीएनसी, लोमान्थाङ कार्यालयका प्रमुख उमेश पौडेलले यस्ता अनलाइन ‘स्पाई’ क्यामेराले तत्काल सूचना प्राप्त हुने हुँदा ‘इमिडिएट रेस्पोन्स’ गर्न, वन्यजन्तुको गतिविधिका आधारमा स्थानीयलाई सचेत गराउन र समग्र वन्यजन्तु अनुगमनमा मद्दत पुग्ने बताए । “अफलाइन क्यामेराको जानकारी लिन फिल्डमै पुग्नुपर्छ र डेटा झिक्नुपर्छ । तर अनलाइन क्यामेराले घटनाको जानकारी तुरुन्तै ईमेल वा एपमार्फत दिन्छ । यसले गर्दा आवश्यक एक्सन लिन सहज हुन्छ,” पौडेलले भने । उनका अनुसार यी क्यामेरा परम्परागत क्यामेरा ट्र्यापभन्दा फरक प्रकृतिका हुन्छन् । यी क्यामेरालाई कतिपय अवस्थामा लुकाएर राखिएको हुन्छ । र, यी क्यामेराले राखिएको स्थानबाटै प्रत्यक्ष निगरानी गर्न सक्छन् ।
कोषले निकट भविष्यमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रविधि जोडेर कुनै निश्चित गतिविधि डिटेक्ट हुनासाथ अलार्म वा सूचना दिने प्रणाली विकास गर्ने समेत योजना बनाएको छ । यस प्रकारको प्रविधिले अन्नपूर्ण संरक्षण क्षेत्रमा वन्यजन्तु संरक्षण र अवैध गतिविधि नियन्त्रणमा महत्वपूर्ण टेवा पुग्ने अपेक्षा गरिएको छ ।