काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले एप्पललाई अमेरिकामै आईफोन उत्पादन गर्न दबाब दिएका छन् । शुक्रबार आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा एक पोस्ट गर्दै राष्ट्रपति ट्रम्पले हाल अमेरिकामा बिक्री हुनुअघि सबै आईफोन भारत वा अन्य देशमा नभई अमेरिकामै बन्नुपर्ने अडान राखेका छन् ।
“मैले धेरै अगाडि एप्पलका टिम कुकलाई अमेरिकामा बिक्री हुने आईफोन भारत वा अन्य देशमा नभई अमेरिकामै बनेको हुनुपर्छ भनेर सुचित गरेको थिएँ,” ट्रम्प्ले लेखेका छन्, “यदि त्यसो भएन भने उनीहरूले अमेरिकामा बेचिने आईफोनमा कम्तिमा पनि २५ प्रतिशत कर तिर्नुपर्ने हुन्छ ।”
गत हप्ता मध्यपूर्व भ्रमणका क्रममा ट्रम्पको भेट एप्पलका सीईओ टिम कुकसँग भएको थियो । त्यस क्रममा उनले अमेरिकामा बिक्री गरिने आईफोन भारतको प्रडक्सन प्लान्टमा उत्पादन गर्ने एप्पलको योजनाप्रति आफू असन्तुष्ट रहेको बताएका थिए ।
ट्रम्पको चेतावनीपछि शुक्रबार एप्पलको शेयर तीन प्रतिशतले घटेको छ । गत महिना ट्रम्पले चेतावनी दिएपछि एकैदिन कम्पनीको शेयर ३०० अर्ब डलरले घटेको फाइनान्सियल टाइम्सले उल्लेख गरेको छ ।
विगत केही वर्षदेखि एप्पलले आफ्नो उत्पादन क्षमतालाई विस्तार गरिरहेको छ । कम्पनीले केही आईफोनको उत्पादन पहिल्यै भारतमा सारिसकिएको थियो । यसै महिनाको सुरुमा लगानीकर्तासँगको छलफलका क्रममा कुकले ‘अमेरिकामा बिक्री हुने अधिकांश आईफोनको उत्पादन भारतमा हुने’ अपेक्षा भएको बताएका थिए ।
फाइनान्सियल टाइम्सका अनुसार अमेरिकामा हरेक वर्ष छ करोड बढी आईफोन बिक्री हुँदै आएका छन् ।